प्रवास


डेनमार्कको कोपनहेगनमा दसौँ युरोपेली कार्यक्रम, नलिना र कन्हैया सिंहले पनि प्रस्तुति दिने

डेनमार्कको कोपनहेगनमा दसौँ युरोपेली कार्यक्रम, नलिना र कन्हैया सिंहले पनि प्रस्तुति दिने

गायिका-गायकद्वय नलिना चित्रकार र कन्हैया सिंह परियार


शेरबहादुर परियार
जेठ १, २०८२ बिहिबार १४:३३, वारसा, पोल्यान्ड

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को युरोपस्तरीय कार्यक्रम १६ मे (भोलि) देखि डेनमार्कको राजधानी कोपनहेगनमा सुरु हुने भएको छ।

१६ र १७ तारिख गरी दुई दिन हुने दसौँ युरोपस्तरीय एकल नृत्य र सातौँ एकल गायन प्रतियोगितालगायतका कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको ग्लोबल प्रवक्तासमेत रहेका इनास युरोप संयोजक प्रकाश तिवारीले जानकारी दिए।

तिवारीका अनुसार पहिलो दिन इनासका संस्थापक पुष्प बरुवालको उपस्थितिमा युरोपअन्तर्गतका राष्ट्रिय समितिहरूको संयुक्त बैठक, प्रगति प्रतिवेदन प्रस्तुत तथा भावी कार्ययोजनालगायतका सांगठनिक विषयमा छलफल हुनेछ।

कार्यक्रमको मुख्य दिन १७ मेमा भने डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरको प्रमुख आतिथ्यमा नृत्य तथा गायन प्रतियोगितासँगै विविध सांस्कृतिक प्रस्तुति हुनेछन्।

कार्यक्रममा गायनतर्फका निर्णायक इनास अमेरिकाका पूर्व अध्यक्षसमेत रहेका गायक कन्हैया सिंह परियार र गायिका नलिना चित्रकारको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथमा पञ्चेबाजा, झाँकी, लाखे नाच, लोक नृत्य रहने संयोजक तिवारीले बताए।

आयोजकका अनुसार युरोपका विभिन्न मुलुकबाट छनोट भई आएका ९/९ जनाले गायन तथा नृत्यमा प्रतिस्पर्धा गर्नेछन्।

जसमा गायनतर्फ अञ्जली बराइली (फ्रान्स), आशिष श्रेष्ठ (डेनमार्क), स्वरूपा केसी (डेनमार्क), प्रज्वल न्यौपाने (जर्मनी), हरि श्रेष्ठ (बेल्जियम), प्रताप मोक्तान (चेक रिपब्लिक), दिपक थापा (बेलायत), रन्जीव नेपाली (पोल्यान्ड), आर्या गिरी (नेदरल्यान्ड) ले प्रतिस्पर्धा गर्ने छन्।

यसैगरी, रोशिना अधिकारी (फ्रान्स), त्रिस्ता कार्की ढोली (जर्मनी), आरोही शर्मा (बेल्जियम), झरना सुनार (डेनमार्क), सुरुची पराजुली (डेनमार्क), इशा गोले तामाङ (चेक रिपब्लिक), रोशन सुरेश सिंह (बेलायत), मानभी मगर (पोल्यान्ड), अनुष्का टन्डन (नेदरल्याण्ड) ले नृत्यतर्फ प्रतियोगीको रूपमा भाग लिने छन्।

आयोजकका अनुसार, दुवै विधातर्फका विजयी इनास युरोपको एक वर्षका लागि गुडविल एम्बास्डर रहने छन्। साथमा, आठ सय युरो नगद, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रथम रनरअप र द्वितीय रनरअपले पनि नगद, ट्रफी र प्रमाणपत्र पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad