प्रवास


अमेरिकामा नेपाली भाषा पढाउने प्रदीपको ‘ककाकि’

नेपालबाटै पढाउन ९ शिक्षक, अमेरिकादेखि युरोपसम्मका विद्यार्थी
अमेरिकामा नेपाली भाषा पढाउने प्रदीपको ‘ककाकि’

प्रदीप खनाल जो अमेरिकामा नेपाली भाषा सिकाउन खटिएका छन्


सागर न्यौपाने
बैशाख १६, २०८२ मंगलबार ८:४५, काठमाडौँ

काठमाडौँको सीतापाइलाका प्रदीप खनाल अमेरिका बस्न थालेको २५ वर्ष भयो।

त्यसको १४ वर्ष लामो समय उनको इन्टेल, एएमडी, सिमाटेक र सीएएमडीजस्ता हाइटेक कम्पनीहरुमा प्रडक्ट अनुसन्धान, डिजाइन र विकासमा बित्यो।

उत्तरी क्यालिफोर्नियाको सिलिकन भ्यालीमा बस्ने उनी हाल प्रतिष्ठित प्रविधि कम्पनी इन्टेलमा काम गर्छन्।

तर पछिल्लो समय उनलाई एउटा चिन्ताले सताइरहेको थियो। जुन उनको व्यक्तिगत जीवन र भविष्यभन्दा परको थियो।

‘सपनाको देश’ अमेरिकामा नेपाली समुदायको उपस्थिति बाक्लिँदा खुसी मानेका उनलाई नयाँ पुस्तामा नेपाली भाषाको बोलीचाली पातलिँदै गएको चित्त बुझेको थिएन।

यहाँ बस्ने नेपालीका सन्तान पनि अंग्रेजी भाषामा बढी घुल्नु स्वाभाविकै थियो। तर, प्रदीपलाई यो कुरा राम्रो लागिरहेको थिएन।

आफ्नै सन्तान अंग्रेजी मात्र बोल्ने भएपछि यति टाढा बसेर नेपाली पहिचान कसरी जोगाउने?

यसको उपाय खोज्दै थिए प्रदीप। यस्तैमा एउटा मेगा प्रोजेक्टको अवधारणा निस्किएको उनी सुनाउँछन्।

उनको योजना बन्यो, ‘नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा पढाउने, देवनागरी लिपि चिनाउने, नेपाली भाषामै बोल्न सक्षम बनाउने अर्थात्, नेपाल चिनाउने।’

कोभिड सुरु हुनु केही समयअघि बनाएको त्यो अवधारणा अहिले यथार्थ मात्र बनेको छैन, निकै अघि बढिसकेको छ।

खनालकै अगुवाइमा नेपाली भाषा पढाउने एकेडेमी सञ्चालनमा छ। जहाँ नेपाली मात्र पढाइ हुन्छ– क..ख..ग.., अ..आ..इ..., क..का..कि..।

त्यसको नामै ‘ककाकि’ राखेको खनाल सुनाउँछन्।

उनका अनुसार ६ वर्षअघि सुरू गरेको यो प्रोजेक्ट यतिबेला अमेरिका, क्यानडा र युरोपसम्म फैलिसकेको छ।

सुरुमा ‘ककाकि’मा अमेरिका बस्ने नेपालीका सन्तानले मात्र पढ्ने गरे पनि अहिले सबैले पढ्न थालेको उनी बताउँछन्। ‘ककाकि’ प्रदीपको ‘ड्रिम प्रोजेक्ट’ हो। यसको नाम जुराउने र फुराउने उनै हुन्।

सुशील सुवेदी र वत्सल देवकोटाले उनको ‘मेगा प्रोजेक्ट’लाई साथ दिएका छन्।

बायाँबाट क्रमश: प्रदीप खनाल, सुशील सुवेदी र वत्सल देवकोटा

‘ककाकिमा हालसम्म ५ सयले नेपाली पढिसके’, उनले नेपालखबरसँग भने, ‘पढेकाहरू नेपालीमा संवाद गर्न सक्षम भएका छन्। खुसी लाग्छ।’

अमेरिकामा चर्चित यो परियोजना विस्तारका लागि विभिन्न देशबाट माग आएको उनले बताए।

यसरी जन्मियो ‘ककाकि’
सृजनशील स्वभावका खनाल अमेरिकामा लगनशील नभई पैसा कमाउन नसक्ने निक्र्याेलमा पुगेका थिए।

त्यसपछि तनमनले कर्ममा एकचित्त भए। परिणाम पनि राम्रै निस्कियो। जे सोचेर काममा दत्तचित्त भएका थिए, त्यो पूरा हुँदै गयो। उनले पैसा कमाए।  

नेपालमा उच्च शिक्षा पूरा गरेपछि प्रदीपले अमेरिकाको बाटो तय गरेका थिए। सीतापाइलामा रहेका बुबाआमासँग उनको दैनिक कुरा हुन्थ्यो।

बुबाआमालाई नातिनातिनासँग बोल्ने रहर हुन्थ्यो। तर समस्या भाषाकै थियो। उनीहरू नेपाली बोल्न नजान्ने, बुबाआमालाई अंग्रेजी नआउने।

कति प्रयत्न गरे। बच्चालाई नेपाली सिकाउनै सकेनन्।

‘६ वर्षअघि आमाबुबासँग कुराकानी गर्दै थिएँ, छोरा र छोरीसँग पनि कुरा गर्ने भन्नुभयो’, उनले सुनाए, ‘तर, दुवैले नेपाली बोल्न सकेनन्।’

उनलाई साह्रै नमज्जा लाग्यो। आफ्नो भाषा त सिकाउनैपर्ने रहेछ भन्नेमा पुगे। तर, भन्नेबित्तिकै नेपाली सिकाउन सम्भव थिएन। विभिन्न जानकार व्यक्ति, आफन्तसँग सोधखोज गरे।

केही दिन यसकै लागि घोत्लिएपछि यही कुरा वत्सल देवकोटा र सुशील सुवेदीलाई सुनाए।

अनि, आफैँले उपाय जुराए– अनलाइनबाटै भए पनि पढाउने।

तर, पढाउन नियमित शिक्षक चाहिन्थ्यो। ठूलो बजेट नभएकोले तत्काल कसैलाई नियुक्त गरिहाल्ने आँट गर्न सकेनन्।

नेपालमा रहेका आफन्तमार्फत पढाउने शिक्षकको खोजी गरे। सो क्रममा शिक्षक शोभा बास्कोटासँग सम्पर्क भयो। उनी पनि पढाउन तयार भइन्।

३ जना विद्यार्थीहरू बेलालय खनाल, अदिती देवकोटा र सुदिती सुवेदीलाई बाँस्कोटाले पढाउन थालिन्।

‘सुरुमा बच्चाहरूलाई आइतबार एकै ठाउँमा जम्मा गराएर १–२ घण्टा नेपाली अभ्यास गराउन थाल्यौँ, प्रभावकारिता देखिएपछि कक्षामै पढाउनुपर्ने निष्कर्षमा पुगेका थियौँ, लगत्तै कोभिड महामारी सुरु भयो’, खनालले भने, ‘अमेरिकाभर लकडाउन भयो। अनि भेटघाट गर्न बन्द भयो।’

त्यसपछि अनलाइनमा सुरु भएको पढाइ प्रभावकारी देखिन थालेको उनी बताउँछन्।

‘कोभिडअगाडि थालिएको यो पढाइको प्रभाव त्यसपछि देखियो। कहीँ निस्कन मिल्दैनथ्यो, कोहीसँग भेटघाट पनि हुने कुरै भएन। घरमै बसेर अनलाइन कक्षा लिएपछि बच्चाहरूले रमाइलो मानेर सिके’, उनले भने।  

अमेरिका बस्ने नेपाली समुदायले पनि ककाकिको अवधारणा मन पराउन थाले।

प्रदीपको आफ्नै नेटवर्कमा सोधखोज भयो। हिसाब गर्दा सयभन्दा बढीले नेपाली सिकाउन तयार देखिए।

‘अनि ककाकि नाम रजिस्टर्ड गरेर औपचारिक रूपमा संस्थागत बनाएर पढाउन थाल्यौँ’, संस्थापक रहेका खनालले भने, ‘अहिलेसम्म ५ सयभन्दा बढी विद्यार्थी ग्राजुएट भइसके।’

यतिबेला एकेडेमीमा झन्डै तीन सय विद्यार्थी पढिरहेको उनको भनाइ छ।  

कसरी हुन्छ पढाइ?
ककाकिले आफ्नै पाठ्यक्रम बनाएको छ। पढाउने तरिका पनि फरक छ। विद्यार्थीको रुचि र तहअनुसार पढाइ हुने गरेको छ। सोहीअनुसारको ‘कोर्स डिजाइन’ गरिएको खनाल बताउँछन्।

अनलाइन पढ्ने भएकोले विद्यार्थीले खासै अप्ठ्यारो महसुस नगरेको उनको अनुभव छ।  

‘चित्र देखाएर, गाउँ खाने कथा भनेर, फोटो, संगीत र भिडिओ देखाएर रमाइलो तरिकाले पढाइन्छ’, उनी सुनाउँछन्, ‘सोहीअनुसार नेपालबाटै शिक्षकसँग सहकार्य गरेर आफ्नै शैलीको पाठ्यक्रम तयार पारिएको छ।’

यहाँ पढ्ने विद्यार्थीले परीक्षा दिनुपर्दैन। कक्षाको अवधारणा पनि छैन।

‘२/३ महिनाको अवधिमा बोल्ने, लेख्ने, पढ्ने, कुरा गर्ने र बुझ्ने हेरेर प्रोग्रेस रिपोर्ट तयार पारेर अभिभावकलाई दिन्छौँ’, उनी भन्छन्, ‘त्यहीअनुसार केमा सुधार गर्ने हो, त्यसमै केन्द्रित भएर नयाँ ढंगले कोर्स अघि बढाउँछौँ।’

उनका अनुसार समूह विभाजन पनि सोहीअनुसार हुन्छ।

अहिले तयार पारिएको कोर्सअनुसार शून्यदेखि ६ तहसम्मको लेभल छ– केही नजान्नेदेखि राम्रो जान्नेसम्म। प्रगति प्रतिवेदन (प्रोग्रेस रिपोर्ट)का आधारमा तह बढ्दै जान्छ।  

‘लेभल हेरेर मात्र ग्रुप विभाजन गर्ने हो। फरक तहको एकै ठाउँमा राख्दा पढाइ प्रभावकारी नहुन सक्छ। सकभर समान लेभल, समान उमेर हेर्ने हो। ताकि साथी बनून् र रमाइलो गरी सिकून्’, उनले भने।  

खर्च कति लाग्छ?
अमेरिकामा जन्मिएका, त्यहीँको नागरिकलाई नेपाली पढाउन  ९ जना शिक्षक नेपालबाटै खटिएका छन्। एकेडेमीमा कुल १२ जना कर्मचारी आबद्ध छन्।

अमेरिकामा बस्ने नेपालीसँग महिनाको ४० डलर लिने गरेको उनले बताए।

खनालका अनुसार कक्षा प्रायः हप्तामा एउटा अनिवार्य हुने गरेको छ। कतिपय विद्यार्थीले एक्लै पढ्ने भएमा एकेडेमीले ११० डलर लिने गरेको छ।

‘नेपालको बिहानी र बेलुकीको समयमा विद्यार्थीको समय मिलाएर ३ देखि ४ जनाको एउटा ग्रुप बनाउँछौ र पढाउँछौँ’, खनालले भने।

नेपालबाट खटिने शिक्षक

अमेरिकादेखि क्यानडा र युरोपसम्म पढाइ
अमेरिका बस्ने नेपालीलाई लक्षित गरेर सुरु गरिएको यो पढाइ अहिले क्यानडा र युरोपका केही सहरसम्म फैलिसकेको छ।

‘साना बच्चाका लागि भनेर थालिएको थियो, अहिले त नेपाली नबोल्ने वयस्क युवायुवती पनि पढ्छन्, नेपालीमूलका मात्र होइन, अमेरिकन, युरोपियन र क्यानेडियन पनि पढ्छन्’, उनले खुलाए, ‘अमेरिकन, युरोपियन र नेपाल भ्रमणमा जान लागेका मानिसहरू, नेपालीसँग बिहे गरेका केहीले पढ्न थालेका छन्।’

योसँगै नेपाली भाषाको क्रेज बढ्दै गएको आफूले पाएको प्रदीपको भनाइ छ।

उनका अनुसार संसारभरबाट यो पढाइबारे चासो राखेर सम्पर्क गर्नेहरू पनि छन्।

अनलाइन कक्षा

विदेशमा नेपाली पहिचान चिनाउँदै
प्रदीपका सबै परिवार नेपालमै छन्। वर्षमा एक पटक नेपाल आइरहन मन पराउने उनी आफ्ना सन्तानलाई भविष्यमा पनि नेपाली भनेरै चिनाउन चाहन्छन्।

त्यसका लागि नेपाली भाषा अनिवार्य जान्नुपर्ने रहेछ भन्ने उनलाई महसुस भएरै ककाकि स्थापना गरेका हुन्। नेपाली भाषाको यो एकेडेमीले नेपाली बोल्न, पढ्न र कुरा गर्न सक्ने बनाउँछ।

नेपालमा रहेका आफन्तसँग सञ्चार गराउन भनेर थालेको योजना अहिले विश्वका केही मुलुकमा विस्तार भइसकेको छ। यसप्रति चासो राख्नेको संख्या बढ्दै गएको छ।

‘गाँस, बास र कपासपछि खोज्ने भनेको पहिचान रहेछ। हाम्रो विगत, आफ्नो जन्मथलो नेपालमै हो’, उनको तर्क छ, ‘बच्चाहरूलाई भोलि नेपाल र नेपाली सिकाउन जरुरी छ। हामी नेपालबाट आइयो, मेरो पहिचान त नेपाली हो नि!’

त्यसका लागि पनि नेपाली बोल्न जान्नुपर्ने उनको बुझाइ छ।

नेपाली नजान्दा परिवारसँग जोडिनै गाह्रो हुने भएकाले नेपालसँग सधैँ जोडिन पनि यो भाषा सिकाइ आवश्यक देखेको उनी सुनाउँछन्।

जति धेरै भाषा जान्न सक्यो त्यति धेरै क्षमता बढ्छ भन्ने अमेरिकीहरूले कम्तीमा दुईवटा भाषा सिक्न सुझाव दिने गरेको उनको भनाइ छ। भाषाले वैचारिक क्षमता बढाउँछ भन्ने उनीहरूको मान्यता रहेको प्रदीप बताउँछन्।

नेपाली भाषा सिकाउन प्रदीप र उनको तीन जनाको समूहले खेलेको भूमिकालाई त्यहाँ बसोबास गर्ने नेपाली समुदाय मात्र नभई त्यहीँका रैथाने नागरिकले समेत राम्रो कदम भनेका छन्।

उनीहरूले अर्काे तह विस्तार गर्न सुझाव दिएकाले थप हौसला मिलेको प्रदीप बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad