प्रवास


पशुलाई सम्मान नै दिगो पर्यापर्यटन र अर्थतन्त्रको आधार

पशुलाई सम्मान नै दिगो पर्यापर्यटन र अर्थतन्त्रको आधार

सुरेश भट्ट आश्रिन
चैत ३१, २०८१ आइतबार १२:४, कतार

‘अहिंसा परमो धर्म’ भनिन्छ। तर हाम्रो समाज पशुवधबाट अछुतो छैन।  पशुपन्छी हिंसाबारे हिन्दू धर्मशास्त्रमा लामो व्याख्या छ। तर, दैनिकजसो पशुपन्छीप्रति मानिसले गर्ने व्यवहार निन्दनीय र दु:खदायी छ।

मानिसमा विश्व शक्तिलाई बुझ्न सक्ने गुण आर्जन गरी पासविक गुणहरू हटाउँदै जाने विश्वास रहेता पनि मानिस मानिस हुन् नसकिरहेको चरितार्थ मानिसले  आफैँले गरिरहेका छन्।

मानव जाति हिंसालाई नभएर शान्ति र प्रेमलाई महत्त्व दिने प्राणीमा गनिन सक्नुपर्छ। तर मानिसमा आउने गलत विचार र पासविक दुर्गुणलाई समाप्त गरी असल भावनाको विकास गर्न धार्मिक तथा पर्यावरणीय शिक्षाको खाँचो आजको टड्कारो आवश्यकता हो।

इस्लाम धर्म शास्त्रहरूले अल्लाहलाई खुसी पार्न बलि नै चढाउनुपर्ने कुनै बाध्यता नरहेको देखाउँछन्। त्यसरी नै हिन्दू धर्मशास्त्रको १८ पुराणमा पनि भगवान्लाई खुसी पार्न बलि देऊ भन्ने कुरा कतै उल्लेख भएको पाइँदैन।

तर पनि मानिसहरूले यो र त्यो  धर्म, देवी-देउताको नाममा पशुबलि दिइरहेका छन्। यो धार्मिक अज्ञानता भन्दा केही होइन।

हामी मानिस र संसारका अन्य प्राणी एकै पृथ्वीका बासिन्दा हौँ। हामी प्रकृतिभन्दा भिन्न होइनौँ, उसकै अंश हौँ। हाम्रो जे संसार हो अन्य प्राणीको पनि उही संसार हो।

मानिस पनि जीवजन्तुसँगै हुर्केको हो। कुकुर, बाँदर, बिराला, गाई, भैंसी र बाख्रा हाम्रा वरिपरि हुने प्राणी हुन्। हात्ती, घोडा जस्ता हामीले नजिकबाट देख्ने प्राणी पनि समाजिक प्राणी नै हुन्।

मुलुकी ऐन अपराध संहिताको दफा २९० मा पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने र त्यसो गरे तीन महिनासम्म कैद या पाँच हजार रुपैयाँ जरिवाना वा कैद र जरिवना दुवै हुने व्यवस्था छ। तर न मापदण्ड पालना हुन्छ न कारबाही भएको सुनिन्छ।

बारा, पर्सा, लुम्बिनी र कैलालीदेखि चितवन हुँदै दैनिक ३० गाडीसम्म राँगाभैँसी काठमाडौँ लैजाने गरेको एनिमल फिल्ड सुपरभाइजर दीपा केसीले एक कार्यक्रममा भनेकी थिइन्।

यसरी दैनिक काठमाडौँ भित्रिने राँगाभैँसी, खसीबोका मानिसले स्वाद मानेर खाने मासुको स्रोत हुन्। तर, यी पशुप्राणीको हालत देख्यो भने तपाईँ-हाम्रो आङ सिरिङ्ग हुन्छ, मन रुन्छ।

किनभने यी अवोध प्राणीलाई अत्यन्तै निर्मम ढंगले गाडीमा कोचेर यात्रा गराएको देखिन्छ। क्रूरता पनि यस्तो कि, मानौँ यिनीहरू जघन्य अपराधी हुन्।

पशु ढुवानी मापदण्ड २०६४ परिच्छेद–४ मा लेखिएको छ– ‘फरक जात र आकार–प्रकारका पशुलाई एकै ठाउँ राखेर ढुवानी गर्न पाइने छैन। पशुलाई अस्वाभाविक रूपमा शरीर, नाक, पुच्छर, खुट्टामा बाँध्न हुँदैन।’

यसका साथै कति अवधिमा उनीहरूलाई घाँस–पानी खुवाउनुपर्ने, आराम गराउनुपर्ने, कस्तो गाडीमा कसरी राख्नुपर्ने जस्ता स्पष्ट प्रावधान भए पनि नियामक निकाय सक्रिय नहुँदा निर्दोष पशुहरूको ट्रकभित्रै मृत्यु हुने गरेको घटना पनि सुनिँदै आएका छन्।

केही समय अघि झापामा जिउँदै गोरुको फिलाको मासु काटिएको समाचार पढ्दा लाग्यो मानिसले पशुप्रति यति क्रूर र अमानवीय व्यवहार कसरी गर्न सक्छ? मानिस पशुभन्दा निकृष्ट प्राणी त पक्कै होइन। फेरि मानिसमा यस्तो राक्षसी प्रवृत्ति देखिनु दु:खदायी छ।

यस्ता घटनाबाट हामीले पाठ सिक्नु पर्छ। हामीले घरमा पाल्ने रैथाने घरपालुवा पशुपन्छीको संरक्षण गर्न हालसम्म कानुन बनेको पाइएको छैन। त्यसतर्फ ध्यान दिनु पर्छ।
 
हाम्रा रैथाने जातका पशुपन्छीले हाम्रो सामाजिक र आर्थिक जीवनमा युगौँदेखि पुऱ्याउँदै आएको योगदानलाई अन्यथा भन्न सकिने अवस्था छैन।

अर्कोतर्फ, मानिसको सामाजिक र आर्थिक जीवनमा योगदान पुऱ्याउने यस्ता पशुपन्छीको अस्तित्व लोपोन्मुख अवस्थामा पुग्नु पक्कै पनि राम्रो होइन। यस्ता पशुपन्छीको अस्तित्व लोप नहोस् भन्नका लागि  स्टक होम घोषणापत्र, १९७२ ले वर्तमान तथा भावी पुस्ताका लागि पर्यावरण संरक्षण गर्नु र सावधानीपूर्वक व्यवस्थापन गर्नु मानिसको कर्तव्यभित्र पारेको देखिन्छ।

कन्भेन्सन कन्सर्निङ द प्रोटेक्सन अफ द वर्ल्ड कल्चरल एन्ड नेचुरल हेरिटेज, १९७२ ले अन्तरवंशीय समन्यायको सिद्धान्तलाई अंगीकार गर्दै भावी पुस्ताका लागि पनि प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने दायित्व राज्यको हुने व्यवस्था गरेको छ।

यूएनईपी बायोडाइभर्सिटी कन्भेन्सन, १९७२ को मार्गदर्शनलाई हेर्ने हो भने जैविक विविधताप्रतिको सचेतता स्वीकार गर्दै यसको पर्यावरणीय, जैविक, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक र मनोरञ्जनात्मक मूल्य आत्मासात गरी विनाभेदभाव प्रत्येक जीवात्माको सम्मान र प्रतिष्ठाको संरक्षण हुनु पर्ने हो।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको लिखित जवाफलाई हेर्ने हो भने नेपाल सरकार प्राकृतिक र सांस्कृतिक विविधता संरक्षण गर्न प्रतिबद्ध रही जनावरको संरक्षणको निमित्त कानुन निर्माण गर्न र संस्थागत संरचना निर्माणको पहलतर्फ लागेको देखिँदैन।

लोप हुँदै संरक्षित पशुपन्छी
नेपाल  जैविक विविधतामा  विश्वकै २५औँ धनी देश हो। नेपालमा लुलु, अछामी, सिरी, खैला, याक, पहाडी, तराई गाई, लिमे, पारकोटे, गड्डी भैँसी, च्याङ्ग्रा, सिन्हाल, खरी, तराई बाख्रा, भ्याङलुङ, बरुवाल, कागे, लामपुच्छ्रे भेडा, साकिनी, घाटी खुइले, प्वाँख उल्टे कुखुरा, हुरी, च्वाचे, वामपुड्के सुगुर र जुम्ली घोडा जस्ता २५ प्रजातिभन्दा बढी पशुपन्छी छन्।

यी प्रजातिमध्ये केही लोप भइसकेका छन् भने केही लोप हुने क्रममा छन्। अन्य प्रजातिले पनि यथोचित संरक्षण नपाएमा लोप हुने पक्का छ।

केही समययता जङ्गलमै खाने, बस्ने र जंगली जनावर तथा चराचुरुङ्गीसित रमाउने पर्यटकको मुख्य गन्तव्य नेपाल बन्दै गएको छ। पछिल्लो समय नेपाल आउने पर्यटकमध्ये अधिकांश ‘जंगली जीवन’ बिताउन रमाउने गरेको देख्न सकिन्छ। यसबाट  जनावर र पशुपन्छीमा हुने जोखिम न्यूनीकरणका लागि सरकार र सरोकारवाला संघसंस्थाले पहल नगर्ने हो भने धेरै प्रजातिका जीव-जनवार लोप हुने जोखिम छ।

चुरे पहाड दोहनका कारण उक्त  क्षेत्रमा पाइने वामपुड्के सुँगुर लगभग लोप हुने अवस्थामा पुगेको छ। हिमाली क्षेत्रमा पाइने झारल, घोरल चोरी, सिकारी र उचित संरक्षणको अभावमा आजभोलि बिरलै देख्न पाइन्छ।

रैथाने गाई र भैँसीहरू उन्नत जातका पशुपन्छीबाट ओझेलमा पर्दै गएका छन्। हिन्दू संस्कारमा जन्मदेखि मृत्युसम्म चाहिने रैथाने गाईको संरक्षणमा ध्यान नपुगेको देखिन्छ।

उत्पादनका हिसाबले मानिसले उन्नत जातका तुलनामा रैथाने जनावरलाई कम महत्व दिए पनि यसको सामाजिक-सांस्कृतिक महत्त्व सानो छैन।

हाम्रो पर्यावरण, वनजङ्गल, पशुपन्छी, खोलानाला केवल घाँस, दाउरा, हड्डी मासु र छालाको व्यापार मात्रै होइनन्, उनीहरूको संरक्षण र उचित हेरचाहले मात्रै दिगो पर्या-पर्यटन र अर्थतन्त्रको आधार निर्माण हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad