गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष डा. शेष घलेले संघको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन्।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारद्वारा बिहीबार साँझ कतारको दोहास्थित प्लाजा इन होटलमा आयोजित अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै संयोजक घलेले तीन महिनाअगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा हुने बताएका हुन्।
घलेले भने, ‘तोकिएको मितिमा महाधिवेशन हुन्छ। मिति परिवर्तन गर्नु भनेको ‘रुल अफ ल’को वर्खिलाफमा जानु हो, हामी त्यसो गर्न सक्दैनौँ।’
उनले वर्तमान एनआरएनएलाई रि-ब्रान्डिङसहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न सबै अभियन्तालाई आह्वान गरे।
सयौँ एनआरएन अभियन्ताहरूको उपस्थितसहित भएको छलफलले आफूलाई झनै ऊर्जावान बनाएको घलेले कार्यक्रममा बताएका थिए।
साथै, आफू गएका देशमध्ये कतार नेतृत्व विकास गर्न सक्ने खालको आफूले पाएको उनले बताए।
मे महिनामा काठमाडौँमा हुने एकता महाधिवेशनलाई सफल बनाउनु सबैको जिम्मेवारी रहेको घलेले बताएका थिए।

कार्यक्रममा बोल्दै एनआरएनएका पूर्वअध्यक्ष, उच्चस्तरीय समितिका सदस्य तथा एनसीसी समन्वय संयोजक विनोद कुँवरले सहमतिको पालना नगर्दा संस्थाको यो हविगत भएको बताएका थिए।
उनले सर्वोच्च अदालतको परमादेश पालना गर्नुको विकल्प नरहेको बताए।
सर्वोच्चको फैसलालाई टेकेर तयार गरिएको कार्यविधिअनुरूप एकताको महाधिवेशन तयारी भइरहेकोले यो जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्नेमा कुँवरको जोड थियो।
संघलाई एकताबद्ध बनाउने जिम्मेवारी सबै अभियन्ताको काँधमा रहेको समेत उनले बताएका थिए।
यसैगरी अभियन्ता राजेन्द्रकुमार (आरके) शर्माले संघको विरासत जोगाउने यो अन्तिम अवसर नगुमाउन सबै समक्ष आग्रह गरे।
अर्का अभियन्ता राज रेग्मी ‘राजु’ले आन्तरिक असमझदारीलाई मिलाएर सिङ्गो एनआरएनए बनाउन शेष घलेलाई अनुरोध गरेका थिए।
सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ मा काठमाडौँमा एनआरएनएको एकता महाधिवेशनको मिति तय गरिसकेको छ।
उक्त अधिवेशनमा सहभागिताका लागि सदस्यता लिने मिति ३१ मार्चसम्म तोकिएको छ।
कतारका दुई एनसीसीको संयुक्त आयोजनामा दोहामा कार्यक्रम भएको हो। कार्यक्रमको सभापतित्व रमेश भट्टले गरेका थिए भने अध्यक्षता सुनिलकुमार घिमिरेको रहेको थियो।
Shares

प्रतिक्रिया