प्रवास


अस्ट्रेलियाको मेलबर्नमा नेपथ्य : जब अमृतको नाम आयो, भुइँ नै थर्कियो

अस्ट्रेलियाको मेलबर्नमा नेपथ्य : जब अमृतको नाम आयो, भुइँ नै थर्कियो

मेलबर्नको प्रस्तुतिका क्रममा गायक अमृत गुरुङ (तस्बिरहरू : दिपित राज)


नेपालखबर
चैत १२, २०८१ मंगलबार १३:५, मेलबर्न, अस्ट्रेलिया

अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ। त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ। यसको उदाहरण देखियो सोमबार साँझ मेलबर्नको फेस्टिवल हलमा।

कन्सर्ट सकिनै लाग्दा नेपथ्य ब्यान्डको परिचय गराउँदै गायक अमृतले ‘आजको ड्रमसेटमा ध्रुव’ भन्दै बारम्बार दोहोर्‍याए। उत्ति नै पटक दर्शकले पनि ‘ध्रुव’ भनेर चिच्याए। उनले थप्दै लगे– ‘मादलमा शान्ति’, ‘किबोर्डमा दिनेश’, ‘बेस गितारमा सुविन’, ‘गितारमा नीरज’।

यसरी नाम लिइँदा दर्शकदीर्घाबाट उत्तेजित भएर प्रशंसा आइरहेको थियो। अन्तिममा सानो स्वरमा ‘र, म अमृत’ भनेका मात्र के थिए, अघिसम्म चिच्याइरहेका दर्शक उफ्रिन सुरु गरे। भुइँ थर्किन थाल्यो।

काठ ठोकिएको जमिन केही बेरै हल्लिरहँदा छेउमै उभिएका पाकिस्तानीमूलका सुरक्षाकर्मी हास्मे अहमदको अनुहारमा चिन्ता छाएको देखिन्थ्यो।

घरी अर्काको काँधमाथि चढेर नाच्न खोज्नेलाई उतार्ने त घरी हलभित्र भेपको धुवाँ उडाउनेलाई रोक्ने काममा खटिँदा लखतरान देखिएका दुई ज्यान अग्ला हास्मे भुइँसमेत हल्लिन थाल्दा आत्तिएका थिए।

‘आफ्नै छिमेकी देशको कार्यक्रम यस्तो भव्य हुन्छ भन्ने सोचेको पनि थिइनँ,’ उनी भनिरहेका थिए, ‘मैले भाषा नबुझे पनि यस ब्यान्डलाई दर्शकले असाध्यै मन पराएको पाएँ।’

मेलबर्नमा नेपथ्यले यसअघि दुई हजार दर्शक क्षमताको हल ‘फोरम’ प्रयोग गरेको थियो। यसपालि भने त्योभन्दा बढी क्षमताको भव्य एवं ऐतिहासिक ‘फेस्टिवल हल’ चयन गरिएको थियो।

कन्सर्ट सुरु हुनुभन्दा झन्डै आधा घण्टाअगावै हल भरिभराउ भइसकेको थियो। घडीको सुईले बेलुकीको ठीक साढे ८ देखाउनासाथ पर्दामा ‘सा कर्णाली’ गीतको म्युजिक भिडिओ बज्न सुरु भयो।

विश्वमै तहल्का मच्चाइरहेको बेला ‘बिटल्स’ जस्तो ब्यान्डको कन्सर्ट अनि सन् १९५६ को ओलम्पिकमा कुस्ती प्रतियोगिता भएको यस हलमा दर्शकको भीडले सोमबार साँझ नृत्य गर्दा सुरुआतैदेखि भुइँ नराम्ररी थर्किन थालेको थियो।

म्युजिक भिडिओ लगत्तै मञ्चमा उपस्थित मुख्य गायक अमृतले ‘कोसीको पानी, यो जिन्दगानी’ बाट प्रस्तुति थालनी गरे। तेस्रो प्रस्तुति ‘छेक्यो छेक्यो’ पछि उनले दर्शकसँग संवाद सुरु गरे।

त्यस क्रममा उनले नेपाली जता गए पनि मिलेर बस्नुपर्ने, देश र आफन्तलाई भेट्ने क्रम टुटाउन नहुने अनि भावी पुस्तामा पनि भाषाको विस्तार गर्नुपर्नेजस्ता सन्देश प्रवाह गरे।

‘यो जिन्दगानी’ गीत सुनाएपछि आफूले जस्तो पढ्ने अवसर नपाएका नेपाली केटाकेटीलाई सक्दो सहयोग गरिदिन आह्वान पनि गरे।

कार्यक्रमले दर्शकको उत्तेजना बढाउने मात्र होइन, संवेदनालाई बलियो बनाउने उद्देश्यलाई पनि पछ्याइरह्यो।

कन्सर्टको अन्त्यतिर ‘मै नाचेँ छमछमी’, ‘रेशम’ र ‘तालको पानी’सम्म पुग्दा तिरिमिरी बत्तीका बीच सिङ्‌गै हल नाचिरहेको जस्तो देखिन्थ्यो।

नाच्नेहरूको त्यही भीडमा भेटिइन् केट ह्यान्सन। नेपाली युवकसँगै बिहे गरेकी उनले यसअघि पनि मेलबर्नमा ‘कन्दरा’ र ‘कबवेब’ ब्यान्डको कन्सर्ट हेरेको सुनाइन्।

‘नेपालमा मैले असाध्यै प्रतिभाशाली कलाकारहरू रहेको पाएँ,’ आफू पनि कुनै समय गायिका रहेको बताउने उनले थपिन्, ‘नेपथ्यले नेपालका गाउँघरको आवाज संकलन गरेर ल्याउँछ भन्ने जानकारी मेरा पतिबाट पाएपछि झनै बढी मन पर्न थालेको छ।’

केटले दुई वर्षअघि मेलबर्नमै आयोजित नेपथ्यको कन्सर्ट पनि हेरेकी रहिछन्। ‘आफ्नो संस्कृतिसँग जोडिएको संगीत असाध्यै स्वादिलो हुन्छ,’ उनले भनिन्, ‘मेरो विचारमा आफ्नो मौलिक पहिचान अघि बढाउन सामूहिक प्रयास प्रभावकारी हुन्छ।’

नेपथ्यलाई मेलबर्नमा भव्य रूपले प्रस्तुत गर्न पाउँदा खुसी लागेको आयोजक आशिफ कार्कीले उल्लेख गरे। ‘नेपाली कार्यक्रमका लागि मेलबर्नको कुनै हलभित्र तीन हजार दर्शक जम्मा भएको यो पहिलो पटक हो,’ उनले थपे, ‘दर्शक कार्यक्रममा अन्तिमसम्मै रमाएको देख्दा झनै खुसी बढेको छ।’

मेलबर्नपछि अब ब्यान्ड, व्यवस्थापक लगायतको १४ सदस्यीय टोली अस्ट्रेलियामा अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ।

पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको सहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ र ३० मा कन्सर्ट हुनेछ। सुरुमा मार्च २९ को साँझका लागि मात्र कन्सर्ट राखिएकामा तीन साताअघि नै टिकट ‘सोल्ड आउट’ भएपछि दर्शकको चाहनालाई सम्मान गर्दै भोलिपल्टका लागि शो थपिएको हो। पाँच हजार क्षमताको ‘होर्डन पभिलियन’ मा प्रस्तुति सकेलगत्तै ब्यान्ड स्वदेश फिर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad