गैरआवासीय नेपाली संघले कम्बोडियामा १०औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन गरेको छ।
यही मार्च १८ र १९ मा कम्बोडियाको राजधानी नोम पेन्हमा ‘संगम–एकता’ भन्ने नाराका साथ सम्मेलन गरिएको हो।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कम्बोडियाका परराष्ट्र राज्यमन्त्री डा युन केहाङ, नेपालका पूर्वकानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरि, पूर्वमन्त्री एकनाथ ढकाललगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू उपस्थित थिए।
साथै, सम्मेलनमा ३० देशका तीन सयभन्दा बढी प्रतिनिधिको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो।
सम्मेलनमा गैरआवासीय नेपालीसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल भएको गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ।
सम्मेलनका सहभागीले गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि यथाशक्य छिटो आवश्यक कानुनी प्रबन्ध मिलाउन नेपाल सरकारसमक्ष आग्रह गरेका थिए।
यस्तै, थाइल्यान्ड, म्यानमार, मलेसिया, फिजी, कम्बोडियालगायतका देशमा रहेका झन्डै ५ लाख नेपालीलाई नेपालीमूलका विदेशी नागरिक (पीएनओ) को परिचयपत्रको लागि पहल गरिदिन आग्रह गरिएको थियो।
सर्वोच्च अदालतले ७ वर्षअघि नै विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिलाउन निर्देशन दिएको भए पनि हालसम्म सो कार्यान्वयन नभएकोप्रति सहभागीले सरकारको ध्यानाकर्षण गराएका थिए।
सहभागीले नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाइनमार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने अवसर मिलाइदिन माग गरे।
साथै, राष्ट्रिय परिचयपत्रसमेत विदेशबाटै बनाउन सक्ने व्यवस्था मिलाइदिन लगायतका विभिन्न पक्षमा नेपाल सरकारको ध्यानाकर्षण गराइएको थियो।
Shares

प्रतिक्रिया