प्रवास


अस्ट्रेलियाको पर्थमा नेपथ्यले कमाएको धन्यवाद र ‘तालको पानी’बाट मोहित बनेकी लुइस

अस्ट्रेलियाको पर्थमा नेपथ्यले कमाएको धन्यवाद र ‘तालको पानी’बाट मोहित बनेकी लुइस

प्रस्तुतिका क्रममा अमृत गुरुङ


नेपालखबर
फागुन २६, २०८१ सोमबार १२:३३, पर्थ, अस्ट्रेलिया

स्थानीय मेट्रो सिटी हलमा श्रीमतीसँग नाच्दानाच्दै कन्सर्ट सकिएपछि सौगात पौडेल बेस्सरी चिच्याए, ‘अमृत दाइ धन्यवाद !’

ब्यान्डले सबैलाई झुकेर अन्तिम अभिवादन गरिरहेका बेला निस्केको सौगातको आवाजमा मर्म सुनिन्थ्यो।

‘मैले यस साँझका निम्ति मात्र धन्यवाद दिएको होइन,’ हलबाट निस्केपछि छेउमा उभिएकी श्रीमती ममतातिर संकेत गर्दै सौगातले भने, ‘हाम्रो जीवन बनाइदिएकामा आभार प्रकटसमेत गरेको थिएँ।’

चितवनका सौगात र भक्तपुरकी ममता पुडासैनी कुनै समय भारतको बेंगलुरुमा बेग्लाबेग्लै कलेज पढ्थे। त्यस्तैमा सौगातको कलेज ‘राजा रेड्डी इन्स्टिच्युट अफ टेक्नोलोजी’ ले नेपालबाट नेपथ्य ब्यान्डलाई निम्तो गर्ने निधो गर्‍यो।

सन् २०१४ को त्यो नेपथ्य कन्सर्टमा केही घण्टा परको कलेजबाट नर्सिङकी विद्यार्थी ममता साथीको हुलैसहित पुगेकी रहिछन्। उनीहरूबीच चिनजान भयो, कन्सर्टभरि साथै रमाए र नाचे।

‘निकै परको कलेजमा पढ्ने हामीबीच भेटघाट हुने सम्भावनै थिएन,’ ममता भन्छिन्, ‘नेपथ्यले जुराइदिएको त्यस संयोगले हामीलाई सदाका निम्ति एकअर्काको बनाइदियो।’

यतिबेला यी दम्पती भर्खर जन्मेकी छोरीसँग पर्थमा बसोबास गर्दै आएका छन्।

‘११ वर्षपछि आज नेपथ्यको कन्सर्टमा फेरि आइरहँदा मनमा अनेक कुरा खेले। हाँक्दै गरेको गाडीलाई दुईपटक त गलत मोडमै छिराएँ। ९ मिनेटको बाटो तय गर्न मलाई २३ मिनेट लाग्यो,’ सौगातले हाँस्दै भने, ‘कार्यक्रम हेरुन्जेल पनि ठाउँ–ठाउँमा हुरुक्कै भयौँ।’

हलमा सौगात र ममताजस्ता थुप्रै जोडी अनि अनेक उमेर समूहका खचाखच दर्शकमाझ नेपथ्य ब्यान्डले अस्ट्रेलिया शृङ्‌खला २०२५ को दोस्रो शो आइतबार बेलुकी भव्य रूपमा सम्पन्न गरेको छ।

घडीले स्थानीय समयअनुसार बेलुकी साढे ९ बजेको देखाउनेबित्तिकै पर्दामा म्युजिक भिडिओका गीतहरू घन्किन सुरु गरेका थिए। लगत्तै मञ्चमा चढेको नेपथ्यले पहिलो प्रस्तुतिका रूपमा ‘कोसीको पानी’ सुनायो।

नेपालसँग केवल सवा दुई घण्टाको समय अन्तर रहेको वेस्टर्न अस्ट्रेलिया राज्यको राजधानी पर्थमा ब्यान्ड तेस्रो पटक प्रस्तुत भइरहेको थियो।

कार्यक्रममा ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले गीत मात्र सुनाएनन्, दर्शकसँग संवादसमेत गरे।

‘उता नेपालमा सद्भावको पर्व फागु मनाउनै लाग्दा तपाईँहरूलाई हिमाल, पहाड र तराईको न्यानो शुभकामना बोकेर आएका छौँ,’ उनी भनिरहेका थिए, ‘यहाँ संसारभरिबाट आएका मानिसलाई हामी नेपालीको मिलनसार र असल छविको पहिचान विस्तार गरिदिनुस् ह...इ...।’

लगत्तैको गीत ‘चरि मर्‍यो’ सुनाउने बेला पनि अमृतले रमाइलो प्रसंग निकाले। यो गीत गाउँले लवज र भाकामा ‘ए साइँला...’ भन्दै सुरु हुन्छ। त्यो भाका तान्दातान्दै अमृतले सोधे, ‘तपाईँहरूमध्ये यहाँ कोही साइँला हुनुहुन्छ ?’

जवाफमा कसैले हात उठाएनन्।

‘पक्कै पनि कोही हुनुहुन्न,’ अमृतले थपे, ‘हिजोआज नेपाली समाजमा पनि ससानो परिवारको संरचनाले गर्दा साइँलाहरू जन्मनै छाडिसके र यो शब्दै लोप हुने क्रममा छ।’

प्रत्युत्तरमा दर्शकदीर्घाभरि हाँसो र ताली फैलियो।

त्यसपछि ‘जोमसोमे बजार’ र ‘शिरफूल’ जस्ता गीतले निरन्तरता पाउँदै गए। पालो आयो लाहुरेहरूले कुनै समय भित्र्याएको गीत ‘नैनाताल’को।

‘नेपाली जता गए पनि आफ्नो अनुभवलाई गीतमा ढालेर फर्कने परम्परा पुरानै हो,’ अमृतले भने, ‘बाउबाजेले लडाइँको मैदानमा पनि यस्ता गीत बनाइदिए र हामीले आज गाउन पाइरहेका छौँ।’

पर्थमै चिकित्सा अभ्यास गरिरहेका डा. अन्जन शर्मा पनि कन्सर्टमा उपस्थित थिए। उनै अन्जनले कुनै समय दमकस्थित अस्पतालमा कार्यरत रहँदा गायक अमृतको घाँटीको उपचार गरेका थिए। करिब डेढ दशकअघि नेपथ्यको देशभर यात्रा चलिरहँदा दमक पुगेपछि पहिलोपटक अमृतको घाँटीमा समस्या देखिएको थियो।

‘घाँटीमा त्यस किसिमको रोग देखिएपछि अमृत दाइले अब धेरै समय यस्तो कन्सर्ट गर्न सक्नुहोला जस्तो लागेको थिएन,’ आइतबारको प्रस्तुति सपरिवार नियालिरहेका अन्जन भनिरहेका थिए, ‘तर अनुशासित खानपान र जीवनशैलीले होला, यो बायोलोजिकल एक्सेप्सनका रूपमा उहाँको घाँटी ठीकठाक अवस्थामै देख्दैछु।’

‘गाउँ-गाउँबाट उठ’ गीत सुरु भएपछि माहोल झन् गर्मायो।

हलभित्र उफ्रिरहेका दर्शकबीचमा एक्लै उभिएर लुइस जोर्गेन्सन टाउको हल्लाइरहेकी थिइन्। खैरो कपाल र अग्लो ज्यान भएकी लुइस हलमा पनि एक्लै आएकी थिइन्।
कन्सर्टसँग जोडिएको लुइसको कथा रोचक थियो।

‘मैले २० वर्षअघि आफ्नो मूलभूमि स्कटल्यान्ड छाडेँ, बसोबास गर्ने मुलुक अस्ट्रेलिया बनाएँ भने माया गर्ने मुलुक नेपाल,’ उनले मोबाइल फोनमा भएका तस्बिरहरू देखाउँदै थपिन्, ‘गएको भाइटीकाका बेला म उतै थिएँ।’

बारम्बार नेपाल आवतजावत गरिरहँदा उनलाई नेपाली गीत-संगीत पनि मन पर्न थालेको रहेछ। उनले स्पोटिफाईमा सुन्ने अधिकांश गीत नेपाली नै छन्। त्यसमा पनि उनलाई शब्दै याद भएको र गाइरहने गीत रहेछ- ‘तालको पानी’।

‘पर्थका नेपाली साथीले मलाई यो गीत गाउने ब्यान्ड यसै सहरमा आउन लागेको जानकारी गराए,’ लुइसले भनिन्, ‘त्यसपछि अनलाइनबाटै टिकट काटेर सरासर आएँ।’

कन्सर्ट सकिएपछि मोबाइलमा सन्देश पठाउँदै लुइसले प्रतिक्रिया दिइन्, ‘वन वर्ड– अमेजिङ (एक शब्दमै भन्छु– गज्जब लाग्यो)।’

थप जिज्ञासा राख्दा लुइसले नेपथ्यको प्रस्तुतिमा हरेक कुरा आफूलाई मन परेको र त्यसमध्ये पनि मुख्य गायक अमृतले त्यति धेरै दर्शकलाई बाँधेर राख्न अपनाएका शैलीहरू विशेष उल्लेखनीय लागेको प्रतिक्रिया दिइन्।

हलमा नाचिरहेको भीडभित्र टिकट काटेर आउने दर्शक मात्र नभई स्थानीय आयोजक सन्तोष धामी पनि देखिन्थे।

‘पर्थको नेपाली कार्यक्रममा यति दर्शक उपस्थित भएको यो रेकर्ड हो,’ उनी भनिरहेका थिए, ‘त्यसमाथि सबै दर्शक रमाएको देख्दा असाध्यै खुसी लागेको छ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए। कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ।

पर्थको प्रस्तुति सकिएपछि ब्यान्ड अस्ट्रेलियाको पूर्वी किनारातर्फ लाग्नेछ। आगामी कन्सर्ट मार्च १४ मा ब्रिसबेनको ‘द टिभोली’ हलमा हुनेछ।

त्यसपछि मार्च १८ मा अस्ट्रेलियाकै पुछारमा रहेको टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’, मार्च २१ मा एडिलेड सहरको ‘हिन्डले स्ट्रिट म्युजिक हल’, मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’ मा प्रस्तुति दिएपछि अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ।

पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको यस सहरमा मार्च २९ को साँझ ‘होर्डन पभिलियन’ मा आफूलाई प्रस्तुत गरेको दुई दिनपछि ब्यान्ड स्वदेश फिर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad