गैरआवासीय नेपाली क्षेत्रीय संघ अल्गार्भ, पोर्चुगलले नेपालीबीच फुटबल प्रतियोगिता आयोजना गरेको छ।
‘स्वास्थ्यका लागि खेलकुद सहारा, आपसी दाजुभाइ भाइचारा’ भन्ने नाराका साथ आयोजना गरिएको फुटबल प्रतियोगिता आइतबार (२ मार्च) मा भएको हो।
प्रवासमा रहेर नेपाल र नेपालीसँग भाइचारा सम्बन्ध कायम गर्ने, सामाजिक सद्भाव कायम राख्ने, खेलकुदको माध्यमबाट सामाजिक सम्बन्ध स्थायित्व गर्ने उद्देश्यले फुटबल प्रतियोगिता गरिएको संघले जनाएको छ।
‘अल्गाभमा रहेर काम गरिरहेका सम्पूर्ण खेलप्रेमी नेपालीलाई एक ठाउँमा समेट्ने यस प्रतियोगिताको मुख्य उद्देश्य हो,’ संघका अध्यक्ष विनोद बुढाथोकीले भने।
‘एनआरएनए अल्गार्भ कप २०२५’ नाम दिइएको एक दिवसीय उक्त प्रतियोगिता ग्रेब जब टिम पहिलो भएको छ भने दोस्रो स्थान मेची महाकाली टिमले हात पारेको छ।

‘बेस्ट कोच’, सर्वाधिक गोलकर्ता, बेस्ट गोलकिपर पनि विजेता टिमबाटै भएका छन्।
यामकुमार दुरा बेस्ट कोच भएका छन् भने सर्वाधिक गोलकर्ता सन्दिप गुरुङ र उत्कृष्ट गोलरक्षक ईश्वर गुरुङ बनेका छन्।
उत्कृष्ट खेलाडीको उपाधि चाहिँ सुनिल लामाको हातमा परेको छ। अनुशासित टिमको अवार्ड मोन्ते गोर्दो नेपाली समाजले पाएको छ।
विजेता तथा विभिन्न विधामा अवार्ड पाएका टिम तथा खेलाडीलाई सोही दिन पुरस्कार वितरण गरिएको थियो।
प्रथम हुने टिमले १५१५ युरो नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो टिमलाई ७५५ युरो नगद र मेडल तथा प्रमाणपत्र दिइएको थियो।
उत्कृष्ट खेलाडीले १११ युरो र मेडल तथा प्रमाणपत्र तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले जनही ५५ युरो नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।
अनुशासित टिममा मोन्ते गोर्दो नेपाली समाजले १११ युरो प्राप्त गरेको थियो। प्रतियोगिता मोन्ते गोर्दोस्थित फुटबल मैदानमा भएको थियो।

गैरनेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष तिलक गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि एनआरएनए पोर्चुगलका अध्यक्ष रहेका थिए।
त्यस्तै विशेष अतिथिहरूमा जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष एनआरएन पोर्चुगलका पूर्व पदाधिकारीहरू, जनप्रगतिशील मञ्चका प्रतिनिधिहरू तथा जनसम्पर्क समिति अल्गार्भका सभापति रहेका थिए।
खेल प्रतियोगिताको अध्यक्षता गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति, अल्गार्भका सभापति विनोद बुढाथोकीले गरेका थिए।
कोषाध्यक्षको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव दिपक ढुंगानाले गरेका थिए।
विजेता टिम तथा विभिन्न विधाका विजेता खेलाडीलाई प्रमुख अतिथि गैरेको हातबाट पुरस्कार वितरण गरिएको थियो।
Shares

प्रतिक्रिया