जेनजी आन्दोलनका क्रममा झापाको दमकस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने दुई युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा इलामको चुलाचुली गाउँपालिका-३ का २२ वर्षीय नकुल अधिकारी र चुलाचुली-५ का १९ वर्षीय रियाज सिलवाल रहेका छन्। दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा दमकको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनीका घटनामा उनीहरू संलग्न भएको आरोप छ। योसँगै इलाका प्रहरी कार्यालयमा आक्रमण गर्ने चार जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार दुई दिनअघि मात्र पाँचथरको मिक्लाजुङ-५ स्थायी ठेगाना भई हाल दमक-५ मा बस्दै आएका २१ वर्षीय साजन लुहागुनलाई पक्राउ गरिएको थियो। उनलाई हिरासतमा राखेर आपराधिक उपद्रव कसूरमा अनुसन्धान थालिएको छ।
यसैगरी जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई झापा प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। अहिलेसम्म प्रहरीले दमकबाट चार र बिर्तामोडबाट ६ गरी १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालयमा आक्रमण गर्नेहरूको भिडियो र फोटोको आधारमा पहिचान गर्ने कार्य भइरहेको छ। जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेहरूमाथि ५० भन्दा बढी उजुरी परेको र ती उजुरीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। (रासस)
Shares

प्रतिक्रिया