त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहना सहित दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन्।
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट गरगहनासहित मंगलबार दुई जना अमेरिकी नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ३२ वर्षीय सुनिल शंकर र ३१ वर्षीया विनिता गजमेर रहेका छन्।
उनीहरू एअर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली हुँदै अमेरिका गइरहेका थिए। उनीहरूलाई जाँच गर्ने क्रममा सुनिलको लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ३१ ग्राम चार सय मिलिग्राम, चाँदी जस्तो देखिने धातुका गरगहना करिब एक किलो तीन सय ४६ ग्राम र मोतीको जस्तो देखिने धातुका गरगहना करिब ५३ ग्राम बरामद गरिएको छ।
त्यस्तै, विनिताको लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ९१ ग्राम पाँच सय पाँच मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ। दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ।
Shares

प्रतिक्रिया