अपराध


नेपाली युवतीहरूलाई झुक्याई भारत पुर्‍याएर यौनधन्दा सञ्चालन

पति पहिलेदेखि जेलमा, पत्नी अहिले पक्राउ
नेपाली युवतीहरूलाई झुक्याई भारत पुर्‍याएर यौनधन्दा सञ्चालन

नेपालखबर
जेठ २, २०८० मंगलबार ६:३१, काठमाडौँ

नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पुर्‍याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको खुलासा भएको छ। 

प्रहरीले हालै झापामा पक्राउ परेकी म्याग्दीकी अप्सरा भन्ने एलिना खत्रीबारे गरिएको अनुसन्धानमा यस्तो तथ्य फेला परेको मानव बेचखिबन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए। 

खत्रीका एक सहयोगीले विसं २०७९ कात्तिक २४ गते एक युवतीलाई नुवाकोटबाट बस चढेर काठमाडौँमा आफन्त भेट्न आउने क्रममा खानेकुरा तथा पानीमा बेहोस पार्ने औषधि मिसावट गरेर खुवाएका थिए। 

पीडित युवती बेहोस भएपछि उनले गिरोहसँगको मिलेमतोमा भारतको आसाम राज्यको सिल्चरको कोठीमा बेचेका थिए। त्यसपछि खत्रीलगायतले पीडितलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएर राखेको प्रहरीले जनाएको छ। 

त्यसपछि नेपाल प्रहरीले भारतीय प्रहरी र माइती नेपालको सहयोगमा पीडितको उद्धार गरेको थियो। पीडितले दिएको जाहेरीका आधारमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा वैशाख ३१ गते पक्राउ गरी सोमबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा त्यही दिन अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। 

प्रहरीका अनुसार पीडित युवतीलाई बेचबिखनमा लगाउनेमा उनीसहित नेपाल र भारतका ६ जनाको संलग्नता रहेको खुलेको छ। 

खत्री यसअघि पनि मानव बेचबिखन अपराधमा संलग्न रहेको पाइएको छ। गत मङ्सिरमा उनी अदालतको आदेशले रु एक लाख ५० हजार धरौटी तिरेर तारिखमा छुटेको पाइएको छ। 

मानव बेचबिखन मुद्दामा खत्रीका श्रीमान् भारतीय नागरिक अजित शाह पुर्पक्षका लागि कारागार कार्यालय भद्रपुरमा छन्। प्रहरीले उनीहरूले यसरी नेपाली महिलाहरूलाई लगेर भारतमा कोठी सञ्चालन गरेको जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .