ad ad

अपराध


जागिरबाट बर्खास्त हवल्दारले नक्कली वकिल बनेर डीएसपीका बाबुलाई ठगे

जागिरबाट बर्खास्त हवल्दारले नक्कली वकिल बनेर डीएसपीका बाबुलाई ठगे

उजिर कार्की
बैशाख १४, २०८० बिहिबार २०:७, काठमाडौँ

केही साताअघि काठमाडौं परिसरका डीएसपी भरतबहादुर बोहरालाई सूचना अयो, ‘एक जना नक्कली वकिलले सर्वोच्च अदालतसम्म बहस गरिरहेका छन्।’

ती सूचना दिने व्यक्ति पनि वकिल नै थिए। उनले नक्कली वकिलको विवरण प्रहरीलाई दिएका थिए। त्यसपछि काठमाडौं प्रहरी परिसरको एउटा टोली उनलाई खोजी गर्न थाल्यो। 

नभन्दै वैशाख ७ गते सर्वोच्च अदालतमा उनी फेला परे। उनी बैंकिङ कसुरको एउटा मुद्दा मिलाउन अदालत पुगेका थिए। सर्वोच्च अदालतबाट बाहिरिँदै गर्दा भरतविक्रम सिंह नाम गरेका व्यक्ति पक्राउ परे। 

प्रहरीले भरतबहादुर सिंह भनेर पक्राउ गरेका उनले आफू जाजरकोट  छेडागाड नगरपालिका १२ को ४९ वर्षीय मानबहादुर सिंह भएको बताए। 

प्रहरीले जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकता मगाएर थप पुष्टि गर्यो। नागरिकतामा पनि उनले भनेकै विवरण र नम्बर खुल्यो। ठेगाना, उमेर सबै मिल्यो। 

तर काठमाडौं परिसरका अनुसन्धान अधिकृत यति गर्दा पनि ढुक्क हुन सकेनन्। आफ्नो चिनजान भएका व्यक्तिसँग यसबारेमा सोधखोज गरे। 

उनले सोधेका स्थानीयले ती व्यक्ति मानबहादुर नभएको र मानबहादुरको दुई वर्षपहिले नै मृत्यु भइसकेको बताए। नभन्दै उनी भरतबहादुर सिंह नै भएको खुल्यो। 

भरतबहादुरले केही वर्षदेखि नक्कली वकिल बनेर १० जनाबाट एक करोड बढी ठगी गरेको खुलेको छ। उनले थुनामा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै ठगी गर्ने गरेको खुलेको हो। 

यसरी ठगिनेमा नेपाल प्रहरीको इन्जिनियर तर्फका डीएसपी समेत रहेको खुलेको छ। ती डीएसपीका बुबा बैंकिङ कसुरमा पक्राउ परेका थिए। मुद्दा उच्च अदालतमा दर्ता भएको थियो। 

त्यसक्रममा भरतले पुर्पक्षका क्रममा ३० लाख रुपैयाँ धरौटीमा छुटाइदिने भन्दै डीएसपीको परिवारसँग ३० लाख रुपैयाँ लिएका थिए। तर डीएसपीका बुबा छुटेनन् र उनी पुर्पक्षका लागि थुनामा परे। त्यसपछि डीएसपीको परिवारले आफू ठगिएको थाहा पाएको थियो। 

यस्तै उनले अन्यलाई पनि यसैगरी थुनामा रहेकालाई छुटाइदिने भन्दै ठगी गरेको खुलेको छ। अहिलेसम्म प्रहरीको सम्पर्कमा उनीबाट पीडित १० जनाले उजुरी गरेका छन्। उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। 

उनीविरुद्ध प्रहरीले सरकारी छाप र दस्तखत किर्ते, ठगी र यौन शोषणको आरोपमा अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध एक महिलाले यौन शोषणको आरोपमा जाहेरी दिएकी छन्। कालीमाटीस्थित महिला सेलमा दर्ता भएको उजुरीमा पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

हवल्दार कसरी भए कुख्यात ठग?
२०५७ वैशाख १ गते जाजरकोटका भक्तबहादुर सिंह नेपाल प्रहरीको जवानमा भर्ती भएका थिए। तालिम सकेर उनको दंगा नियन्त्रण गणमा पोस्टिङ भयो। 

तर उनी पछि सशस्त्र प्रहरीको स्थापना भएपछि नेपाल प्रहरी छाडेर सशस्त्र प्रहरीमा प्रवेश गरे। सशस्त्रमा प्रवेश गरेसँगै उनी जवानबाट हवल्दारमा बढुवा भएका थिए। 

तर २०६४ सालमा सशस्त्र प्रहरीको हवल्दार हुँदै नक्कली इन्सपेक्टर बनेर ठगी गरेको खुल्यो। ठगी आरोपमा उनलाई सशस्त्र प्रहरीले जागिरबाटै बर्खास्त गरेको थियो। ठगी आरोपमा कारबाहीमा परेका उनी पछि अपहरण तथा हत्याको मुद्दामा पक्राउ परे। 

नेपालगन्जकी एक युवती अपहरण गरेर उनीसहित ११ जनाको संलग्नतामा काठमाडौं ल्याए र फिरौती मागे। आफन्तसँग फिरौती लिन उनी र अर्की युवती आएका थिए। 

फिरौती लिन पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गर्यो। अपहरणमा परेकी युवतीको हत्या भयो। हत्यामा संलग्न फरार भए, उनी र युवती भने जेल परे।  

उनी जेलमा हुँदा उनलाई अधिवक्ता गणेशप्रसाद शर्माले सहयोग गरेका थिए। तर पछि जेलबाट छुटेपछि भरतले उनै गणेशको अधिवक्ता नम्बर दुरुपयोग गर्दै त्यही नम्बरको वकिल आफू रहेको बताउन थाले। 

यही नम्बर दुरुपयोग गरेर उनले सर्वसाधारणदेखि प्रहरीको परिवारसम्म ठगेको खुलेको हो। उनीबाट पीडित अरु पनि रहेको हुनसक्ने प्रहरीको अनुमान छ। थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .