ad ad

अपराध


रौतहट गोली काण्ड: घटनामा संलग्न आरोपमा १६ जना पक्राउ

रौतहट गोली काण्ड: घटनामा संलग्न आरोपमा १६ जना पक्राउ

नेपालखबर
बैशाख ३, २०८० आइतबार ९:१५, सर्लाही

रौतहटको गढिमाईमा शनिबार एक जनाको ज्यान जानेगरी भएको गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ। 

गढीमाई नगरपालिका –८ धोबिनियामा शनिबार बाटो विस्तार गर्ने क्रममा भएको विवादमा गोली चल्दा स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो। 

गोली लागेर गम्भीर घाइते यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शव अहिले पनि अस्पतालमै राखिएको छ। आफन्तले शव बुझेका छैनन्।

घटनामा संलग्न भएको आशंकामा गएराति सम्ममा गाउँका १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले जानकारी दिए।

दुई पक्षबीच भएको झडपको क्रममा चारजना घाइते भएका छन्। 

‘घाइतेमध्ये दुई जनालाई गोलीको छर्रा लागेको छ,’ डीएसपी यादवले नेपालखबरसँग भने, ‘दुई जनाको टाउको फुटेको छ। उनीहरूमाथि लाठी या ढुंगा प्रहार भएको देखिन्छ। हामी अनुसन्धान गरिरहेका छौँ।’

घाइतेमध्ये सोही ठाउँका निरन्जन राय यादव र प्रताप यादवलाई गोली लागेको छ। घाइते कपिलदेव राय यादव र अर्का एक जनाको टाउको फुटेको छ। 

गोली लागेकामध्ये निरन्जन यादवको अवस्था गम्भीर रहेको डीएसपी यादवले जानकारी दिए। घाइते चारैजनाको रौतहटकै गरुढास्थित ग्राण्डि अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायतलाई पक्राउ गरेको छ।

एकजनाको मृत्यु र चारजना घाइते हुनेगरी भएको गोली काण्डपछि धोविनियामा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। गएराति रौतहटका एसपी वीरबहादुर बुढा मगरसहितका सुरक्षा अधिकारी घटनास्थलमा पुगेका थिए।

‘त्यहाँको अवस्था अहिले सामान्य छ। झडपका थप घटना नहोस् भनेर प्रहरीले अहिले पनि घटनास्थलमा सुरक्षा दिइरहेको छ,’ डीएसपी यादवले भने, ‘गोली प्रहार गर्ने मुख्य मान्छेको पहिचान भएको छैन। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

धोबिनियास्थित साँघुरो बाटोलाई गढीमाई नगरपालिकाले चौडा गर्ने क्रममा स्थानीयबीच विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ।

बाटो विस्तार गर्ने क्रममा सडक वारिपारीका रामइश्वर राय र राजकुमार यादव पक्षबीच विवाद हुँदै आएको थियो। दुबै पक्षले आफ्नो जग्गा बाटोमा पर्न नहुने भन्दै विगत केही दिनदेखि विवाद गर्दै आएका थिए। 

दुई पक्षबीच विवाद बढेपछि शनिबार दिउँसो १ बजे इलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक वीरेन्द्र पासवान नेतृत्वको टोली घटनास्थलमा पुगेर दुबै पक्षलाई सम्झाइबुझाई गरेर फर्किएको थियो। 

डीएसपी यादवका अनुसार सोमबार बिहान ८ बजे गरुढा नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितको उपस्थितिमा छलफल गरेर समस्या समाधान गर्ने मौखिक सहमतिपछि प्रहरी टोली घटनास्थलबाट फर्किएको थियो। 

प्रहरी फर्किएको दुई घण्टापछि (दिउँसो करिब ३ बजे) नै गोली प्रहार सहितको घटना भएको प्रहरीले जनाएको छ।  

विवादको क्रममा राजकुमार पक्षधरले विपक्षीमाथि सुरुमा ढुंगामुढा गरेको र राम ईश्वर पक्षले गोली चलाएको आरोप स्थानीयले लगाएका छन्।

प्रहरीले भने गोली चलाउनेको पहिचान खुलाइसकेको छैन। 

झडपका क्रममा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको डीएसपी यादवले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .