अपराध


झड्केला बाबु र दाइबाट बालिका बलात्कृत, आमाले ८ महिनापछि थाहा पाइन्

झड्केला बाबु र दाइबाट बालिका बलात्कृत, आमाले ८ महिनापछि थाहा पाइन्

नेपालखबर
चैत २३, २०७९ बिहिबार १९:५३, काठमाडौँ

काठमाडौंको कागेश्वरी मनोहरास्थित एक परिवारको डेरा केही दिनदेखि रित्तिएको छ। त्यो डेरामा बस्ने बाबुछोरा कारागार चलान भए। आमा पहिल्यै आफन्तकोमा गइन्। छोरी पनि घर छाड्न बाध्य भइन्।

तर बाबुसँग बस्दै आएकी छोरीले घर छाडेको आमाले भने ८ महिनापछि मात्रै थाहा पाइन्। 

हेटौँडाको एउटा परिवारभित्रको कुकृत्य यसरी सुरु हुन्छ।

४१ वर्षीय पुरुष ती महिलाका तेस्रो श्रीमान् हुन्। उनीसँग ती महिलाले १० वर्ष पहिले नै विवाह गरेकी थिइन्। उनीहरु काठमाडौंमा डेरा लिएर सँगै बस्दै आएका थिए। ती महिला दोस्रो श्रीमानबाट जन्मिएकी हाल १४ वर्षीया छोरी पनि तेस्रो विवाह गर्दा सँगै लिएर आएकी थिइन्। ती पुरुषले पनि पहिल्यै विवाह गरेका थिए। उनका पनि हाल २४ वर्षीय छोरा छन्। 

दुवैले पूर्वपति र पत्नीबाट जन्मिएका सन्तान सँगै राखेका थिए। उनीहरु दुईबाट एक छोरी जन्मिएकी थिइन्। उनी ६ वर्षकी भइन्। 

तर तेस्रो विवाह पनि सुखद हुन सकेन। ती ४१ वर्षीय पतिले उनलाई दिनरात रक्सी खाएर कुटपिट गर्न थाले। तेस्रो पतिसँग पनि बसिनसक्नु भएपछि महिलाले घर छाडिन्। उनी आफ्नी फुपूको घर सिन्धुपाल्चोक गएर बस्न थालिन्। 

२ छोरी र श्रीमानका पहिलेकी श्रीमतीतर्फका छोरा भने काठमाडौंमै बस्थे। तर श्रीमानको यातनापछि घर छाडेकी महिलाले ठूली छोरी जेठाजुको घर हेटौंडा पुगेको थाहा पाइन्। 

तर छोरी काठमाडौंबाट हेटौंडा किन पुगिन् भन्ने थाहा थिएन। यो बीचमा उनीहरुको भेट पनि भएन। गएको फागुन २६ गते आमा–छोरीको भेट भयो। आमाले छाडेर गएपछि आफू झड्केला बाबुबाटै बलात्कारमा परेको सुनाइन्। दाजुले पनि यौन दुर्व्यवहार गरेको सुनाइन्।

आमाले छाडेपछि बाबु रक्सी खाएर डेरा फर्किने र आफूलाई बलात्कार गर्ने गरेको छोरीले सुनाइन्। तर डरले यो कुरा ती नाबालिगले कसैलाई सुनाउन सकेकी थिइनन्। बाबुले कसैलाई भने मारिदिन्छु भनि धम्की दिएका थिए।   

त्यसपछि ती बालिका झड्केला बाबुबाट पटक–पटक बलात्कृत भइन्। उनी सधैँजसो रक्सी खाएर कोठामा फर्किन्थे र छोरी बलात्कार गर्थे, अनि कसैलाई नभन्नु भनेर धम्क्याउँथे। 

अन्तिम पटक बालिका २०७९ असार १५ गते बलात्कारमा परेकी थिइन्। दाइ (झड्केला बाबुको छोरा) ले पनि यौन दुर्व्यवहार गर्थे। दाइले पनि पटक पटक उनका यौनाङ्ग छुने र उनको यौनाङ्ग खेलाउन लगाउँथे।   

ती बाबुछोराको अत्याचारबाट मुक्ति पाउन उनले काठमाडौं छाडेकी थिइन्। गत असारको अन्तिमतिर ठूलो बुबाकी छोरी काठमाडौं आएकी थिइन्। उनीसँगै ती बालिका हेटौंडा पुगिन्। त्यसपछि उनी उतै बस्न थालिन्, काठमाडौं फर्किनन्। 

झड्केला बुबा भने हेटौंडाबाट सानैमा काठमाडौं आएका थिए। काठमाडौं बस्ने क्रममा उनले १८ वर्षीया लामा थरकै युवतीसँग प्रेम विवाह गरेका थिए। अहिले उनीसँग भएका २४ वर्षीय छोरा पेटमै छँदा श्रीमतीले छाडिन्। 

उनीहरु अलगअलग बस्न थाले। छोराको लालनपालन श्रीमतीले नै गर्दै आएकी थिइन्। ज्यामी काम गर्ने क्रममा अहिलेकी श्रीमतीसँग उनको काठमाडौंमै भेट भयो। 

दुवैको पहिलेका विवाह छुटेका उनीहरु प्रेममा परे। श्रीमतीका पहिलेका श्रीमानबाट जन्मिएकी छोरी पनि सँगै राखेका थिए। २ वर्षअघि उनले पहिलेकी श्रीमतीबाट जन्मिएका छोरालाई पनि सँगै राखे। 

तर उनका ती छोराले पनि बहिनीलाई यौन दुर्व्यवहार गरेको आरोपमा अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। 

बाबुलाई हाडनाता करणीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। १४ वर्ष वा सोभन्दा बढी १६ वर्षभन्दा कम उमेरका नाबालिगलाई बलात्कार गरेको ठहरेमा १२ वर्षदेखि १४ वर्षसम्ँम कैद सजाय हुने कानुनी व्यवस्था छ। यस्तै जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको छ। 

सौतेनी आमाछोरा वा बाबुछोरीबीच करणी भएमा ४ वर्षदेखि १० वर्षसम्म कैद र चालिस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। बाल यौन दुरुपयोगको कसुरमा सौतेनी बाबुको छोराविरुद्ध पनि मुद्दा दायर भएको छ। 

यो मुद्दाको फैसला भने हुन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .