ad ad

अपराध


जापान पठाइदिने भन्दै तीन करोड बढी ठगी, पीडितले गुहारे पत्रकार

जापान पठाइदिने भन्दै तीन करोड बढी ठगी, पीडितले गुहारे पत्रकार

ध्रुव भट्टराई
माघ ५, २०७९ बिहिबार १८:५३, विराटनगर

मोरङको कटहरी–३ का हरि राजवंशी कतारमा काम गर्दै थिए। कमाइ  राम्रो नभएका कारण उनी घर फर्कन चाहन्थे।

चार महिनाअघि कतारमै रहेका हरिलाई जापानमा भएका मामाको छोरा अजय राजवंशीको फोन आयो। फोनमा अजयले उनलाई जापान आउन अफर गरे। जापानमा राम्रो कमाइ हुने भन्दै अजयले फोन गरेपछि हरि पनि कतार छाडेर जापान जान सहमत भए। 

मोरङको सुनवर्षी नगरपालिका–६ पटियापाडाका अजयले उनलाई जापान लगिदिने र त्यहाँ पुगेपछि राम्रो काम लगाइदिने बताएका थिए। हरि पनि जापान गएर पैसा कमाइ परिवारको आर्थिक अवस्था सुधार गर्न चाहन्थे। त्यसका लागि अजयले हरिसँग पैसा मागेका थिए। उनले जापान जान अजयलाई ७ लाख रुपैयाँ पनि जम्मा गरिदिए।

उनी अहिले नेपाल फर्किएका छन् तर आफ्नै मामाको छोरा अजयको ठगी धन्दामा हरी परेका छन्। 

‘जापान जाने भनेर पटक पटक गरी सात लाख रुपैयाँ जम्मा गरिदिएँ’,हरिले भने, ‘तर अहिले जापान लाने भनेर नेपाल बोलाउने अजय नै बेपता भए। आफ्नै मान्छेको ठगी धन्दामा फस्न पुगेँ।’ 

अहिले अजय एकाएक बेपता भएपछि उनी आफू ठगिएको भन्दै प्रहरी प्रशासन समक्ष हारगुहार गरिरहेका छन्। 

उनी जस्तै मोरङ कटहरी २ का विवेक राजवंशी पनि अजयको ठगी धन्दामा परेका छन्। विवेक पनि विदेश जाने योजनामा थिए। उनलाई पनि अजयले जापान लगिदिने र त्यहाँ पुगेपछि राम्रो काम लगाइदिने बताएका थिए। त्यसका लागि अजयले योगेशसँग पैसा जम्मा गर्न लगाएका थिए।

अजयले विवेकलाई  सुपरभाइजरको तलब मासिक ४ लाख र त्योभन्दा तलको पदमा १ लाख ८० हजार हुने आश्वासन दिएका थिए। यसमा बोनस १० देखि १५ लाख समेत प्राप्त हुने भन्दै अजयले विवेकलाई प्रभावित गरेका थिए।

विवेकले अजयलाई पटक–पटक गरी सिटीजन्स र एनआईसी बैंकको खातामा १८ लाख दिएका छन् तर अहिले जापान पठाएदिने भनेका अजय नै सम्पर्कविहीन छन्। रकम जम्मा गर्न लगाएर अजय बेपता भएपछि विवेक अहिले समस्यामा परेका छन्। 

विराटनगर महानगरपालिका–१९ की डाफूल राजवंशीले पनि जापान जान पाइने भन्दै ६ लाख रुपैयाँ बुझाइन्। पैसा बुझाएर पनि विदेश जान नपाएपछि आफू ठगिएको पत्तो पाइन्। अहिले उनी पनि मानसिक तनाव भोगिरहेका छन्।

यस्तै, मोरङको सुनवर्षीका अजयले चितवनका राजेन्द्र अधिकारीसँग मिलेर मोरङ र सुनसरीका ४१ युवाबाट तीन करोड भन्दा धेरै रकम असुल गरी फरार भएको पीडितहरुले बताएका छन्।

पीडितहरुले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफूहरु संकटमा परेको भन्दै ठगिएको रकम फिर्ता दिलाइदिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गुहारेका छन्। आफूहरु ठगीमा परेको थाहा पाएपछि पीडितहरुले पुस २५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको जानकारी दिए।

पीडितहरुका अनुसार अजयले जापानको हिरोसिमा र टोकियोमा गार्मेन्टमा काम लगाई दिने भन्दै उनीहरुसँग रकम जम्मा गर्न लगाएका थिए।

अजयले मोरङ र झापाका ४१ जनालाई जापान पठाइदिन्छु भनेर तीन करोड रुपैयाँभन्दा बढी ठगी गरेको पीडितको भनाई छ। 

चितवनका राजेन्द्र अधिकारी, धरानका मिनचिरा चाम्राकार, ज्योती घले, विद्या राजवंशी, कर्ण दवाडी, रन्जितकुमार राजवंशी र अनुराधा राजवंशीको नामबाट विभिन्न बैंकमा रकम जम्मा गर्न लगाएका थिए। ७ जनाको नाममा बैंकमा रकम जम्मा गर्न लगाई ति सबै रकम लिएर राजवंशी फरार भएका हुन्।

विद्या राजवंशी फरार रहेका अजयकी बहिनी हुन्। रन्जितकुमार र अनुराधा श्रीमान् श्रीमती हुन्।

जापानमा वैदेशिक रोजगारबाट फर्किएका अजयले उनीहरुसँग न्यूनतम ७ देखि १८ लाख रुपैयाँसम्म असुली गरेको पीडितहरुले बताएका छन्।

अजय पुस १५ गतेमात्र जापानबाट नेपाल फर्किएको र उनी काठमाडौंमा लुकेर बसेको पीडितको भनाइ छ।

पीडितहरु जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रंगेलीदेखि वैदेशिक रोजगार विभागमा आफूहरु ठगिएको भनेर निवेदन दर्ता गराएका छन्। तर कतैबाट कुनै किसिमको सुनवाइ हुन नसकेको उनीहरुको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .