जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई आज (बुधबार) पनि मनोपरामर्श (काउन्सिलिङ) दिइने भएको छ।
वरिष्ठ मनोविद्लाई केन्द्रीय कारागार सुन्धारामा लगेर सन्दीपलाई काउन्सिलिङ गरिने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए। यसअघि सोमबार पनि उनलाई मनोपरामर्श दिइएको थियो।
सन्दीपमा डिप्रेसनको संकेत देखिएपछि वरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले मनोपरामर्श दिन थालेकी हुन्। पछिल्लो समय उनमा डिप्रेसनको संकेत बढ्दै गएपछि जेलमै परामर्श दिन थालिएको हो। अब नियमित २/३ दिनको फरकमा मनोपरामर्श दिइने घिमिरेले बताए।
सन्दीपको बोलीचाली र हाउभाउमा पनि परिवर्तन आएको छ। उनमा नकरात्मक सोचहरु बढेको पाइएको अधिवक्ता घिमिरेले बताए।
सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। मुद्दाको फैसला हुन समय लाग्ने देखिएको छ। जिल्ला अदालतले अहिले पनि प्रमाण झिकाउने र सम्बन्धित व्यक्तिको बकपत्र गराउने काम गरिरहेको छ।
यस्तै पुर्पक्षका लागि थुानामा पठाउने आदेशविरुद्ध उच्च अदालतमा निवेदन परेको छ। तर निवेदनको सुनवाइ भएको छैन।
Shares

प्रतिक्रिया