पोखरामा नक्कली सुन धितोमा राखी कर्जा लिएर बैंकलाई नै ठगी गर्ने एक जना पक्राउ परेका छन्।
कास्कीको पोखरा महानगरपालिका १७ बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंकबाट २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका हुन्।
पर्वतको कुश्मा नगरपालिका ३ घर भई हाल पोखरा १८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारलाई प्रहरीले पक्राउ गरेको हो। उनले विभिन्न खालका नक्कली सुनका गरगहना धितोमा राखी एक पटक १६ लाख ६० हजार र अर्को पटक ७ लाख ४५ हजार रुपैपाँ गरी २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएका थिए।
कर्जा लिएपछि लामो समयसम्म कर्जाको व्याज तथा साँवा बुझाउन नआएपछि बै.कले उनले धितोमा राखेका गरगहना चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा कमसल सुन प्रयोग गरी तयार गरिएको नक्कली गरगहना रहेको खुल्न आएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी ५ दिनको म्याद लिएको छ। ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान प्रकृया अगाडी बढाएको छ।
अनुसन्धानको क्रममा उनले धितोमा राखेका गरगहनाहरू नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेक जाँचको लागि पठाइएकोमा उक्त गरगहना नक्कली सुनबाट तयार गरिएको भन्ने प्रतिवेदन प्राप्त भएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया