ad ad

अपराध


इन्टरपोलको ‘लेन्स’मा १८५ नेपाली, जसलाई १९५ देशका प्रहरीले खोज्दै छन्

इन्टरपोलको ‘लेन्स’मा १८५ नेपाली, जसलाई १९५ देशका प्रहरीले खोज्दै छन्

उजिर कार्की
असोज १६, २०७९ आइतबार १९:३२, काठमाडौँ

विभिन्न आपराधिक गतिविधिमा संलग्न १८५ नेपाली अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सूचीमा परेका छन्। एउटा देशमा अपराध गरेर अर्को देश भागेका नेपालीलाई पक्राउ गर्न इन्टरपोलले विभिन्न नोटिस जारी गरेको हो। 

यीमध्ये केहीविरुद्ध नेपाल प्रहरीको आग्रहमा र बाँकी ९९ जनालाई १४ देशका प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गराएका हुन्। अब यी नेपालीलाई इन्टरपोलमा आबद्ध १९५ देशका प्रहरीले जहाँ भेटे पनि पक्राउ गर्न सक्छन्। नोटिस जारी गरिएका नेपालीमा हत्यादेखि अन्य अपराधमा संलग्नहरू छन्।

विदेशका प्रहरीमा सबैभन्दा धेरै नेपाली कतार प्रहरीको सूचीमा छन्। कतार प्रहरीको अनुरोधमा ३१ जना नेपालीविरुद्ध रेड नोटिस जारी भएको छ। यस्तै भारतीय प्रहरीले २६ नेपालीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा आग्रह गरेको छ। भारत प्रहरीको अनुरोधमा २५ नेपालीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको छ।

यूएईमा अपराध गरेर फरार भएका १६ नेपाली पनि इन्टरपोलको खोजी सूचीमा छन्। साउदीमा ६, जोर्डन ५, अमेरिका ४, कोरिया ४ र केन्यामा अपराध गरेर भागेका २ नेपालीलाई पनि इन्टरपोलले खोजिरहेको छ। 

बेलारुस १, फिनल्यान्ड १, मलेसिया १, पोल्यान्ड १, किर्गिस्तान १, र हङकङ १ जना नेपालीले अपराध गरेर फरार भएको इन्टरपोलको तथ्यांक छ। इन्टरपोलबाट नोटिस जारी भइसकेपछि अब उनीहरूलाई इन्टरपोलमा आबद्ध जुनसुकै देशले पक्राउ गरेर कारबाही गर्न सक्नेछन्। 

यस्तै नेपालमा अपराध गरेर भागेका विदेशीलाई पक्राउ गर्न भने नेपालले आग्रह गरेको छ। इन्टरपोलमार्फत सूचना जारी गरेर नेपाल प्रहरीले उनीहरूलाई पक्राउ गर्न सहयोग लिएको हो। 

नेपालमा अपराध गरेर भागेका ४ जनाविरुद्ध रेड नोटिस र ३३ विदेशी नागरिकविरुद्ध डिफ्युजन जारी गरिएको छ।

नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ३८ नेपालीविरुद्ध पनि रेड नोटिस जारी गरेको छ। डिफ्युजन जारी गरिएका  नेपाली २७ जना छन्। उनीहरू नेपालमा अपराध गरेर फरार भएपछि नेपाल प्रहरीले उनीहरूलाई पक्राउ गरेर नेपाल ल्याउन इन्टरपोलको सहयोग मागेको हो। इन्टरपोलको सहयोगमा यसअघि पनि विभिन्न देश पुगेका अभियुक्तलाई पक्राउ गरेर नेपाल प्रहरीले कारबाहीको दायरामा ल्याएको छ। 

इन्टरपोलले १० नेपालीविरुद्ध पहेंलो नोटिस जारी गरेको छ भने एक जना कालो सूचीमा छन्। 

मानव बेचविखनदेखि हत्यासम्मका अभियुक्त
केन्या प्रहरीको फरार सूचीमा रहेका नेपाली हुन् - विक्रान्त थापा। ३७ वर्षीय थापा इनटरपोलमा आबद्ध देशका प्रहरीको खोजी सूचीमा छन्। उनलाई यी देशका प्रहरीले भेट्नासाथ पक्राउ गर्नेछन्। त्यसपछि उनलाई केन्या प्रहरीकहाँ बुझाइनेछ। 

थापाविरुद्ध मानव बेचबिखनको आरोप छ। यस्तै उनीविरुद्ध केन्याको नागरिकता र आप्रवासन ऐन उल्लंघन गरेको आरोप पनि छ। यस्तै गैरकानुनी रूपमा केन्या पुगेको कसुरमा पनि कारबाही गर्नुपर्ने भन्दै केन्या प्रहरीले रेड नोटिस जारी गराएको हो। केन्या प्रहरीकै खोजी सूचीमा रहेका अर्का नेपाली हुन् - वीरबहादुर नेपाली। उनीविरुद्ध पनि केन्या प्रहरीको अनुरोधमा इन्टरपोलले रेड नोटिस जारी गरेको छ। ५० वर्षीय वीरबहादुर पनि विक्रान्तजस्तै मानव बेचबिखनलगायत कसुरमा दोषी ठहर भएका छन्। 

भारतमा अपराध गरेर फरार नेपाली अभियुक्त हुन् - सूर्य तामाङ। उनको विवरण विस्तृतमा इन्टरपोलले पनि खुलाएको छैन। तर भारतमा उनीविरुद्ध धेरैवटा कसुर गरेको आरोप छ। हत्याको कसुर तथा आपराधिक षड्यन्त्रलगायतमा उनलाई सजाय गर्नुपर्ने भन्दै भारतीय प्रहरीले रेड नोटिस जारी गराएको छ। 

नेपालकै उमेश सापकोटाविरुद्ध अमेरिकामा यौन दुर्व्यवहारको आरोप छ। उनलाई पनि इन्टरपोलको सहयोगमा प्रहरीले खोजी गरिरहेको छ। उनलाई पक्राउ गर्न अमेरिकी प्रहरीले इन्टरपोलको सहयोग मागेको हो। अमेरिकी प्रहरीको आग्रहमा इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेको छ। 

पर्पतका राजेश भागदुर र म्याग्दीका रमेश भागदुर पनि भारतीय प्रहरीको फरार सूचीमा छन्। उनीहरूविरुद्ध बसेको घरमा चोरी गरेको तथा घर तोडफोड गरेको आरोपमा भारतीय प्रहरीले रेड नोटिस जारी गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .