किया मोटर्स इन्डियाले ग्लोबल प्रिमियर गरिसकेको किया सोनेट दशैँसम्म नेपाल आउने भएको छ। युवामाझ आकर्षण बटुलेको एसयूभी सेग्मेन्ट किया सोनेट ग्लोबल मोडल हो।
नेपालमा किया मोटर्सका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका असिस्टेन्ट जनरल म्यानेजर अनिस लामिछानेले दशैँसम्म सोनेटको गाडी भित्र्याउने लक्ष्य रहेको बताएका छन्।
‘यो वर्षको चाडपर्वको लागि कियाको सोनेट हो’, उनले भने, ‘युवाहरुले अत्यधिक रुचाएको सोनेट दशैँसम्म ल्याउँछौँ।’
हाल नेपालमा बीएस ६ इन्जिनको किया सेल्टोस लोकप्रिय रहेको छ। ‘कियाको गाडी चढ्नेलाई सोनेटले झन् आकर्षण गर्ने विश्वास लिएका छौँ’, लामिछानेले भने।
सोनेटमा पेट्रोल इन्जिनको अलावा ६ स्पिड टर्क कन्भर्टरसहितको अटोमेटिक डिजेल इन्जिन उपलब्ध हुनेछ। यसलाई कम्पनीले १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो चाज्र्ड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा आउने बताइएको छ।
उक्त गाडीमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, यूभीओ कनेक्टेड कार टेक, इलेक्ट्रिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस मोवाइल चार्जर, मल्टी इन्फर्मेसन डिस्प्लेलगायतका फिचर छन्।
सोनेटले नेपाली बजारमा हुन्डाईको भेन्यु, टाटाको नेक्सन र मारुतीको ब्रेजासँग प्रतिस्पर्धा गर्नेछ।
Shares
प्रतिक्रिया