बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिन सक्ने तर्क गरेका छन्।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएसन मिट २०२४ः नागरिक उड्डयन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो तर्क गरेका हुन्।
भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीनसँग सम्झौता गरेको बीआरआई परियोजना अन्तर्गतको आयोजना भएकाले उडान अनुमति नदिएको उनको भनाइ थियो। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई परियोजनाअन्तर्गत नभएको स्पष्ट बताए उडान अनुमति दिन सक्ने अवस्था रहेको उनले उल्लेख गरे।
उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बीआरआई परियोजनाको संज्ञा दिइएको छ। बीआरआई हो कि होइन, नेपाल सरकारले व्याख्या गरिदिनुपर्छ। बीआरआईको कारणले भारतले अनुमति नदिएको भन्ने छ। भारत र दक्षिणतिरका देशले बीआरआई परियोजनाका कारण उडान नगर्ने हुँदा उडानमा चुनौती देखिएको छ। भारतीय विमानस्थलहरूमा उडान अनुमति पाएको खण्डमा ३८ सय भिजिबिलिटीमा पनि उडान गर्न तयार छौँ।’
भिडिओ:
बुद्ध एयरले पोखराबाट वनारस उडान गर्न खोज्दा भारतले अनुमति नदिएको र फाइल अहिले पनि घुमिरहेको उनको भनाइ थियो।
‘हामीले बुझेसम्म भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल असाध्यै जटिल विमानस्थल हो,’ उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमास्थल सञ्चालनमा आएदेखि बुद्ध एयरले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भनिरहेका छौँ। त्यसको लागि पोखरा वनारस उडानको लागि सरकारसँग अनुमतिको लागि आवेदन दियौँ। सरकारले तीन दिनभित्र अनुमति दियो। परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पनि आवेदन दियौँ। त्यो फाइल अहिले पनि घुमिरहेको छ। अहिले पनि उडान गर्न पाइँदैन भन्नुभएको छैन तर फाइल अझै घुम्दै छ। हामीले बुझेसम्म बंगलादेशको हवाई कम्पनीले पोखरा उडान गर्न खोज्दा हवाई रुटको कारण उडान हुन नसकेको कुरा छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयता के हो भन्दा ३१९ वा त्योभन्दा सानो क्याटागोरीको जेट विमानले भारत सब-कन्टिनेन्टलाई एउटा हिसाबले चल्न सक्ने बुझेका छौँ।’
Shares

प्रतिक्रिया