ad ad

ब्लग


जातीय विभेदको विरोध गर्दा सामाजिक सदभाव खलबलिँदैन

जातीय विभेदको विरोध गर्दा सामाजिक सदभाव खलबलिँदैन

गगन थापा
असार १५, २०७८ मंगलबार १५:४३,

कलाकार एवं दलित अधिकारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदको घटनापछि न्याय निरूपणको स्वाभाविक प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारका मन्त्रीको गैरजिम्मेवार हस्तक्षेपप्रति आक्रोश र असहमति व्यक्त गऱ्यौं।

यो पनि : प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः छुवाछूतका आरोपितलाई छुटाउने शिक्षामन्त्री अझै किन कायम?

तर फेरि पनि जातीय विभेदको कुनै एउटा घटनापछि आक्रोशित बहस हुने र तुरुन्तै सेलाएर जाने अनि विभेदका घटनाचाहिँ दोहोरिइरहने त होइन भन्नेतर्फ सचेत रहनुपर्नेछ। यस्तो हुन नदिन विभेदका कुनै पनि घटनामा राज्य कहाँ उभिने भन्ने प्रश्नमा निरन्तर बहस चलाइरहनुपर्ने भएको छ।

सबै लिङ्ग, वर्ग, जाति, क्षेत्रका प्रतिनिधिहरूको लामो विमर्श र अथक मेहनतपछि लेखिएको हाम्रो नयाँ संविधानले जातीय भेदभावलाई गम्भीर सामाजिक अपराध मानेको छ। त्यस्तो भेदभाव दण्डनीय रहने संवैधानिक प्रबन्धअनुसारका कानुन हामीले बनाएका छौँ।

अतः जातीय विभेदका कुनै पनि घटनामा बिना कुनै आग्रह, कुनै किन्तुपरन्तु, निष्पक्ष रूपमा संविधान र कानुनको यो प्रबन्धको कार्यान्वयन गर्नु/गराउनु राज्यको निर्विकल्प दायित्त्व हो।

संविधानमा यो पनि लेखेका छौँ- परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद अन्त्य गरी सभ्य समाज निर्माण गर्ने राज्यको नीति हुनेछ। यो नीतिलाई वास्तविकतामा अनुवाद गर्न विभेदका घटनामा संलग्न व्यक्ति वा संस्थालाई सजाय त आवश्यक हुन्छ नै, तर त्यति मात्र पर्याप्त हुँदैन।

हाम्रो समाजमा जातीय विभेद अपवादमा हुने घटना हुँदै होइन भन्ने यथार्थ स्वीकारे मात्र हामी संविधानले परिकल्पना गरेको उत्पीडनमुक्त समतामूलक समाज निर्माणका लागि पहिलो पाइला चाल्न योग्य हुनेछौँ।

सयौँ वर्षदेखि प्रश्रय पाएको यस्तो अमानवीय परम्पराको सामाजिक, मनोसामाजिक, राजनीतिक, आर्थिकलगायत जटिल आयाम छन्। त्यसैले सरकारले जातीय विभेदलाई न्यायालयबाट हुनुपर्ने निरूपणको विषयसँगै आर्थिक, सामाजिक मुद्दाका रूपमा पनि हेर्नुपर्छ र सोहीअनुसार निरन्तर सम्बोधन गरिरहनुपर्छ।

राज्यको यस्तो पहललाई सार्थक बनाउन धेरैभन्दा धेरै नागरिकलाई सहभागी गराउन सक्नुपर्छ। यसका लागि विभेदका घटनामा प्रवेश गर्नेबित्तिकै सामाजिक सदभाव खलबलिने होइन, बरु यस्तो घटना लुकाउने/पन्छाउने गऱ्यो भने मानवीय र सदभावयुक्त समाज कहिल्यै बन्न सक्दैन भन्ने सचेतना जगाउन जरुरी छ।

पश्चिमी देशहरूमा पछिल्लो समय उत्पन्न भएको जातीय र नश्लीय द्वन्द्वका घटनाले हामीलाई दिएको शिक्षा के हो भने विभेदका अवशेष बाँकी नै रहेको समाज जतिसुकै वैभवशाली भए पनि शान्त र सदभावयुक्त हुन नसक्ने रहेछ। समृद्ध त होला, तर सुखी र खुसी हुन नसक्ने रहेछ अर्थात् समुन्नत नहुने रहेछ।

तसर्थ समुन्नत नेपाल निर्माण गर्ने हाम्रो यात्राको यो प्रथम पाइलामै विभेदयुक्त सामाजिक संरचनाका कारण युगौँदेखि पछाडि परेको जाति र समुदायसँग हातेमालो गर्दै सँगै हिँडाउने अठोट उदारता र कानुनको दृढ कार्यान्वयन गर्न सकियो भने मात्र हाम्रो भविष्य उज्यालो र द्वन्द्वमुक्त हुनेछ।

पछिल्ला घटनाक्रमको पृष्ठभूमिमा जातीय विभेदलगायत सबै विभेद अन्त्य गर्ने सम्बन्धमा राज्यको यो गुरुत्तर दायित्त्वभित्रको आफ्नो जिम्मेवारी मन्त्रीले नबुझेको मात्र होइन, आफ्नो भूमिकाले विभेदको अझ पक्षपोषण भएको नदेखियोस् भन्ने सामान्य शालीनतासमेत प्रदर्शन गर्न आवश्यक नठानेको बुझिन्छ।

सरकारले आफ्नो दायित्त्व बिर्सिएर द्वन्द्व चर्काउन गरेको यस्तो धृष्टताको विरोध गर्दै जातीय विभेदको घटनामा राज्यलाई सही ठाउँमा उभाउनुपर्ने त छ नै सँगै सबैखाले विभेदको अन्त्य भएको समाज निर्माण गर्न नागरिकलाई विभेद नगर्ने र विभेद नसहने नागरिकमा रूपान्तरणको सतप्रयास पनि गरिरहनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .