हिजोआज यहाँका सबै विद्यालय बन्द छन्। त्यसकारण हामी कोही पनि विद्यालय जाँदैनौँ। आ–आफ्नो घरमा अभिभावकलाई खेतबारीमा असारे मकै गोड्ने र घरायसी काममा सघाइरहेका छौँ।
अहिले खेतीपातीको मौसम चलिरहेको छ। म आफ्नो परिवारलाई सघाइरहेको छु। समय मिलाएर घरमै अलिअलि पढिरहेको पनि छु।
मैले विद्यार्थीको लागि रेडियो कार्यक्रमहरु सञ्चालनमा रहेको भन्ने सुनेको छु। तर हाम्रो गाउँका धेरैठाउँमा रेडियो राम्रोसँग टिप्दैन। अनि टिप्ने ठाउँमा गएर गाउँका बालबालिकालाई रेडियो सुनेर बस्नका लागि समय मिलाउन पनि गाह्रो छ।
मैले मात्र होइन, मेरा साथीहरुले पनि त्यस्तै समस्या भोगिराख्नुभएको छ। यदि अहिले विद्यालय खुलेको हुन्थ्यो र हामी नियमित विद्यालय गएका हुन्थ्यौँ भने अभिभावकले पढ्नका लागि आफूले काम गरेरै भए पनि समय मिलाइदिनुहन्थ्यो।
तर, स्कुल बन्द भएको हुँदा अभिभावकहरु हामीले घरको काममा सघाइदिए हुन्थ्यो भन्ने अपेक्षा गर्नुहुन्छ। यसरी कामतिर लाग्दा पढाइमा त्यति समय दिन सकिएको छैन। साथै रेडियो कार्यक्रमका लागि समय व्यवस्थापन गर्न पनि गाह्रो भएको छ।
अहिलेको परिवेशमा यसले हाम्रो पढाइमा धेरै असर परेको छ। नियमित अध्ययन कार्यमा धेरै बाधा उत्पन्न भएको छ। गत वर्ष लकडाउन अवधिमा शिक्षकहरु हामीलाई टोलमा पढाउनका लागि घरमै आउनुहुन्थ्यो तर यसपालि कोही पनि शिक्षक गाउँघरमा देखिनुहुन्न।
उहाँहरु अहिलेसम्म हाम्रो पढाइबारे बुझ्नका लागि आउनुभएको पनि छैन। यदि हाम्रो गाउँघरमा टोल शिक्षा सुरुवात भएको भए हामीजस्ता बालबालिकाहरुलाई एसईई परीक्षामा सहयोग हुन्थ्यो तर यस लकडाउनले हाम्रो विद्यालयको पठनपाठन कार्य प्रभावित हुनुका साथै पूरा पनि हुनसकेको छैन।
हाम्रो गाउँघरमा सहरमा जस्तो कोरोनाको संक्रमण भयावह नभएकाले पनि भौतिक दूरी कायम गर्दै टोलमा सुरक्षाका उपायहरु अपनाएर टोल कक्षा तथा उपचारात्मक कक्षाजस्ता कार्यक्रमहरु सञ्चालन गर्न पनि सकिन्थ्यो होला।
यदि शिक्षकहरुले नियमित रुपमा हामीलाई वा हाम्रा अभिभावकलाई पढाइका बारेमा सोध्ने र पढाइलाई निरन्तरता दिन सम्झाउने बुझाउने गरेको भए यसले हामीलाई पढाइ निरन्तरता दिन मद्दत पुग्थ्यो।
अभिभावकले पनि हामीलाई पढ्न समय मिलाइदिनुपर्छ भन्ने बुझ्नुहुन्थ्यो होला। अहिलेको लकडाउनले हाम्रो पढाइमा धेरै नै घाटा भइरहेको छ।
यदि गाउँपालिकाको समन्वयमा वैकल्पिक सिकाइ आदानप्रदानको वातावरण पाएको भए हामीजस्ता विद्यार्थी तथा बालबालिकाहरुलाई उत्प्रेरित गर्न सहयोग हुने थियो। साथै रेडियोबाट पनि पढ्न सकिन्छ भन्ने जनचेतनामूलक कार्यक्रम भइदिएको भए अभिभावकहरुले हाम्रो पढाइको लागि समय व्यवस्थापन गर्नुहुन्थ्यो।
गत वर्षजस्तै यदि हामी विद्यालयको आन्तरिक परीक्षाका आधारबाट एसईई लिइयो भने विद्यार्थीको वास्तविक सिकाइ उपलब्धि तथा प्रगति थाहा पाउन सक्दैनौँ। यसका साथसाथै हाम्रो गाउँ एसईई तथा उच्च शिक्षा पास गरेका अग्रज दाइदिदीहरु पनि हुनुहुन्छ।
गाउँपालिकाले नेतृत्व लिएर उहाँहरुलाई सुरक्षाका उपायहरु अपनाएर पनि सानो कक्षाका बालबालिकाको पठनपाठनमा मद्दत पुर्याउन सकिन्छ। नत्र यो लकडाउनले यस वर्षको समयमात्र नोक्सान नभई बालबालिकालाई पछिसम्म असर पार्नेछ।
भौतिक दूरी कायम गरेर तथा सुरक्षा सर्तकता अपनाएर गाउँपालिकाले हाम्रो पढाइलाई निरन्तरता दिएको भए राम्रो हुने थियो। म नेपाल सरकार तथा स्थानीय सरकारलाई अनुरोध गर्न चाहन्छु कि यस लकडाउनले बालबालिकालाई पारेको असरलाई सम्बोधन गर्ने गरी के कस्ता योजना बनाइँदै छ?
अहिले बन्दै गरेका नीति तथा कार्यक्रममा हाम्रा समस्या समाधान गर्ने गरी के कस्ता योजना बनाउने सोच्नुभएको छ?
यस विषम परिस्थितिमा रेडियो कार्यक्रम तथा रेडियोबाट वैकल्पिक सिकाइ एउटा महत्वपूर्ण बाटो हो जसका लागि हामीलाई रेडियोको उपलब्धता आवश्यक छ।
यसबाट शतप्रतिशत सिक्न नसके पनि हाम्रो सिकाइले थोरै मात्रामा भए पनि निरन्तरता पाउने थियो कि!
कुशेजस्तो विकट गाउँपालिकामा हामीलाई दुईवटा महत्वपूर्ण चुनौती छ। एउटा, प्रभावकारी सञ्चारसेवा र अर्को, वैकल्पिक शिक्षाका लागि अनलाइन कक्षाहरु।
यी दुवैका लागि हाम्रो गाउँमा राम्रोसँग नेटवर्क उपलब्ध छैन। जसले यस लकडाउनमा विद्यार्थीहरुलाई सिक्नका लागि उपयुक्त वातावरण दिन सकोस्! हाम्रो गाउँठाउँमा फोन तथा रेडियोका टावरहरु बन्दै त छन् तर बनेर पनि लामो बितिसक्दा पनि सञ्चालनमा आउनसकेका छैनन्।
यदि मोबाइल नेटवर्क भइदिएको भए आफूले नजानेको वा स्पष्ट हुन नसकेका कुरा अरु साथी वा शिक्षकलाई सोधेर पढ्न सकिन्थ्यो होला...
(१७ वर्षीय लक्ष्मण जाजरकोट जिल्लास्थित एक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन् ।)
प्रतिक्रिया