नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालीहरूलाई दसैंको शुभकामना दिँदै रेशम फिरिरी गीत गाएको भिडिओ ट्विटरमा राखिन्। सामान्यतया नेपालीको महान् चाड दसैंको शुभकामना भनेर सन्देश प्रवाह गर्ने चलन पुरानै हो। तर पुरानो नेपाली लोकप्रिय गीत राजदूत आफैँले गाएर दसैंको शुभकामना दिनु नौलो र अनौठो तरिका भएर होला, यसले नेपाली सञ्चारमाध्यममा राम्रै ठाउँ पायो।
विभिन्न सांस्कृतिक नृत्यमा सहभागी भएर नेपालीको मनमा बस्न सफल चिनियाँ राजदूत होउ यान्छी पूर्ववर्ती चिनियाँ राजदूतभन्दा निकै भिन्न ढंगले प्रस्तुत भइरहेकी छन्। राजदूत भएर नेपाल पुगेको केही समयमै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा उनले नृत्य गरेको भिडिओ चर्चित भएको थियो। उनी नेपालमा रहेका राजदूतमध्ये सम्भवतः धेरै अन्तर्वार्ता दिने तथा लेख लेख्नेमा पनि पर्छिन्। ‘ट्र्याक टु डिप्लोमेसी’ पनि अपनाएकी चिनियाँ राजदूत होउ छोटै समयमा ट्विटरमा उल्लेख्य फलोअर बटुल्न सफल भएकी छन्।
— Ambassador Hou Yanqi (@PRCAmbNepal) October 26, 2020My colleagues and I kept practicing this Nepali song Resham Firiri and finally we've made it! May this song bring all of you good luck and happiness!
मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस! pic.twitter.com/wpURDziSrO
उनले २०१९ जुनदेखि मात्र ट्विटर चलाउन थालेकी हुन्। तर ट्विटरमा राजदूत होउ लाई पछ्याउनेको संख्या ४८ हजार ८ सय पुगिसकेको छ। उनले ट्विटरलाई नेपाली नागिरकसँग अन्तरक्रिया गर्ने थलोका रूपमा पनि उपयोग गरेकी छन्। उनले सामान्य तर सीधै सर्वसाधारणसँग सम्बन्ध राख्ने कुरा पनि ट्विट गर्ने गरेकी छन्। काठमाडाैँमा चिनियाँ चलचित्र महोत्सव भइरहेका बेला उनले आफूलाई फलो गर्नेहरूलाई निःशुल्क टिकट दिने भनेर ट्विट गरेकी थिइन्। काठमाडौंका विभिन्न सांस्कृतिक सम्पदा झल्किने गरी आफ्नो तस्बिरसहित ट्विट गरेर उनले नेपालीको मन जितेकी थिइन्।
धेरैलाई लाग्दो हो- चिनियाँ राजदूत होउको ट्विटर मोह नितान्त व्यक्तिगत चाहना र रहर मात्र हो। तर चिनियाँ कूटनीतिज्ञका लागि पछिल्लो समय ट्विटर यतिमा मात्र सीमित नभएर कूटनीतिक औजारसमेत हुन थालेको छ। विश्वलाई आफ्नो देशका नीति, कार्यक्रम, विचार, टिप्पणी तथा कुनै जानकारी गराउन धेरैजसो देशमा कार्यरत चिनियाँ कूटनीतिज्ञले ट्विटर नै प्रयोग गर्न थालेका छन्। अर्को शब्दमा यसलाई ‘चिनियाँ ट्विटर डिप्लोम्यासी’ भन्दा फरक पर्दैन।
— Ambassador Hou Yanqi (@PRCAmbNepal) December 31, 2019True beauty always touches the deep heart. Beautiful Nepal with history, diversity and nature deserves a visit. Wish #VisitNepal2020 successful! @yogesbhattarai
२०२० नेपाल भ्रमाण वर्ष सफलताको शुभकामना ! pic.twitter.com/uXXnYWu7Iv
सन् २००६ मा अमेरिकाबाट सुरु भएको सामाजिक सञ्जाल ट्विटर विशेषतः बौद्धिक अन्तरक्रियाका लागि लोकप्रिय चौतारो मानिन्छ। चीनले सन् २००९ मा ट्विटरमा प्रतिबन्ध लगाएकाले यहाँ ट्विटर अकाउन्ट खोल्न भिपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्नुपर्छ। यसले सम्बन्धित देशको इन्टरनेट गेटवेलाई बाइपास गरी अन्यत्रको गेटवे उपलब्ध गराउँछ। तसर्थ कम्प्युटर अथवा मोबाइल फोनमा भीपीएन जोडेपछि मात्र चीनमा फेसबुक, ट्विटर, गुगल, युट्युब चलाउन सम्भव हुन्छ।
चीनमा फेसबुकको ठाउँमा विच्याट, ट्विटरको ठाउँमा विइपो, गुगलको ठाउँमा पाइतु र युट्युबका ठाउँमा यौखु चलाइन्छ। चीनमा बस्ने विदेशी र उनीहरूसँग सम्पर्क गर्ने चिनियाँ नागरिकका लागि भने फेसबुक, ट्विटर, गुगल र युट्युब अनिवार्य आवश्यकताजस्तै हुन्। तसर्थ भीपीएनको व्यापार पनि चीनमा फस्टाएको छ।
चीनमा फेसबुक प्रतिबन्धित भए पनि पछिल्लो समय सरकार नियन्त्रित सञ्चारमाध्यमलाई फेसबुकका सामग्री प्रचारप्रसार गर्न उत्प्रेरित गर्न थालिएको छ। त्यसैगरी चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीले महत्वपूर्ण प्रोपोगान्डा टुल्सका रूपमा ट्विटर प्रयोग गर्न थालेका छन्।
अहिले विश्वमा सबैभन्दा धेरै देशमा कूटनीतिक नियोग भएको र सबैभन्दा धेरै कूटनीतिज्ञ भएको देश पनि चीन हो। बीबीसीले सन् २०१९ नोभेम्बरमा अस्ट्रेलियन थिंकट्यांक लोवी इन्स्टिच्युटलाई उद्धृत गर्दै जनाएअनुसार सन् २०१९ देखि कूटनीतिक नियोग र कूटनीतिज्ञको संख्यामा चीनले अमेरिकालाई उछिनेर विश्वमा पहिलो स्थान लिएको छ। दोस्रोमा अमेरिका छ भने तेस्रोमा फ्रान्स, चौथोमा जापान र पाँचौंमा रुस छन्। सन् २०१६ सम्म पहिलो स्थानमा अमेरिका र दोस्रोमा फ्रान्स थियो। त्यसपछि मात्र चीन थियो।
त्यसबेला चीनका कूटनीतिक नियोग २६७ वटा थिए भने अमेरिकाका २ सय ७१ वटा थिए। तीन वर्षमै चीनले आफ्ना नियोगको संख्या बढाएर २७६ पुर्याएको हो भने अमेरिकाले अहिलेसम्म २७३ वटामै सिमित गरेको छ। यतिबेला विश्वभर चीनका हजारभन्दा बढी कूटनीतिज्ञ छन्। सुधार र खुलापन आत्मसात् गरेको चीनले कूटनीतिलाई पनि परिमार्जन गरिरहेको छ।
सन् २०१९ मार्च ८ तारिख बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्रमन्त्री वाङ यीले आफ्नो देशले सुनिने कूटनीति पनि अँगाल्न थालेको संकेत गरेका थिए। १४औं राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनमा चिनियाँ कूटनीतिको व्याख्या गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पश्चिमा मुलुकका केही पत्रकारले सोधेका थिए, ‘क्यानाडा, स्विडेन तथा अमेरिकाका लागि चिनियाँ राजदूतले कडा अभिव्यक्ति दिइरहेका छन्, चीनको कूटनीति अब परिवर्तन भएको हो त?’
जवाफमा मन्त्री वाङले भने, ‘हामी कडा हुन्छौं तर आक्रामक होइन। चीन सबै मुलुकको सार्वभौमिकताको सम्मान गर्छ।’
चीनले अरू मुलुकको जस्तो सुनिने होइन, देखिने कूटनीति अपनाइरहेको थियो। बोलेर होइन, गरेर देखाउने चीनको चरित्रलाई देखिने कूटनीति भनिएको हो। तर केही वर्षदेखि चीनले देखिनेसँगै सुनिने कूटनीति पनि अपनाउन थालेको स्पष्ट हुन्छ। यहीअन्तर्गत चीनले आफ्नो कुटनीतिमा ट्विटर फेसबुक लगायत सामाजिक सञ्जालको आक्रामक प्रयोग अगाडि बढाएको देखिन्छ।
पछिल्लो समय चिनियाँ कूटनीतिज्ञले चीनविरुद्ध भएका साइबर हमलाको विरोध गर्ने, बीआरआई अभियान तीव्र बनाउने, आफ्नो मुलुकको सार्वभौमिकता रक्षाका लागि आक्रामक रूपमा प्रस्तुत हुने, राष्ट्रिय हितको खुलेर प्रतिरक्षा गर्ने, चीनविरुद्धका अफवाहको डटेर सामना गर्नेजस्ता कुरा ट्विटरबाट गर्ने गरेका छन्।
पश्चिमा मुलुकमा चिनियाँ नीति पुर्याउने, जनकूटनीतिलाई प्रवर्द्धन गर्ने, ह्वाह्वे र व्यापार युद्धमा चीनविरुद्ध भएका अपमान पर्दाफास गर्ने, चिनियाँ सहयोग तथा लगानीमा सञ्चालित परियोजनाको प्रवर्द्धन गर्ने, नयाँ पुस्ता विशेषगरी विद्यार्थी वर्गमा चिनियाँ संस्कृति र चीनप्रतिको बुझाइ विस्तार गर्न ट्विटर पहिलो औजार बन्न थालेको छ।
सांस्कृतिक क्रान्तिताका (सन् १९६६ देखि १९७६ सम्म) चिनियाँ नागरिकमा पश्चिमा समाजप्रति व्यापक घृणा व्याप्त थियो। तसर्थ उनीहरू अंग्रेजी भाषालाई पनि बहिष्कार गर्थे। अहिले विश्वको पहिलो अर्थतन्त्र बन्ने दौडमा रहेको चीनले भने अंग्रेजी भाषालाई प्राथमिकतामा राखेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रायः कर्मचारी अंग्रेजी भाषामा पोख्त हुन थालेका छन्। सबै देशका लागि नियुक्ति लिएका चिनियाँ राजदूतले फरर्र अंग्रेजी बोल्न सक्ने पुस्ता विकास भइसकेको छ भने अब प्रायः चिनियाँ राजदूतले ट्विटर पनि चलाउन थालेका छन्।
चिनियाँ परराष्ट्र मन्त्रालय, प्रवक्ताको कार्यालयले सन् २०१९ अक्टोबरदेखि अफिसियल ट्विटर चलाउन थालेको छ। जसलाई पछ्याउनेको संख्या २ लाख ९ हजार २ सय पुगेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले ट्विटर चलाउन थालेको एक वर्ष मात्र भयो। सन् २०१९ अक्टोबरमा ट्विटर खाता खोलेकी उनलाई पछ्याउनेको संख्या ६ लाख ६६ हजार ५ सय पुगेको छ। उनी सम्भवतः सबैभन्दा धेरै फलोअर भएकी चिनियाँ कूटनीतिज्ञ हुन्।
त्यसैगरी चाउ ली चियान (ट्विटरमा ली चियान चाउ) पनि धेरै ट्विटर चलाउने चिनियाँ कूटनीतिज्ञमा पर्छन्। चिनियाँ परराष्ट्र नीतिका महत्वपूर्ण कुरा, चिनियाँ नेताका महत्वपूर्ण सन्देश, चीनले अमेरिकालगायत मुलुकलाई दिएको प्रतिक्रियाकासँगै चीनका सरकारी सञ्चारमाध्यममा आएका महत्वपूर्ण समाचार उनी दिनहुँ ट्विट गर्छन्।
केही महिनाअगाडि मात्र चिनियाँ परराष्ट्र मन्त्रालयको प्रवक्ता बनेका चाउ यसअघि पाकिस्तानका लागि चिनियाँ दूतावासका नियोग उपप्रमुख थिए। ट्विटरमा उनलाई पछ्याउनेको संख्या ७ लाख ७४ हजार छ। चाउले सन् २०१० मेदेखि ट्वीटर चलाउन थालेका हुन्। उनी ट्वीटर चलाउने पुराना चिनियाँ कुटनीतिज्ञ मानिन्छन्।
बेलायतका लागि चिनियाँ राजदूत लिउ स्याओ मिङले २०१९ अक्टोबरदेखि मात्र ट्विटर चलाउन थालेका हुन्। उनलाई ट्विटरमा पछ्याउनेको संख्या ९२ हजार १ सय पुगेको छ। त्यसैगरी अमेरिकाका लागि चिनियाँ राजदूत छुइ थिआन खाईले पनि २०१९ जुनदेखि ट्विटर प्रयोग गर्न थालेका हुन्। एक महिनाअगाडि उनलाई ट्विटरमा पछ्याउनेको संख्या ८ हजार मात्र थियो तर अहिले त्यो संख्या ९४ हजार ३ सय नाघिसकेको छ। चीन र अमेरिकाबीच बढिरहेको विवाद र उनले दिनहुँ गर्ने ट्विटकै कारण एक महिनाभित्रै उनलाई पछ्याउनेको संख्या ह्वात्तै बढेको हो। भारतका लागि चिनियाँ राजदूत सुन वई तोङले २०१७ डिसेम्बरदेखि ट्विटर चलाउन थालेका हुन्। उनलाई ट्विटरमा पछ्याउनेको संख्या ७९ हजार ५ सय पुगेको छ।
भियाना सम्मेलनले मूलतः कूटनीतिज्ञका ५ कामको व्याख्या गरेको छ। ती ५ मुख्य बुँदामा- आफ्नो देशको प्रतिनिधित्व गर्नु, आफ्ना नागरिकको संरक्षण गर्नु, सम्बन्धित देशसँग वार्ता गर्नु, आफू राजदूत रहेको मुलुकको परिस्थिति र विकासको अवलोकन गरी आफ्नो देशलाई जानकारी गराउनु र दुई देशबीच आर्थिक, सांस्कृतिक र वैज्ञानिक सम्बन्ध विकास गर्नु कूटनीतिज्ञका अभिभारा हुन्। यी कार्य कूटनीतिमा ‘ट्र्याक वान डिप्लोम्यासी’ हुन् भने ‘पब्लिक डिप्लोम्यासी’ र ‘ट्र्याक टु डिप्लोमेसी’ पनि वर्तमान अवस्थामा कूटनीतिज्ञका लागि अपरिहार्य बनेका छन्।
अनि, चिनियाँ कूटनीतिज्ञले ‘पब्लिक डिप्लोम्यासी’ र ‘ट्र्याक टु डिप्लोमेसी’ का लागि ट्विटर प्रयोग गरिरहेका छन्। चिनियाँ राजदूत होउ यान्छीले दसैंमा दिएको ‘रेशम फिरिरी शुभकामना’ पनि यसैको एउटा राम्रो उदाहरण हो।
(आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)
Shares
प्रतिक्रिया