सेप्टेम्बर २७ का दिन इन्टरनेट बन्द भयो। पैसा तिर्न बिर्सेछु, त्यसैले काटियो होला भन्ने सोचेँ। दोस्रो दिनपनि इन्टरनेट नचलेपछि साथीहरुलाई सोधेँ। उनीहरुले राजनीतिक कारणले भने। त्यसैदिन नेपालबाट आमाको फोन आयो। अजरबैजान र अर्मेनियाबीच युद्ध भएछ के छ अवस्था भनेर सोध्नु भयो। त्यसपछि मात्रै बल्ल युद्ध भएको चाल पाएँ।
अन्य दिनको जस्तै त्यो दिनपनि काममै थिएँ। त्यसैले धेरै कुरा गर्न पाइनँ। म अजरबैजानको राजधानी बाकुमा बस्छु। म बस्ने होस्टेलमा कोरोना महामारीका कारण धेरै मान्छे छैनन्। एक्लै जस्तो छु। अहिले युद्ध भइरहेको क्षेत्र नागार्नो काराबाख पुग्न बाकुबाट मोटरमा ६ घण्टा लाग्छ।
दुई वर्षअघि उच्च शिक्षा अध्ययनको क्रममा म बाकु आएकी थिएँ। जुलाईमै पढाइ सकिएको हो। तर, कोरोना र अन्य कारणले फर्किन पाएकी छैन। डिसेम्बरसम्म अस्थायी बसोबासको अनुमति छ। अहिले भने यहाँ अंग्रेजी र गणित पढाउँदै छु।
यहाँ कहिले पनि इन्टरनेट काटिएको अनुभव थिएन। युद्ध सुरु भएको तीन दिनपछि बल्ल इन्टरनेट खुल्यो। तर साह्रै धिमा गतिमा चलिरहेको छ। सामाजिक सञ्जाल प्रयोगमाथि प्रतिबन्ध भने कायम नै छ। अहिले भीपीएन प्रयोग गरेर चलाउने गरेका छौं। पहिलेजस्तो सरल छैन। अन्तर्राष्ट्रिय समाचारहरु हेर्न पाएको छैन। सिमकार्डबाट फोरजी चलाउँदा पनि निकै स्लो छ। युट्युब पनि राम्ररी चल्दैन। परदेश बसाइमा धेरै कुरा इन्टरनेटमै निर्भर हुन्छ। नहुँदा उकुसमुकुस हुन्छ।
अहिले युद्ध सिमित क्षेत्रमा मात्रै छ। टर्की, इरान र रुसको बीचमा रहेको अर्मेनिया र अजरबैजान साना देश हुन्। अर्मेनियाको जनसंख्या ३० लाख मात्र छ। ९५ प्रतिशत जनसंख्या ईसाई हुन्। अजरबैजान पनि त्यति ठूलो मुलुक होइन। नेपालको एक तिहाइ अर्थात् एक करोड जनसंख्या छ। यहाँका ९९ प्रतिशत मानिस मुस्लिम धर्मावलम्बी छन्। तर दुवै देश धर्म निरपेक्ष छन्। अजरबैजानमा रुसी, टर्किस र स्थानीय भाषा बोलिन्छ। अंग्रेजी जान्ने मानिस कमै छन्। तर मानिस सहयोगी भएको कारण त्यति गाह्रो छैन।
नागार्नो काराबाखका विषयमा एक शताब्दी अघिदेखि विवाद चल्दै आएको छ। रुसी साम्राज्यबाट स्वतन्त्र भएपछि दुवै मुलुकले नागार्नो काराबाखमाथि दाबी गरे। सन् १९२० को दशकमा यो सिंगो क्षेत्र सोभियत संघअन्तर्गत परेपछि काराबाखलाई अजरबैजानअन्तर्गत राखियो।
सोभियत संघ विघटन हुँदा काराबाखलाई विश्वले अजरबैजानकै हिस्साको मान्यता दियो। तर, ४ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलको नागार्नो काराबाखमा बसोबास गर्नेमध्ये ९९ प्रतिशत बासिन्दा अर्मेनियाली मूलका छन्। यो द्वन्द्वको जड यही नै हो। अहिले त्यहाँ अर्मेनियाकै सहयोगमा सरकार सञ्चालनमा छ।
सोभियत संघको विघटन भएपछि नागोर्नो काराबाख क्षेत्रलाई लिएर पटकपटक युद्ध हुँदै आएको छ। दुवै देशले यो भूभागमाथि दाबी नछाडेपछि समस्या विवाद बल्झिने क्रम जारी छ।
पछिल्लो समयमा युद्ध सुरु भएपछि यहाँ घर, सडक, पसल, मोटर सबैतिर झण्डा देख्न सकिन्छ। अजरबैजानका साथै टर्कीको झण्डा पनिसँगै राखिएको हुन्छ। युद्धमा टर्कीले अजरबैजानलाई सहयोग गर्दै आएको छ। टर्कीले आवश्यक पर्यो भने सैनिक सहयोग पनि गर्ने जनाएको छ।
युद्ध सुरु भयो रे भन्ने सुन्दा निकै डर लागेको थियो। तर अहिले त्यस्तो छैन। सुरक्षा व्यवस्था निकै कडा बनाएको छ। आजदेखि मेट्रो बन्द गरिएको छ।
अजरबैजानका नागरिक सरकारी कदमसँग खुसी छन्। अर्मेनियाले अति गर्यो, अब कति सहने भन्ने भाव उनीहरुमा देखिन्छ। हामीजस्तो विदेशी विद्यार्थीहरुका लागि अरजबैजानको राष्ट्रिय दिवसलगायतका अवसरमा विश्वविद्यालयले कार्यक्रम राखेर आफ्नो इतिहास, संस्कृतिबारे जानकारी गराउने गरेको छ।
बाकुमा खासै नेपाली छैनन्। मैले १० भन्दा कम संख्यामा विद्यार्थीहरु भेटेको छु। नेपालबाट युरोप छिर्न अजरबैजान आउने नेपालीहरुलाई भने भेटेको छु। अजरबैजानबाट टर्की हुँदै युरोप छिर्नका लागि यहाँ आउँदा रहेछन्। तर कोरोना महामारी सुरु भएपछि त्यस्ता मानिस पनि भेटेको छैन। कोरोनाको कारण हिँडडुलमा सरकारले पहिलेदेखि नै नियन्त्रण गर्दै आएको छ। सरकारले यहाँ बसोबास गर्न दिएको अस्थायी नम्बर एसएमएस गरेपछि दुई घण्टाको लागि बाहिर जाने अनुमति पाइन्छ। प्रत्येक चोकहरुमा सुरक्षाकर्मीहरुलाई देखाउँदै हिँड्नु पर्छ। दुई घण्टाभन्दा बढी समय भयो भने जरिबाना तिर्नुपर्छ। तर हामी विदेशी भएको कारणले केही छुट पाउँछौं।
नेपाल फर्किन मन छ। तर, अहिले कोरोना र युद्धको कारण हवाई टिकट निकै महंगो भएको छ। अलि घट्छ कि भनेर पर्खी बसेका छौं। टर्की हुँदै आउन जान सकिने भएपनि हामी दुबई हुँदै जान्छौं। अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि छन्। उनीहरुले काटेको टिकट बारम्बार क्यान्सिल हुँदै आएको छ। अहिले त मलाई यताको युद्ध भन्दा नेपालमा फैलिएको कोरोना र सरकारले त्यसको नियन्त्रणमा चालेको कदमको कारण उत्पन्न परिस्थितिसँग बढी डर लागेको छ। त्यही भएर डिसेम्बरसम्मको अवस्था हेरौँ भन्ने मनस्थितिमा पुगेकी छु। घरबाट भने दैनिक जस्तो फर्किहाल भन्ने दबाब छ।
अजरबैजानलाई मस्कोमा रहेको नेपाली दूतावासले हेर्छ। तर दूतावास सहयोगी छैन। हामीले लेखेको इमेलको जवाफ नै दिँदैन। नेपालमा घर परिवारमा भने निरन्तर रुपमा सम्पर्क हुने गरेको छ। दैनिक रुपमै कुराकानी गर्ने गरेकी छु।
(बाकुस्थित अजरबैजान स्टेट युनिभर्सिटी अफ इकोनोमिक्समा अध्ययन सकेर उतै रहेकी दर्शना गुरुङसँग मणि दाहालले गरेको कुराकानीमा आधारित)
Shares
प्रतिक्रिया