ad ad

ब्लग


कोरोनाबाट जोगिन मोबाइल एपको संकेतबाट यसरी चल्छन् चिनियाँ

कोरोनाबाट जोगिन मोबाइल एपको संकेतबाट यसरी चल्छन् चिनियाँ

चेतनाथ आचार्य
कात्तिक ३, २०७७ सोमबार १६:३६,

चीनको पूर्वमा पर्ने सानतोङ प्रान्तको छिङताओ सहर समुद्रसँग जोडिएको प्रख्यात् पर्यटकीय स्थल हो। केही दिनअगाडि त्यहाँका १२ चिनियाँ नागरिकमा कोरोना संक्रमण देखियो। त्यसपछि चीनले जुन योजना ल्यायो, त्यसले विश्वमा एक किसिमको तरंग पैदा गराएको छ।

झन्डै ३ महिनादेखि चीनमा स्थानीयस्तरमा कोरोना संक्रमण देखिएको थिएन। दैनिक देखिने संक्रमित अन्य देशबाट चीन फर्किएका व्यक्ति थिए। जसलाई चीनमा आयातीत संक्रमण भनिन्छ। छिङताओमा एकैचोटि १२ व्यक्तिमा संक्रमण देखियो, जो सबै स्थानीय बासिन्दा थिए।

यसपछि चीनले कोरोना संक्रमण पत्ता लगाउन ५ दिनभित्र त्यस सहरका सबै ९० लाख नागरिकको स्वास्थ्य परीक्षण गर्ने योजना सार्वजनिक गरेपछि विश्व आश्चर्यमा परेको हो। अमेरिकी खाद्य तथा औषधी अनुगमन एवं व्यवस्थापन ब्युरोका पूर्वनिर्देशक स्कोट गोटलिबले अक्टोबर १३ तारिख अमेरिकी उपभोक्ता समाचार तथा व्यापार च्यानललाई अन्तर्वार्ता दिँदै भनेका छन् ‘चीनले महामारी फेरि फैलिनबाट जोगाएको छ। अमेरिकाले यस्तो गर्न सक्दैन र ऊसँग गर्ने क्षमता पनि छैन।’

त्यसैगरी सीएनएनले चीन सरकारले छोटो समयमा छिङताओका ९० लाख नागरिकको स्वास्थ्य परीक्षण गरेर सफल कदम चालेको जनाएको छ। बीबीसीले पनि चीनसँग महामारी नियन्त्रण गर्ने क्षमता रहेको उल्लेख गरेको छ। जापानी पत्रिका द जापान टाइम्सले पनि यस विषयमा चीनको प्रशंसा गरेको छ।

कोरोना महामारी नियन्त्रणमा चीनले अपनाएका तौरतरिकालाई चीनकै कटु आलोचकले समेत मुक्तकण्ठले प्रशंसा गरेका छन्। गत फेब्रुअरीमा हुपेई प्रान्तको सदरमुकाम वुहान सहर कोरोना महामारीले आक्रान्त बनेका बेला बीबीसी र सीएनएनजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यम चीनको खेदो खनिरहेका थिए। नागरिकको मानव अधिकार हनन गरेको र जबर्जस्ती घरबाट क्वारेन्टिनमा पठाएको आरोप उनीहरूले लगाइरहेका थिए। त्यतिबेला तिनले कोरोना आफ्ना ठाउँमा कहिल्यै आइपुग्दैन भनेजसरी समाचार दिइरहेका बेला चीन एक्लै महामारीसँग पौंठेजोरी खेलिरहेको थियो।

अहिले अवस्था उल्टो छ। चीनमा लगभग कोरोना नियन्त्रण भइकेको छ भने विश्वका बाँकी मुलुक आक्रान्तकै अवस्थामा छन्। जर्मनी र फ्रान्सजस्ता देश कोरोना नियन्त्रणका लागि कर्फ्यु लगाउन बाध्य भइरहेका छन्। तर चीनले जम्मा १२ संक्रमित फेला पर्नेबित्तिकै पूरै सहरका नागरिकको स्वास्थ्य परीक्षण गर्दैछ। त्यसो त गत अप्रिलमा पनि चीनले वुहानका सबै एक करोड १० लाख नागरिकको स्वास्थ्य परीक्षण गराएको थियो। 

कोरोना महामारीसँग जोडिएको अर्को विषय हो– अर्थतन्त्र। यतिबेला विश्वकै अर्थतन्त्र तहसनहस अवस्थामा छ। चीनको अर्थतन्त्र भने अहिले अंग्रेजी भी अक्षरको आकारमा चल्दै छ। चालु वर्षको सुरुमै कोरोना देखिएकाले पहिलो त्रैमासिकमा चिनियाँ अर्थतन्त्र तल्लो बिन्दुमा पुगेको थियो। अहिले यहाँको अर्थतन्त्र पहिलेकै अवस्थामा फर्किएकाले यसलाई अंग्रेजी भी अक्षरको आकारमा चलेको मानिन्छ।

अक्टोबर १३ तारिख बेलायतको ‘फाइनान्सियल टाइम्स’ पत्रिकाले ‘विश्व अर्थतन्त्रको पुनरुत्थान असन्तुलन’ शीर्षकमा कोरोना महामारी नियन्त्रणमा चीनको अनुभवले विश्व अर्थतन्त्र पुनरुत्थानका लागि उत्तम बाटो देखाएको उल्लेख गरेको छ। कोरोना भाइरस महामारी फैलिएपछि विश्व अर्थतन्त्रमा गिरावट आएको तर चीनलगायतका केही पूर्वी–एसियाली आर्थिक समूहले महामारी नियन्त्रण गर्नाका साथै वित्तीय र मौद्रिक कदम चालेर विश्व अर्थतन्त्रमा उत्साह थपेको बताइएको छ। चालु वर्ष विश्वमा चीनको अर्थतन्त्र मात्र वृद्धितर्फ जाने घोषणा अन्तर्राष्ट्रिय मुद्रा कोषले गरिसकेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले अक्टोबर १३ तारिख ‘विश्व आर्थिक आउटलुक प्रतिवेदन’ सार्वजनिक गर्दै चालु वर्ष सन् २०२० मा विश्व अर्थतन्त्रमा ४.४ प्रतिशत गिरावट आउने जनाएको छ। चीनको अर्थतन्त्रमा भने १.९ प्रतिशत वृद्धि हुने आकलन गर्दै विश्वमा आर्थिक वृद्धि हुने एक मात्रै आर्थिक समूह चीन हुने कुरा प्रतिवेदनमा उल्लेख छ। चीनले विश्व व्यापारलाई गत जुन महिनादेखि सक्रिय बनाएको र सन् २०२१ मा चीनको अर्थतन्त्रमा ८.२ प्रतिशत वृद्धि हुने अनुमान कोषले गरेको छ।

आठ वर्षयता चिनियाँ अर्थतन्त्र ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छैन। चीनले स्थिर आर्थिक वृद्धिदर र गुणस्तरीय विकासलाई उच्च प्राथमिकतामा राख्दै अर्थतन्त्रलाई ‘न्यु नर्मल’ लिकमा ल्याउने प्रयास गरिरहेको छ। महामारीको प्रकोपपछि चिनियाँ अर्थतन्त्रमा ८ वर्षपछिकै उच्च वृद्धिदर हुने अनुमानले विश्व अर्थतन्त्रमा आशा जगाएको छ। विश्वका सबैभन्दा ठूला आर्थिक समूहमा सशक्त निर्यात र कोरोना महामारीको प्रभावकारी नियन्त्रण गरेकाले चीनको अर्थतन्त्र पुनरुत्थान भएको मानिन्छ।

आखिर चीनसँग त्यस्तो के जादुको छडी छ त? कोरोना नियन्त्रणमा चीनले चालेका कदमका विषयमा कडा आलोचना गर्नेहरू नै अहिले किन चीनकै विधि अपनाउन थालेका छन्?

चालु वर्षको सुरुमै पहिलोपटक हुपेई प्रान्तको सदरमुकाम वुहानमा कोरोना संक्रमण देखापरेको थियो। परम्परागत चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाड जनवरी २५ तारिख सुरु हुँदै थियो। जसका लागि जनवरी २४ तारिखदेखि एक साता लामो बिदा दिइएको थियो। यस अवधिमा चीनभित्र आवातजावत गर्नेको संख्या ३ अर्ब हाराहारीमा हुने गर्छ। यस्तो अवस्थामा कोरोना भाइरस एक–दुई दिनमै चीनका सबै क्षेत्रमा पुग्न सक्ने कुरालाई ध्यानमा राखेर चीनले जनवरी २४ तारिखदेखि हुपेई प्रान्त र आसपासका क्षेत्रलाई लकडाउन गर्‍यो।

चीनभरिका मुख्य पर्यटकीय क्षेत्रलाई तुरुन्तै बन्द गरेर व्यापक रूपमा जनचेतना फैलाउने काम चीनले गर्‍यो। कोरोनाको इपिसेन्टर मानिएको वुहानमा चीनका विभिन्न क्षेत्रबाट ४० हजारभन्दा बढी स्वास्थ्यकर्मी खटाइए। कोरोना संक्रमितको उपचारका लागि १० दिनमै हजार बेड र १५ सय बेडका दुईवटा भव्य अस्पताल बनाइए।

कोरोना नियन्त्रणमा मूलतः चीनका सबै अंग परिचालित भए। सरकारी कर्मचारी, जनमुक्ति सेना, चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ता, स्वास्थ्यकर्मी, स्वयंसेवकलाई संक्रमण फैलिएका क्षेत्रमा तुरुन्तै पठाएर प्रभावकारी रूपमा कोरोना संक्रमितको उपचार तथा संक्रमण नियन्त्रण थालियो। लकडाउन गरिएका क्षेत्र र कोरोनाको इपिसेन्टर मानिएको वुहानमा बन्दी बनेका नागरिकका लागि दैनिक उपभोग्य वस्तु आपूर्तिका लागि चुस्त र दुरुस्त व्यवस्था गरियो।

यति मात्र होइन, संक्रमण फैलिएका क्षेत्रमा चीनले कडाइसाथ दण्ड व्यवस्था पनि लागू गरेको थियो। चिनियाँ कम्युनिस्ट पार्टीले फेब्रुअरीको पहिलो सातामै हुपेई प्रान्तका पार्टीसचिव चियाङ छाओलिङ र वुहान नगरका पार्टीसचिव मा कुओछ्याङलाई हटायो। चियाङ सन् २०१७ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनबाट केन्द्रीय सदस्य र मा वैकल्पिक केन्द्रीय सदस्य चुनिएका थिए। कोरोना महामारीपछि वुहानमा राम्रो सेवा नदिएको भन्दै स्थानीय रेडक्रस सोसाइटीका सबै उच्च तहका अधिकारी पनि बर्खास्त गरिए।

गत जुन महिनाको मध्यमा बेइजिङको फङथाई जिल्लास्थित सिनफाती बजारमा एकाएक १ सय ५० व्यक्तिमा कोरोना फैलियो। सिनफाती बेइजिङका सामुद्रिक जीवको ठूला मासु बजारमध्ये एक हो। अप्रिलदेखि नै महामारी नियन्त्रण भइसकेको अवस्थामा एकाएक ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि चीनले सिनफाती बजारलाई तुरुन्तै बन्द गरायो।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी ४ हजारभन्दा बढी व्यक्तिलाई आइसोलेसनमा राखेर कोरोना परीक्षण गरियो। त्यति मात्र होइन, सिनफाती बजार व्यवस्थापन समितिका सबै व्यक्तिलाई पदमुक्त गरियो। सो क्षेत्र हेर्ने चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीलाई पनि कारबाही गरियो। चीन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड लागू नगरेको भन्दै उनीहरूलाई कारबही गरिएको थियो।

प्रशासनिक क्षेत्रमा दण्ड र पुरस्कारको सिद्धान्तलाई सबैभन्दा बढी चीनले प्रयोग गरेको छ भन्ने कुरा उल्लिखित उदाहरणले प्रस्ट पार्छन्। नेपालमा त अपराध गर्नेलाई पनि पुरस्कृत गरिन्छ। दण्डहीनताले गर्दा नै नेपालका कुनै पनि क्षेत्रमा काम हुन नसकेका हुन्।

चीनमा कोरोना संक्रमणको शंका हुनासाथ अत्यन्त कडा खालको क्वारेन्टिनको व्यवस्था छ। घरभित्र बसेका व्यक्ति बाहिर निस्कन पाउँदैनन्। क्वारेन्टिनमा बस्नेलाई खाने पिउनेलगायतका अत्यावश्यकीय वस्तु सुरक्षित तरिकाले बसेकै ठाउँमा आपूर्ति गरिन्छ। स्वास्थ्य जाँचका लागि बाहिर निस्कनु परे स्थानीय प्रशासनको स्वीकृति लिनुपर्छ। आफ्नावरिपरी कुनै पनि प्रहरी अथवा सरकारी प्रशासन छैन भनेर आँखा छलेर निस्कने अवस्था हुँदैन। क्वारेन्टिन स्थलको ढोकामा एक प्रकारको म्याग्नेटिक चिप्स जडान गरिएको हुन्छ। जसले ढोका खोलेको र व्यक्ति बाहिर निस्किएको जानकारी तुरुन्तै स्थानीय प्रशासनलाई दिने गर्छ। खाना ल्याउने व्यक्तिले ढोका खोलेको भए कुन दिन, कति बजे खोलेको हो, सबै विवरण सफ्टवेयरले अध्यावधिक गरिरहेको हुन्छ।

कोरोना महामारी फैलिएपछि चीनका हरेक व्यक्तिले मोबाइल फोनमा आफ्नो स्वास्थ्य विवरण दिने एप स्टल गरेकै हुनुपर्छ। जसमा आफ्नो मोबाइल नम्बर हालिसक्दा तीन प्रकारका कोड प्राप्त हुन्छन्। हरियो कोडले सुरक्षित रहेको संकेत गर्छ। कुनै पार्क, कार्यालय, विमानस्थल, बजार, रेलवे स्टेसन आदि ठाउँमा जान हरियो कोड प्राप्त गर्नुपर्छ। पहेंलो कोडले संक्रमितसँग भेटघाट भएकाले संक्रमण हुन सक्ने शंका जनाउँछ र तत्काल क्वारेन्टिनमा जानुपर्ने हुन्छ। रातो कोड आयो भने संक्रमित भइसकेको बुझाउँछ, जसलाई तुरुन्तै अस्पताल लगेर उपचार गराइन्छ।

(आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .