कोरोना कालमा नचिताएका मानिसहरु डेटिङबारे सल्लाह दिइरहेका छन्। न्युयोर्कका मेयर बिल डे ब्लाजियोले चुम्बन त्याग्नु बुद्धिमानी हुने बताए। देशभरका स्वास्थ्य अधिकारीहरुले हामीलाई सम्झाइरहेका छन्– ‘सबैभन्दा सुरक्षित यौनसाथी भनेको आफैँ हो।’ प्रेमको खोजी गरिरहेकाहरुलाई डा. एन्थोनी फाउचीको सल्लाह छ, ‘मास्क लगाउनुस् र एकछिन कुरा गर्नुस्।’
यस्ता पवित्र सल्लाहका बाबजूद मानिसहरु डेटिङ गरिरहेका छन्। शनिबार मैले पनि एक जना रमाइला बेलायतीसँग खाना खाएँ। बिहीबार एक सुन्दर सिनेम्याटोग्राफरसँग भेट गरेँ। तर, यी सबै भेट भिडियो कन्फ्रेन्सिङ एप जुममा भएको थियो।
डेटिङको संख्यामा वृद्धि भइरहेको छ। मात्र यो अहिले भर्चुअल भएको हो। सामाजिक दूरीको नियम लागू भएपछि डेटिङ एप द लिगका प्रयोगकर्ता एक सातामै दोब्बर भएका छन्। अर्को एप हिन्जमा मेसेज आदानप्रदान ३० प्रतिशतले बढेको छ। त्यस्तै ओकेक्युपिड एपमा भिडियो डेट गर्नेहरुको संख्या चार गुणाले बढेको छ।
महामारीको यो बेला कसैले अविवाहित वा एक्लै छु भन्यो भने सुन्नेले चरम प्रतिक्रिया जनाउने सम्भावना हुन्छ। किन्जी इन्स्टिच्युटले केही समयअघि गरेको अध्ययनअनुसार यति बेला सबै मानिसले एक्लो महसुस गरिरहेका छन्। तीमध्ये पनि अविवाहित र एकल व्यक्तिहरु चरम एक्लोपनमा छन्।
‘हरेक संकटले सम्बन्धको गतिलाई तीव्रता दिन्छ,’ साइकोथेरापिस्ट एस्थर पेरेल भन्छिन्। यसबेला दरार उत्पन्न भएका विवाह सम्बन्धविच्छेदतर्फ जान्छन्। युवा प्रेमीहरु तेस्रो पटकको डेटिङपछि नै सँगै बस्न राजी हुन्छन्। र, एकल व्यक्तिले पनि महसुस गर्छन्– म एक्लै मर्न चाहन्नँ। कमसेकम मलाई चाहिँ यस्तो महसुस भयो।
स्वभाविक थियो, म पनि आत्तिएँ। मैले आफ्ना एक पूर्वप्रेमीलाई फोन गर्नेबारे विचार गरेँ र गरेँ पनि। मलाई धोखा दिएका मानिसहरुको मेसेजको जवाफ पनि दिएँ। त्यसपछि मास्क लगाएका एक साथी, जसको रोमान्टिक प्रस्तावलाई एक वर्षअघि मैले अस्वीकार गरेकी थिएँ, को फोटो हेरेर विचार गरेँ– यही मान्छेसँग बिहे गरे कसो होला? अन्ततः मैले आफ्नी आमालाई फोन गरेर भनेँ, अब नातिनातिना खेलाउन रहर नगर्नुहोला। हो, केही हदसम्म म मजाक गरिरहेकी थिएँ।
म जहाँ छु, त्यहाँ खुसी छैन भन्ने होइन। एक दशकसम्म अनेकौँ सम्बन्धमा बसिसकेपछि र मेरो प्रजनन् क्षमता कायम राख्न १५ हजार डलर तिरेर डिम्ब सुरक्षित गरिसकेपछि म आफ्नो एक्लोपनको मजा लिइरहेकी थिएँ। कसैसँग सदाका लागि सम्बन्ध गाँस्ने मेरो कुनै योजना थिएन।
सम्बन्धसम्बन्धी विज्ञ पेरेलले मलाई सम्झाइन्, ‘युद्ध, महामारी, भोकमरीजस्ता संकटमा पनि मानिसले प्रेम खोजेका छन्, प्रेम पाएका छन्।’ तर, अहिले त्यसको कल्पना गर्न पनि मुस्किल छ।
कोभिड–१९ अगाडि सम्बन्धको अर्को अध्याय सुरु गर्न हामीसँग पर्याप्त समय थियो। महामारी सुरु भएपछि पनि समय त बितिरहेकै छ, तर सम्बन्ध अगाडि बढाउने कुनै उपाय छैन। अर्कोपट्टिको व्यक्ति आफ्नो पहुँचभन्दा धेरै टाढा भएको महसुस हुन्छ।
यो संकटभन्दा अगाडि नै आधुनिक डेटिङ अन्त्यहीनजस्तो हुन थालिसकेको थियो। हामी त्यो युगमा बाँचिरहेका छौँ, जहाँ डेटिङ एपका अनगिन्ती स्वाइप, सुहाउँदो मानिसको अभाव र निर्णयमा ढिलाइको बाहुल्य छ। हामी जति धेरै मानिस भेट्छौँ, त्यतिधेरै उनीहरुसँग भावना जोड्न असफल हुन्छौँ, अझ प्रतिबद्ध हुने त कुरै छाडौँ। किन्जी इन्स्टिच्युटका जस्टिन गार्सिया भन्छन्, ‘यो बढी डेटिङको सामान्य साइड इफेक्ट हो।’ हामी अगाडि उभिएको मानिसको मूल्यभन्दा उसका विकल्पहरुको मूल्यलाई बढी ध्यान दिन्छौँ।
विकल्पको यो अन्तर्विरोधलाई कोरोना भाइरसले बदल्न सकेको छैन। वास्तवमा द लिगको तथ्यांकअनुसार त यतिबेला हामी एकै पटक पहिलेभन्दा बढी मानिसहरुसँग च्याट गरिरहेका छौँ। सशरीर यस्तो डेटिङ हुने हो भने हामीले भाइरस फैल्याउने रहेछौँ। किनभने अन्ततः हामी एउटै भाँडामा खाना खाइहाल्छौँ, घुँडा जुधाइहाल्छौँ र पहिलो चुम्बन पनि लिइहाल्छौँ।
यतिबेला त्यो पहिलो चुम्बनको खाँचो महसुस भइरहेको छ। अध्ययन भन्छ– कसैसँग पहिलो चुम्बन साटिसकेपछि ६० प्रतिशतभन्दा बढी मानिसले अर्का व्यक्तिप्रतिको रुची गुमाउँछन्। अहिले महामारीका बीचमा हामी महिनौँसम्म भर्चुअल डेटिङ गरिरहेका छौँ, तैपनि एकअर्काप्रतिको केमेस्ट्री शून्य छ। मेरो कोभिड–१९ को दुस्वप्न यही हो।
दुई व्यक्तिबीचको केमेस्ट्री मापन गर्ने सबैभन्दा भरपर्दो तरिका चुम्बन नै हो। त्यस्तै, कोरोना भाइरसबाट संक्रमित हुने सबैभन्दा भरपर्दो तरिका पनि चुम्बन नै हो। त्यसैले स्क्रिनबाट सामान्य जीवनमा फर्केपछि पनि हामीले डेटिङ फरक तरिकाले गर्नुपर्ने हुन्छ।
यतिबेला भेटघाटको कुरा उठाउन पनि सकिन्न। कसैले सशरीर उपस्थित भएर भेट्ने चर्चा गर्दा सुरक्षाको चिन्ता लाग्छ। सम्भवतः डेटिङ एपले कोरोना संक्रमण नभएका मानिस छनोट गर्ने विकल्प दिन सक्छ। आखिर यतिबेला कसैको उचाइ, धर्म वा पार्टीसँगको आबद्धताभन्दा भाइरस छ कि छैन भन्ने विषय महत्वपूर्ण बनेको छ।
यी सबै बाधा पार गरेर यदि तपाईंले भेट गर्ने निर्णय लिनुभयो भने पनि त्यसपछि के गर्ने? जुमपछिको सबैभन्दा सुरक्षित उपाय भनेको एकअर्काबाट निश्चित दूरीमा रहेर हिँड्नु हो। तर त्यसपछि? एक एकल व्यक्ति (जो डाक्टर हुन्) ले मलाई सुनाएअनुसार रेस्टुराँ वा बार खुलिसकेपछि पनि डेटिङका लागि ती स्थानभन्दा आफ्नै अपार्टमेन्ट सुरक्षित हुने उनी ठान्दा रहेछन्। यद्यपि त्यसमा महिलाहरु इच्छुक नहुनसक्ने उनको भनाइ छ।
यसले कति र कसरी डेट गर्ने भन्ने प्रश्न उठ्छ। कोरोना भाइरसअघिको संसारमा शनिबार बेलायतीसँग र बिहीबार सिनेम्याटोग्राफरसँग भेटिरहन सम्भव थियो। अब चाँडै नै मास्क लगाएर सामाजिक दूरीको नियम पालना गरेर म ती दुवैसँग पालैपालो भेट्न त सक्छु। तर, कुनै न कुनै विन्दुमा मास्क खोलिने नै छ र पहिलो चुम्बन गरिने नै छ। त्यसबेला स्पष्ट विकल्प हुनै पर्छ। एक जनासँग अचानक चुम्बन गर्नु भनेको अरु सबैलाई त्यागिदिनु हो। कमसेकम १४ दिनका लागि अरुलाई ६ फिट टाढा राख्नु हो।
कोरोना भाइरस लागेको छ कि छैन? क्वारन्टिनका नियम राम्ररी पालना गर्नुभयो कि भएन? अरु कसैसँग भेट्नु भएको छ कि छैन? अब हामी यस्ता विषयमा कुराकानी गर्ने अवस्थामा आइपुगेका छौँ। यस्तो खालको कुराकानी पहिलो पटक हुन लागेको भने होइन। जुनसुकै सम्बन्धमा अघि बढ्नुअघि र खासगरी पहिलो यौनसम्बन्धअघि नयाँ जोडीले यस्ता चर्चा गरिरहेकै हुन्छन्। अब चाहिँ पहिलो चुम्बन गर्नुअघि पनि यस्ता संवादको आवश्यकता पर्न थालेको छ। यदि हामी सुरक्षित रहन चाहन्छौँ भने यति गर्नैपर्ने हुन्छ।
विश्व फेरि सामान्य अवस्थामा फर्किन थालेपछि हामीले डेटिङमा अवश्य ध्यान पु¥याउने छौँ। मान्छे छनोट गर्दा होसियार हुनेछौँ, डेटिङको गति कम गर्नेछौँ र यसअघिका वर्षमा भन्दा बढी सोचविचार गर्नेछौँ।
रेस्टुराँको मेनु, वेटर, भीडभाडजस्ता कतिपय अवरोध त अहिले नै हटिसकेका छन्। मात्र स्क्रिनमा एकअर्काको आँखामा नियालिरहेका एक जोडी देखिन्छन्। ‘मैले सक्ने भए’, ‘खुब याद आउँछ’, ‘म एकदमै डराएको छु’ जस्ता शब्द हामी बढी प्रयोग गर्न थालेका छौँ। हामी अरुको कुरा सुन्न, तिनको आँखा पढ्न र काल्पनिक तरिकाले एकअर्कासँग गाँसिन सीपालु हुन थालेका छौँ।
र, इमानदार भएर भन्ने हो भने पहिलो चुम्बन प्रतिबन्धित हुँदा अलिकति रोमाञ्च पनि बढेको छ।
सायद हामीलाई त्यो आवश्यक भइसकेको थियो।
(द न्युयोर्क टाइम्सबाट। नाइमा राजा लेखिका तथा डकुमेन्ट्री निर्माता हुन्)
प्रतिक्रिया