ब्लग


महाभूकम्प र २४ आफन्त गुमाएका ती अम्बर गुरुङ

महाभूकम्प र २४ आफन्त गुमाएका ती अम्बर गुरुङ

विनोदविक्रम केसी
कात्तिक २४, २०८०, शुक्रबार , काठमाडौँ

अरू बेला भएको भए उसले मलाई एक दर्जन गैरशाकाहारी चुट्किला सुनाइसक्थ्यो। बाइफाले महिला, व्यभिचारी पुरुष, मात्तिएको कुकुर, छिल्लिएको घोडा, कहिल्यै देहसुखले तृप्त नहुने बघिनी, सहरभरिका स्त्रीलाई सेवा प्रदान गर्दै हिंड्ने हम जाएगा, टोलै गनाइसक्दा पनि पत्नीको चालामाला थाहा नपाउने सरदार, दरबारका सारा कर्मचारीसँग भोग गर्ने राजकुमारी...। ऊ खानी होे, मांसाहारी चुट्किलाको। हामीले उसको नामै राख्देका थियौं, मिस्टर नन भेज! 

तर, आज मिस्टर नन भेज चुट्किला सुनाउने मुडमा छैन। सम्भवतः अब उसले कहिल्यै चुट्किला सुनाउने छैन। सम्भवतः अब उसले कहिल्यै हाँस्ने ल्याकत राख्दैन, हँसाउने सामथ्र्य राख्दैन। सम्भवतः अब उसको जिन्दगी एउटै कहानी सुनाएर बित्नेछ। कसरी हल्लिएको थियो धर्ती? कसरी भत्किएको थियो उसको घर? कसरी चिलबिल भएको थियो उसको परिवारको? यो कहानी हाल्दाहाल्दै सम्भवतः ऊ स्वयम् एउटा कहानी हुनेछ। त्यतिञ्जेलसम्म उसको नाम सहस्र सरकारी तथा गैरसरकारी तथ्याङ्कहरूमा अङ्कित त हुनेछ, तर सास फेराइको कालखण्ड (जसलाई कुन्नि कुन भ्रममा, कुन भावुकतामा र कुन सम्मोहनमा हामी जिन्दगी भन्ने नाम दिन्छौं) मा उसको वेदनाको सुनुवाइ हुने छैन। 

घरको बायाँपट्टिको पाखो गर्लम्म खसेको छ। बाह्रपन्ध्र हात पर जस्ताको कुटी हालेर बसेको छ, नन भेजको परिवार। आमा, श्रीमती, दुई छोरा, एक छोरी र ऊ। बाह्र बाई पन्ध्र फिटको टहरोमा बसेका छन्, छ प्राणी। गुम्सिनु, कोच्चिनु, साँघुरिनु, कुण्ठिनु र यावत् असुविस्तासहित बाँच्नु! र, बाँच्नु नै ठूलो कुरो हो भन्दै समयलाई लाचारीवश धन्यवादज्ञापन गर्नु! यही हो त जिन्दगी? 

ढोकाको खापामा टाँसिएको छ, रेड स्टिकर। राज्यले अङ्ग्रेजी भाषामा धम्की दिएको छः  

अनसेफ 
डू नट इन्टर अर अकुपाई 

मान्छेको मुटु बेलेर त्यसलाई चारपाटे बनाई टाँसिएजस्तो रेड स्टिकरमार्फत राज्य भन्छ, ‘तोर्पे जनता! तेरो घर असुरक्षित छ। भित्र पसिस् भने तेरो मृत्यु हुन सक्छ। कदाचित् बचिस् भने पनि घाइते चाहिं पक्का हुनेछस्!’ 

रेड स्टिकर होइन, रेड कर्नर नोटिस हो यो। जो उर्दी जारी गर्छ, यो घरको अमन, चैन, शान्ति र सुखलाई पक्राउ गर्नू! 

पहेंलो स्टिकर, मानौं, एलो कार्ड। एउटा कडा चेतावनी, ‘अर्काे एउटा एलो कार्ड... त्यसपछि तँ खेलमैदानबाट बाहिर हुनेछस्।’ अथवा, ‘एउटा अर्काे धक्का... त्यसपछि तेरो भागको पृथ्वी सय टुक्रा हुनेछ।’ 

सेतै फुलेकी नन भेजकी आमा मानवजातिका खराब करतुतलाई महाभुइँचालोका लागि जिम्मेवार ठहर्‍याउँछिन्। घर–घर (या खण्डहर–खण्डहर) मा भूकम्पविद् र भूगर्भशास्त्रीहरू पैदा भइरहेका छन् रातारात। प्रत्येक प्रकम्पमाथि पोखिन्छन्, शिक्षित व्याख्यादेखि औंठाछापीय प्रलापसम्म। यसकारण गएको हो भूकम्प! यसरी जान्छ भैंचालो! प्लेट सर्‍यो! माछाको काँध गल्यो! 

नन भेजकी आमाको सुधो निष्कर्ष छ, ‘पापी, अधर्मी र अपराधीहरू यस्तरी बढे, धर्तीमाताले बोझ थाम्नै सकिनन्। पापले ल्याएको पर्लय हो यो।’ 

आकाशमा बडेमानको हवाईजहाज उड्छ। विपत्ग्रस्त देशको कम्पायमान धर्तीमाथिको आकाश कर्कश हुन्छ। 

हो, उडिरहेका छन् विमान, हेलिकप्टर र ड्रोनहरू। सङ्कटग्रस्त देशको आकाश हो यो। यहाँ जस्तोसुकै बद्नियत बोकेर जेसुकै यन्त्र उड्न सक्छ। दुःखी र दुर्बल देशको झण्डा नै निलिदिने अश्लील र कलुषित चरित्र भएका महामहिम देशहरूलाई, जरुरी छैन, यो महाविपत्ति दुख्नुपर्छ। यसै त गरिब, उसमाथि ध्वस्त देशमा राहत, उद्धार, जासुसी, धर्मप्रचार जे गरे पनि छुट छ। 

‘अम्रिकी जहाज होला, एयरपोर्टमा बस्ने ठाउँ छैन रे।.... इन्ड्याले राद्नीति खेलिराछ रे क्या!’ एक जना ग्रामीण जान्नेसुन्ने आफ्नो राष्ट्रिय स्तरको विज्ञता प्रकट गर्छ। 

‘पापीहरू!’ नन भेजकी आमा पाप–धर्मको युगिन छ्यानविचारमा अड्केकी अड्क्यै छिन्।  

पाप र प्रलय। 

म महाशक्ति राष्ट्र अमेरिका सम्झन्छु। ब्रिटेन सम्झन्छु, इजरायल सम्झन्छु। जर्ज डब्लू बुस जुनियर सम्झन्छु। टोनी ब्लेयर सम्झन्छु, बेन्जामिन नेतन्याहू सम्झन्छु। र, सम्झन्छु उनीहरूका महापाप, महाअपराधहरू। 

पापको अन्तर्राष्ट्रिय वितरणअनुसार नन भेजकी आमाले भन्ने पर्लय हुने हो भने...।  ईश्वरले अनैतिक र अश्लील हर्कतमा हद नाघेका सोडोम र गोमोराह नगरलाई आगजनी गरेर नष्ट गरेझैँ...। 

मन थिर छैन। यस्तै यस्तै सोचिन्छ। यस्तो विशृंखलतामा सोचको सिलसिला मिलोस् पनि कसरी?

म हाँसिदिन्छु। 

‘के हाँस्छस्? तिमेरु पाप, धर्म क्यैमा विश्वास गर्ने भए पो। कलिका मूर्तिहरू!’ 

नन भेज आँखा तर्छ र आमालाई हप्काउँछ, ‘के फतर फतर गरिरा’ भन्या! भैहाल्योन्त अब, तिमी धर्माती, हामी पापी।’

‘कसैलाई नपर्‍या टेन्सिन यसैलाई पर्‍या छ। तीन सहर नेपालाँ यसको मात्रै घर भत्क्याजस्तो! यसको दिमाखै ठीक छैन।’ आमा पनि मुखको तीतो फाल्छिन्। 

आमा छोराको जुहारी चल्छ केही बेर। घर नरहे पनि घरझगडा छ, गृह नरहे पनि गृहकलह छ। मुस्कानका खातिर दाँतहरू साथ दिन सक्ने अवस्थामा नभए पनि दन्तबजान चाहिं छ। 

घरसँगै क्षतिग्रस्त छन् मान्छेहरू। 

घरको जस्तै मान्छेको क्षतिग्रस्तता देखिन्थ्यो भने ऊ कस्तो देखिन्थ्यो होला? एउटा आँखा आफ्नो ठाउँबाट खसेर तुर्लुङ्ङ झुन्डेको, कम्मर टुटेको, करङ भाँच्चिएको, घुँडा फुटेको...। मान्छेलाई यति भयानक र विद्रुप देख्ने यस्तो अस्वस्थ कल्पना गरेर म एउटा अपराध गर्छु। यसमा जसले काव्यिक आयाम देख्छ, त्यो पनि अपराधी हो। मजत्तिकै। 

अपराध त म अर्काे पनि गर्छु। व्यग्रतापूर्वक चाहन्छु, नन भेज जिन्दगीको आफ्नो प्राचीन लयमा फर्कियोस् र सुनाओस् मलाई एउटा घच्चिको गैरशाकाहारी चुट्किला। (मलाई थाहा छ, चुट्किला त मुतको न्यानो न हो। कठोर चिसोले जिन्दगी कक्रेको बेला पिसाबको उष्णता काम लाग्दैन।) र, पहिलेझैं चुट्किलापश्चात् अरू हाँसून्/नहाँसून्, ऊ हाँसोस् बेस्कन। आँसु आउने गरी। यो वाहियात र निर्मम कामना अपराधबाहेक अरू के हुन सक्छ? यो दिल्लगीको समय होइन, चुट्किलाको समय होइन। कम्तीमा सर्वसाधारणका निम्ति। असाधारणहरूका निम्ति त हर पल दिल्लगी र चुट्किलाको हो। जस्तो कि, उनीहरू धरहरा बनाउने कुरा गर्छन् र दुई लाख भत्केका घरको हाँसो उडाएर तेजाबी मजाकको आनन्द लुट्छन्। रू. पन्ध्र हजारका लागि पन्ध्र हजार ठाउँमा रोदन र हारगुहार गरिरहेछन्, साधारण नेपालीहरू। र, असाधारणहरू समृद्ध नेपालको खाका पेश गरिरहेछन्। मानौं, समृद्धि भनेको जस्तापाताको देशीय विस्तार हो। यो तेस्रो दर्जाको चुट्किला हो। 

सहरमा एकतले बादशाहीका अनेक चुट्किला बनेका छन्। सात दशमलव छ रिक्टर स्केलको भुइँचालो पचाएर सिकन्दरीय मुद्रामा उभिएको जसको एकतले घर छ, ऊ बादशाह हो। सम्पन्न हुन बाँकी उसको ताजपोशीलाई चुट्किला शिल्पकारहरूले पूरा गरिदिएका छन्। जस्तो किः विवाहयोग्य छोरीका अभिभावकहरू हुनेवाला ज्वाइँमा कुल, बेहोरा, व्यसन–दुव्र्यसन, उद्यम आदि खोजिरहेका छैनन्। छोरीको पाणिग्रहण गर्नेको एउटै योग्यता खोजिरहेका छन् उनीहरू। एकतले घरको स्वामित्व। जस्तो किः पाँचतले सङ्गमरमरजडित घरको मालिक एकतले रूखोसुखो घरसँग आफ्नो घर साट्न खोजिरहेको छ, त्यो पनि चारपाँच लाख रूपैयाँ थपिदिने तत्परतासहित। 

र, यसरी गरिबीको इतिहासमा पहिलो पटक, निर्माणको इतिहासमा पहिलो पटक, सानो या होचो घरले हीनतामा खुम्चिनुपरेको छैन। चुट्किला नै सही, चुट्किलामै सही!

नौ हजार मान्छे मरे। पाँच लाख मान्छे विस्थापित भए। दुई लाख घर भत्किए। पाँच खर्बको क्षति भयो। यी आँकडा हुन्। तर, आँकडा मात्र होइनन्। क्यालकुलेटरको भाषाले सबथोक बयान गर्न सक्दैन। तथ्याङ्क समाचार या प्रतिवेदनमा छापिने अङ्क मात्र होइन। त्यहाँ मान्छे मुछिएको हुन्छ। उसका दुःख र वेदना मिसिएका हुन्छन्। रगत र आँसु घोलिएका हुन्छन्। 

रसुवा, ठूलो गाउँका अम्बर गुरूङले कुलकुटुम्ब र परिवारका गरी चौबीस जना आफन्त गुमाए। ठूलो गाउँका अठहत्तर जनाले ज्यान गुमाए। के यो अङ्क मात्रै हो? भोगटेको बोटमुनि घोप्टो परेर रुन्छन् अम्बर। मध्यरातमा छोरी र नातिनी कतै भेटिन्छन् कि भनेर गाउँ चहार्छन्। उनका सुन्निएका आँखाका डिलबाट पुतलीजस्ती नातिनी र लाऊँलाऊँ खाऊँखाऊँ उमेरकी छोरीको सम्झनामा बग्ने आँसुलाई कुन गणित, कुन आँकडाले सक्छ समेट्न? उनलाई परेको घाहा कुनै सपाट तथ्याङ्क होइन। 

गाउँका बारीभरि शव गाडिएका छन्। एउटै पाटोको एक छेउमा मान्छे र अर्काे छेउमा चौपाया गाडिएका छन्। एउटै खाल्डोमा चार जनासम्मलाई गाडिएको छ। के यो चार अङ्क मात्र हो? 

अम्बरको गाउँका तीन सय पचहत्तर घरमध्ये चार वटा मात्र सग्ला छन्। गाउँ नै चकनाचूर भएको छ। घर भनेको ढुङ्गा, माटो, काठ, इँट, सिमेन्ट, बालुवा, रड आदिले निर्मित भौतिक संरचना मात्रै होइन। घर नहुनु पीडादायी हुन्छ। अझ भएको घर भत्किएर नरहनु झन् पीडादायी हुन्छ। 

भत्केको घरलाई हेरेर टोलाइरहन्छन् तेजराज। पत्नी र छोरी गुमाएका छन्। भत्केको घरमा पुरिएका छन् थुप्रै स्मृति। ढुङ्गा उठाउँछन्, राख्छन्। उठाउँछन्, राख्छन्। दिमागै ठीक ठाउँमा छैन उनको। यतिविघ्न क्षतिग्रस्त भएको मान्छेको दिमाग होस् पनि कसरी ठीक ठाउँमा? 

दिमाग त काठमाडौं, युँटिकीकी सीता बास्तोलाको पनि ठीक ठाउँमा छैन। भत्केको घरमा छोराको स्कुल ब्याग खोज्दै थिइन्। कोदालीले गारो खोस्रँदै गरेकी उनलाई नियालिरहको थिएँ म। अलिकति असन्तुलन देखाउँदा चिच्याएको थिएँ, ‘खस्नुहोला नि दिदी!’ भयानक उदासीनतामा उनले भनेकी थिइन्, ‘खसे पनि के र?’ 

काठमाडौंको दक्षिणी पाखाभित्तामा पर्ने हुँडु गाउँकी ललिता लामाको पनि दिमाग कहाँ सही ठाउँमा छ र? उनको यही साल बिहे हुँदै थियो। तर, प्रकोपले हाल्यो भाँजो। ‘यस्तो विपद्मा के घरजम गर्नु र?’ तय भएको लगन रद्द हुँदा उनले सुस्केरा काढेकी थिइन्। 

भुइँचालोले नेपालीबीच भाइचारा, मित्रता या एकता बढायो भन्ने हतारको निष्कर्ष खण्डन गरिदिएको थियो, मैले भेटेको एक जना प्रकोप–पात्रले। एउटा एनजीओको साथ लागेर म राहत बाँड्न पुगेको थिएँ, काँठ क्षेत्रको एउटा गाउँमा। सो प्रकोप–पात्र र उसको भाइका लागि आठ बाई बाह्रको एउटा त्रिपाल एनजीओले दिएको थियो। 

‘यो त्रिपाल दुई टुक्रा पार्न मिल्दैन सर?’ उसले मलाई सोधेको थियो। 

‘किन दुई टुक्रा पार्ने? यसै त सानो छ। दुई टुक्रा पार्‍यो भने कामै लाग्दैन नि।’ म छक्क परेको थिएँ। 

‘कुरो के भने नि सर, म र भाइ त मिल्थ्यौं, तर बूढीहरू मिल्दैनन्। दुई टुक्रा पार्दिए एक–एक टुक्रा लिन्थ्यौं नि!’

‘अहिले पनि नमिले कहिले मिल्ने?’ 

‘मिलौंला नि बिस्तारै।’ त्यसपछि ऊ हाँसेको थियो। 

अर्काे एक ठाउँमा हामी रेकी गर्न गएका थियौं। एनजीओको भाषामा क्षति तथा आवश्यकता मूल्याङ्कन कि के जाति भन्छ त्यसलाई। एनजीओकर्मी मित्रले गाउँलेहरूलाई ढाडस दिंदै भन्यो, ‘हामी विवरण लिन आएका। तपाईंहरूले सबथोक पाउनुहुन्छ। पाल, चामल, दाल, चिउरा, तेल, नुन...।’ उसले नायकत्वको आवेगमा ‘सबथोक’मा जोड दिंदै भन्यो, ‘सबथोक पाउनुहुन्छ, सबथोक।’ 

एक जना उरन्ठेउलो ठिटोले प्वाक्क भन्यो, ‘त्यो सबथोकमा कन्डम पर्छ कि पर्दैन?’ 

‘कसलाई चाहियो कन्डम?’ एनजीओकर्मीले मुख रातो पारेर भन्यो। 

‘मलाई चाइयो, मलाई,’ केटोले नधकाई छातीमा चोर औंला टक–टक पार्दै भन्यो। 

काँठ क्षेत्रकै एउटा दलित बस्तीमा पुगेको थिएँ म। त्यहाँ क्रिस्चियन मिसिनरीको एउटा डफ्फालाई भेटेको थिएँ। एक जना कोरियाली युवती पनि थिइन्। उनीहरूका आँखामा खै केको हो चमक थियो, बिछट्टको। 

राहत प्याकेजसँगै उनीहरू एउटा दम्भपूर्ण घोषणा पनि बोकेर पुगेका थिए। त्यो घोषणाको भाषा ठ्याक्कै यही त होइन तर मजबुन ठ्याक्कै यही थियो, ‘मन्दिरहरू ढलिहाले। ब्रह्मा–विष्णु–महेश्वरका दिन गए अब। अब खुट्टा घुमाउने पालो हाम्रो यिशुख्रिष्टको!’ 

उनीहरूलाई एक जना जँड्याहाले बोर गरिरहेको थियो। ऊ डफ्फाका हरेकलाई झिँजो लगाइरहेको थियो ‘एक फुल रोयल स्ट्याग किन्दिनुस्, धरोधर्म क्रिस्सेन बन्छु। घर भुइँचालोलाई चढाइहालें, अब धर्म तपैंहरलाई चढाउँछु।’ उनीहरू उसलाई उपेक्षा गरिरहेका थिए। ऊ भने डफ्फालाई उही रटानसाथ पछ्याइरहेको थियो, ‘एक फुल रोयल स्ट्याग किन्दिनुस्, एैले यहीं, ठाउँको ठाउँ क्रिस्सेन बन्छु।’ 

दिमाग ठाउँमा नभएको अर्काे प्रकोप–पात्र हो, साने। बस्तीमा ऊ बौलायो भन्ने हल्ला चलेको थियो। पैंतालिस लाख रूपैयाँ ऋण निकालेर बनाएको थियो, उसले तीनतले घर। भर्खर फिनिसिङ सकिएको थियो। सर्नै नपाई घर चकनाचूर भयो। तल्लो आधा तलाजति जमिनमा धस्सिएको थियो। घर केराको पातमा चक्कु चलाएजस्तो थियो। चिरैचिरा परेको। 

वडा कार्यालयमा बस्तीका प्रतिष्ठित व्यक्तित्व गोपालकुमारलाई हात हालेपछि सानेको मगज सड्किएको तथ्य प्रमाणित भएको थियो। त्यहाँ बस्तीमा रहेका डेरावाललाई राहत दिनु ठीक कि बेठीक भन्ने विषयमा विवाद चलिरहेको थियो। प्रतिष्ठित गोपालकुमारले डेरावाललाई राहत दिनु भनेको बस्तीका मान्छेको भाग खोसेर उनीहरूमाथि अन्याय गर्नु हो भन्ने तर्क दिएपछि सानेले रौद्र रुप देखाएको थियो र ऊमाथि खनिएको थियो। (मलाई सुनाइएअनुसार) उसले पहिले मुख छाड्यो, ‘... ... यो गोपेलाई हेर् त, साला! यसको घर एक अम्मल पनि चक्र्या छैन। दलाली गरेर लाखौं कमा छ। बाउबाजेले दुनियाँलाई मारेर करोडौंको जग्गाजमिन जोड्देका छन्। तर, चामलको बोरा समाउन यही दौडिन्छ। पाल यसैलाई चाहिएको छ। जस्ता यसैलाई चाहिएको छ। अहिले डेरावासीलाई राहत दिनु हुन्न भन्छ। उनीहरूसँग खा’को भाडा ओकल्न त, भाते!’ 

त्यसपछि उसले गोपालकुमारको अनुहारमा दुईचार जोरदार मुक्का बजाएको थियो। गोपालकुमारको नाकबाट बगेको रगतलाई बस्तीले सानेको मानसिक सन्तुलन बिग्रिएको प्रमाणका रुपमा ग्रहण गर्‍यो। 

गाउँ–गाउँ घुमिरहेको मनोविद्हरूको टोलीसँग म उसको जस्ताको कुटीमा पुगेको थिएँ। उसको छोरो सामीन (पिता सानोबाबु र माता मीनाका नामका अक्षर मिलाई राखिएको नाम) मुढामा बसेर मोबाइल चलाइरहेको थियो। मलाई देख्नेबित्तिकै भन्यो, ‘हेलो, अङ्कल द जर्नालिस्ट! भूकम्प द ग्रेट डिज्यास्टरको रिपोर्टिङ गर्दै हो कि क्या हो?’ 

युवा पुस्ताले दक्षिण भारतीय फिल्म हदै हेरिरहेको छ। भुइँमा खुट्टा रगडेका भरमा आँधी ल्याइदिन सक्ने, एक मुक्कामा एक दर्जन गुन्डा र एक लातमा दुई दर्जन बदमासलाई हावामा उडाइदिन सक्ने हिरोहरूका थुप्रै फ्यान छन् नेपालमा। उनीहरूका अतीव शौर्ययुक्त क्रियाकलापमा युवा पुस्ताको उग्र लगाव र आशक्ति कतै आफ्नो निरीहताविरुद्धको कारबाही पो हो कि? 

सामीन यस्ता फिल्मको मैले भेटेका सबैभन्दा ठूलो पारखी हो। उसमा यस्ता फिल्मका नाम यसरी गढेका छन् कि उसको कुराकानी गर्ने शैलीमा त्यसको छनक पाइन्छ। शिवाजीः द बोस, दागः द बर्निङ फायर, नानीः द म्याजिक म्यान, विध्वंसकः द डिस्ट्रोयर, जानवरः अन दी एलर्ट, नम्बर वन जुडवाः द अनब्रेकेबल... यस्ता असङ्ख्य फिल्म हेरेपछि सामीनले संवादको आफ्नै विशिष्ट शैली विकास गर्‍यो। एउटा शब्दका पछाडि केही अङ्ग्रेजी शब्दका फुँदा गाँस्नु उसको प्रिय मनोरञ्जन भयो। उसबाट मैले सुनेका केही शब्द यस्ता छन्— भातः द हङ्गर किलर, कलेजः द वेस्ट अफ टाइम, घरः द ड्यान्जरस सेल्टर, गाउँः द स्टुपिड भिलेज, त्रिपालः द बिग सर्च, राहतः द ग्रेट ड्रामा...। 

‘तेरो बाबा खोइ त?’ मैले सोधेँ। 

‘बाबाः द लेटेस्ट साइको इन भिलेज भित्र हुनुहुन्छ। बोलाइदिन्छु पख्नुस्।’

साने र उसका बाउ कुटीबाहिर आए। 

साने टुक्रुक्क बस्यो। हाम्रो वास्ता गरेन। चुरोट सल्कायो र तान्न थाल्यो। कसैले यति तन्मयतापूर्वक चुरोट खाएको मैले देखेकै थिइनँ। मानौं, ऊ मानव सभ्यताको अन्तिम खिल्ली चुरोट तानिरहेको थियो। 

‘हाम्रो साने त बौलाउँछ कि क्या हो, साइँला?’ उसका बाले मलाई भने, ‘दिनमा चारपाँच बट्टा चुरोट खान्छ। भात खाँदा पनि चुरोट खान्छ। त्यस्तो सोझो मान्छे! यसले ठूलो स्वरले बोलेको तिमेर्लाई था छ? भैंचालो गएदेखि त उग्र भा’छ। अहिले त जसलाई पनि झम्टिन्छ। डाँकोले निल्न खोज्छ। भन्नु नभन्नु भन्छ। गाउँका पञ्च भलाद्मी कसैलाई गन्दैन। कसैको अदबै राख्दैन।’  

‘किन यतिविघ्न चुरोट खा’को तैंले दाइ?’ उमेरले मभन्दा धेरै जेठो भए पनि ऊसँग मेरो तँ–तँ म–म चल्छ। हामी एक बेलाका दारू–सँगाती थियौं। 

‘मर्नुभन्दा बहुलाउनु निको। बहुलाउनुभन्दा गीत गाउनु निको। स्वर आफ्नो टपरीमा सुसु गर्‍याजस्तो छ। गीत गाउनुभन्दा चुरोट तान्नु निको!’ यति भनेर साने हाँस्न थाल्यो। धुवाँ सर्कायो। 

मनोविद् युवतीले सानेका बाउलाई सम्झाउन थालिन्, ‘हेर्नुस् बा। उहाँलाई चार वटा कुरा भएको हुन सक्छ। यस्तो ठूलो विपत्तिमा यस्तै हुन्छ। पहिला एड्जस्टमेन्ट डिसअर्डर हुन्छ, त्यसपछि एङ्जाइटी डिसअर्डर हुन्छ अनि डिप्रेसन हुन्छ र लास्टमा पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर हुन्छ, जसलाई पीटीएसडी भनिन्छ। कुरा बुझ्नुभो त बा?’ 

सानेका बाले कुरा बुझेनन् र ट्वाँ परेर मलाई हेरे। यो अनुदानको ज्ञान थियो। बुझिंदैन पनि। 
***

वैशाख १२ को महाभूकम्पपछिका पाँच–छ हप्तामा मैले थुप्रै प्रकोपपीडित भेटें। एक जना पात्र भने मेरो दिमागमा छापिएका छन्, टङ्कन भएजस्तो। 

अम्बर गुरूङ। छुट्टिने बेलामा उनले भनेका थिए, ‘धर्ती नै भासिन्छ भने पनि गाउँ चाहिं छोडिन्नँ।’ 

अम्बर गुरूङलाई भेटेपछि मैले जानेको छु, बुझेको छुः मान्छे हार खाने प्राणी होइन।  

(‘अप्रिय अप्रिल’ निबन्धसङ्ग्रह (२०७३) मा पहिलो पटक प्रकाशित र केसीको किताब ‘भेन्टिलेटरमा आमा’ (२०७८) मा ‘प्रकोप र पात्रहरू’ शीर्षकमा सङ्गृहीत)  

कात्तिक २४, २०८०, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .