मान्छेहरु आमालाई भगवानको उपमा दिन्छन्
पहिले पहिले म बुझ्दिनथेँ
व्यर्थैमा मान्छेहरू मूर्खता देखाउँछन्
आमा भगवान हुनै सक्दिनन् !
म गलत थिएँ त्यो बेला
आमा भगवान नै हुन् !
केही फरक जरुर छन्
आमा घरमा बस्छिन्
मैले देखेका भगवान मन्दिरमा बस्छन्
आमा आफ्नो सन्तानको खुसीमा रमाउँछिन्
मैले सुनेको भगवान आफ्ना भक्तहरुको खुसीमा रमाउँछन्।
अनि धेरै समानताहरु छन् आमा र भगवानबीच
म एउटा मात्रै समानता अत्याधिक देख्छु
आमा र भगवान दुवै संवेदनाहीन हुन्छन्
हजुरले सही पढ्नु भो
आमा मन्दिरमा बस्ने भगवान जस्तै संवेदना शून्य छिन्
मेरा हजारौं प्रश्नहरुको जवाफ यी दुवैसँग छैन
सायद छ होला
तर जब म प्रश्न गर्छु, मौन बसिदिन्छन्
हुनसक्छ, जवाफ भएर पनि यिनीहरुसँग आवाज छैन
अथवा जवाफहरुलाई आवाज दिन सक्दैनन्
अजिब लाग्यो होला नि है?
म आमालाई संवेदनाहीन भनिरहेछु।
म पन्ध्रौँ वर्षमा यात्रा गरिरहँदा पहिलोपटक महिनावारी भएँ। मलाई थाहा थियो, यो एक सामान्य प्रक्रिया हो। उमेर पुगेपछि सबै स्त्रीमा हुन्छ। तर मेरो ज्ञानले मेरो डर जित्न सकेन। म डरले काँपिरहेथेँ। लागिरहेथ्यो कि म आजबाट केही फरक भएँ। म हिजोजस्तै रहिनँ अब। आफूले आफैँलाई अपराधी मानिरहेथेँ मनमनै। सबथोक नयाँ महसुस भइरहेथ्यो।
जाडो सकिँदै थियो। माघको अन्तिमतिर हो क्यारे; उजाड मौसमले वसन्त पर्खिरहेको थियो। मलाई भने म फेरि कहिल्यै नपलाउने गरी उजाडिएँ जस्तै लागिरहेको थियो। अलिअलि लाज फुलिरहेथ्यो मनमा र कानमै आएर कसैले श्वासको आवाजले भनेजस्तै लागिरहेथ्यो- तिमी अब बच्चा रहिनौ। तिथि कुन थियो थाहा छैन, तर बिहानै जून टल्किरहेको थियो। म महिनावारी भएको थाहा हुने बित्तिकै आँगनमा पनि नआउने आदेश दिएर आमा भित्र गइन्; म आँगनभन्दा अलिक तल बाटोमा उभिइरहेँ। रात सकिँदै थियो, जूनको उज्यालो पोखिएर धर्ती सुन्दर देखिएको थियो। तर म त्यो सुन्दरता महसुस गर्ने हालतमा थिइनँ।
बाटोको छेउमा सिस्नोको ठूलो झ्याङ, त्यही छेउमा बस्न डर लागेर उभिइरहेका गोडाहरु गलिसकेका थिए। अघि भर्खरै पलाएको लाज र डरले मन छपक्कै छोपिसकेको थियो। डर त टाउकोभन्दा माथि चढिसकेको थियो। मेरो वरिपरिका सबैथोक अरु दिनभन्दा फरक लागिरहेथे।
अब घाम उदाउने तयारीमा हुँदो हो; पारि डाँडामाथिको आकास सुनौलो रङले पोतिँदै आयो। यता मलाई टाउको गह्रौं लाग्न थाल्यो, मुटु छिटोछिटो धड्किन थालेको थियो। कस्सम! यति डर त भर्खरै मान्छे मारेर आएको हत्यारालाई पनि नलाग्दो हो।
मान्छेहरुको अगाडि जान नपरे हुन्थ्यो लागिरह्यो दिनभरि। स्कुलमा अरु दिन सरहरुसँग साथीजस्तो भएर बोल्ने मलाई आँखा जुधाउन पनि डर लागिरहेको थियो। चकचक गरिरहनु पर्ने, चलिरहनु पर्ने, बोलिरहनु पर्ने म दिनभर एकै ठाउँमा धुम्म परेर चुपचाप बसेको देखेर सबैले आश्चर्य मानेर हेरिरहेका थिए। म लाज र डरले आफैँभित्र खुम्चिएर डल्लो पर्दै थिएँ।
तमाम मानसिक द्वन्द्वहरुबीच असह्य शारीरिक पीडा पनि सामान्य लागिरहेको थियो। जसोतसो दिन सकियो। अब अँध्यारोले आफ्नो साम्राज्य फैलाउँदै आयो; पात गुमाएर नाङ्गिएका रुखहरु भयानक आकृति भएका थिए। सिस्नोको झ्याङ मलाई नै तर्साउन पर्खिरहेको झैँ लाग्यो। त्यो चिसो अनि कालो रातमा त्यही सिस्नोको झ्याङको छेउमा बसेर बेलुकीको खाना खाने आदेश दिइन् आमाले।
‘यस्तो फोहोर ठाउँमा कसरी खाने? बरु म माथि जान्न, आँगनको छेउमा बसेर खान देऊ न,’ भनेर धेरैपटक भनेँ।
‘यो हाम्रो धर्म हो; संस्कार हो; मान्नुपर्छ; माथि जानुहुन्न; यहीँ बसेर खा,’ यस्तै यस्तै भनेकी थिइन् आमाले। अघिपछि कहिल्यै हप्कीदप्की नखाएको कारणले पनि होला; त्यसबेला आमाको आवाज कता हो कता कठोर सुनियो।
मैले नखाएरै खाना सिध्याएँ- त्यही सिस्नोको झ्याङमा फालेर। अघिसम्म मलाई तर्साइरहेको जस्तो लाग्ने सिस्नोको झ्याङ अनायासै अब साथीजस्तै लाग्यो।
हातमा सानो लुगाको पोको थमाइदिएर आमाले मलाई सुत्न जा भनिन्।
मैंले सोधेँ- कहाँ?
‘गोठमा,’ मेरो प्रश्न भुइँमा झर्न नपाउँदै आमाले भनिन्।
हाम्रो घरभन्दा अलिक पर गोठ थियो, छाउपडी गोठ।
म त्यसअघि कहिल्यै छाउगोठ गएकी थिइनँ। परैबाट मात्र देखेकी थिएँ। सानोमा खेल्ने साथी नभएकोले पनि होला नजिकै भए पनि म छाउगोठमा नगएको। म ज्यादै अन्तरमुखी स्वभावको भएकोले हुनसक्छ; छरछिमेकका मेरा उमेरका कोही पनि साथी भएनन्। मेरो दाइ यसै त म भन्दा १० वर्ष जेठो; उसमाथि एसएलसी सकेर दिपायलतिर पढ्न गइसकेकोले खेल्ने साथी बन्ने सम्भावनै रहेन।
त्यो दिन पहिलो पटक गोठको ढोकामा पुगेँ। त्यहाँ पहिलेदेखि नै कोही थियो- छाउ भएर आएको। ढोका ढक्ढकाएँ, बिस्तारै ढोका खुल्यो। ढोका त के भन्नु र! ढोकाको रूपमा एउटा सानो फल्याक राखिएको थियो।
गोठभित्र मेरो भाउजू नाता पर्ने रहिछन्। म भित्र पसेँ। नमिठो गन्धले बान्ता आउला जस्तै भयो। गोठ पनि कति होचो! सिधा बस्न खोजेँ, दलिनमा टाउको ठोक्कियो। लम्बाइ पनि उस्तै! खुट्टा खुम्च्याएर दुई जनालाई सुत्न मिल्ने ठाउँ रहेछ। भाउजू सुतिन्। दिनभरिको कामले थाकेकी उनी मज्जाले निदाइन्। सायद उनलाई त गोठमा सुत्ने आदत परिसकेको होला र यत्ति छिट्टै निदाउन सकेकी हुन्! कहिलेदेखि पो उनी यो छाउ गोठमा बस्दै आएकी हुन्।
म पहिलोपटक पुगेकी भएर अनेकथरी सोचिरहेकी थिएँ। खै केको पो हो, नमिठो गन्धले स्वास फेर्न गाह्रो भइरहेको थियो। हातमा भएको ‘इलेक्ट्रिक लाइट’को मधुरो प्रकाशमा भाउजू निदाएको हेरिरहेथेँ। र पहिलोपटक महसुस गरिरहेथेँ- आमा भगवान हुन्। आमा साँच्चिकै भगवान हुन्!
यदि आमा मान्छे हुन्थिन् भने उनीसँग संवेदना हुन्थ्यो र उनको ममताले उनको कलिलो सन्तानलाई यस्तो कठिन समयमा यस्तो कालकोठरी जस्तो ठाउँमा पक्कै पठाउने थिइनन्। आमा भगवान हुन्- त्यसैले उनीसँग मानवीय संवेदना छैन। आमाको लागि सन्तानभन्दा ठूलो केही हुँदैन भन्ने सुनेकी थिएँ; गलत रहेछ। आमाको लागि सबैभन्दा महत्त्वपूर्ण त उनको परम्परा, चलन र संस्कार पो रहेछ!
यदि कारणवश म त्यही गोठमा मरेकी भए आमाले भाग्यलाई दोष दिँदै केही दिन आँसु बगाउँदी हुन्। र भगवाको इच्छा सम्झिएर मलाई बिर्सिँदी हुन्। तर दुर्भाग्य! म मरिनँ।
त्यसपछिका हरेक महिनाका छ रात म आमालाई भगवान सम्झिँदै अनिँदो बस्न पाएँ। हरेक महिनाका बाह्र छाक आमालाई भगवान सम्झिँदै नखाएरै अघाउन पाएँ। वर्षा आउँथ्यो, गोठको छानो चुहिन्थ्यो; त्यो भन्दा धेरै मेरा आँखा चुहिन्थे। गर्मीमा दुई जनाले राम्रोसँग बस्न पनि ठाउँ नपुग्ने गोठमा १०/१५ जना बसेर रात कट्थ्यो। बिहान उभिन खोज्थेँ तर सक्दिनथेँ। रातभर खुम्चिएका खुट्टाहरु उभिन मान्दैनथे। एकदमै पीडा हुन्थ्यो।
मेरो पीडा जे होस्, म संस्कारी भइरहेकी थिएँ!
हिउँद लाग्थ्यो। चिसो सिरेटोले शरीर काँप्थ्यो। त्यो भन्दा धेरै मेरो मन काँप्थ्यो, रातको भयानकता देखेर।
त्यो बाटोमा कोही हिँडेको आवाज आयो भने मेरो शरीरमा रगतले हिँड्न छोड्थ्यो। कोही पुरुष आवाज बोलेको सुन्यो भने मेरो मुटुले धड्किन छोड्थ्यो। श्वासप्रश्वास रोकिन्थ्यो। लाग्थ्यो, मेरो धड्कनको आवाज पछ्याउँदै कोही आयो भने! मेरो श्वासको पिछा गर्दै कोही आएर सधैंका लागि मेरो श्वास बन्द गरिदियो भने! उज्यालोमा मेरो कलिलो शरीरलाई घुर्ने आँखाहरु; यो अँध्यारो निर्जन ठाउँमा आइपुगे भने!
आफ्नै मनले सोधेका प्रश्नहरुले सिरिङ्ग बनाउँथ्यो मलाई। म जवाफविहीन थिएँ, बस् डराइरहन्थेँ।
मलाई थाहा छैन, यस्ता मानवताहीन, कठोर संस्कार कसले बनाएका हुन्। तर त्यो सब भ्रम हो, गलत हो भन्ने जान्दाजान्दै त्यही खाडलमा आफ्ना कलिला सन्तानलाई धकेल्ने आमाहरू भगवान नै त हुन् नि! संवेदनाहीन भगवान्।
मेरो एक मनले भन्थ्यो- हुन त आमा पनि यही अवस्था गुजारेर आएकी हुन्। उनले पनि यही सिकेकी छन् र आफ्नो अनुभव र सिकाइलाई हस्तान्तरण मात्रै गरेकी त हुन्! मेरी आमाको समय झन् कति कठिन हुँदो हो। सोच्छु, उनले यो गलत हो भन्ने महसुस गरिन् होला कि नाइँ? सायद गरिनन्।
आमाले महसुस गरिसकेको भए त मैले यो विवशता भोग्नु पर्ने थिएन। र यो गलत धारणा पनि बन्ने थिएन - आमा भगवान हुन्!
Shares
प्रतिक्रिया