ad ad

ब्लग


एनआरएनए नभएको भए हामी बर्माका नेपाली हुने थिएनौं त?

एनआरएनए नभएको भए हामी बर्माका नेपाली हुने थिएनौं त?

कृष्ण पाण्डे
पुस ७, २०७६ सोमबार ६:२२,

लाहुर जाने परम्परासँग अति नजिक सम्बन्ध राख्ने मुख्य रूपमा हामी पहाडे नेपाली समुदायको हङकङमा ब्यारेकभन्दा बाहिर लाहुरे जीवन मुख्य रूपमा १९९७ पश्चात् सुरु भएको हो। यो पहिलो पुस्ता हङकङमा यति झाँगियो कि हाम्रो उपस्थिति तल्लो तहबाटै विभिन्न क्षेत्रमा रहन गयो। हरतरहबाट हेर्दा हङकङमा नेपालीको उपस्थिति गर्व गर्नलायक बन्यो। समुदायलाई पूरै डायस्पोरासँग जोडेर वा तुलना गरेर हेर्दा पनि हङकङमा नेपालीका गर्व गर्नलायक कुरा धेरै छन्।

हामी पहिलो पुस्ताको फरक र राम्रो पक्ष के रहेछ भने हामी आफूलाई जति विदेशमा बस्ने नेपाली भनेर बुझ्छौं त्यो भन्दा धेरै गुणा ‘नेपाली हुँ’ भन्न गौरव गर्छौं र रुचाउँछौं पनि। फलस्वरूप हामी नेपाललाई विदेशी भूमिमा स्थापित गर्न जति महत्वपूर्ण भूमिका खेलिरहेका छौं त्यति न त राष्ट्रले नै आउने १०० वर्षमा पनि गर्न सक्छ न त हामीपछिको हाम्रै पुस्ताले गर्नेछ। हाम्रो यो दोहोरो भूमिकाले हामीलाई परिपक्व बनाएको छ र कडा परिश्रम गर्न पनि प्रेरित गरेको छ। यो पृष्ठभूमि र अवस्था, नेपाली डायस्पोराको मात्र नभएर विश्वभरकै आप्रवासीको हो। आप्रवासी संख्या, जुन विश्वकै अर्को ठूलो जनसंख्या हो।

KrishnaPandey66

दोहोरो भूमिकामा हामी
केही कुरामा हामी दोहोरो भूमिकाका कारण पछि पनि परेका छौं र न यता न उता पनि भएका छौं। कहीं-कतै दुवैतिरका सुविधा उपभोग गरेर, राम्रा-राम्रा अवसर पहिचान गरेर अगाडि पनि बढिरहेका छौं। हो, हाम्रो अर्थ पनि यसैमा छ, हामी नेपाल र हङकङको ‘फ्युजन’ बन्न सक्नुपर्छ। डायस्पोरा समुदाय, एउटा यस्तो समूह हो, जसले विश्वकै ठूलो अर्थतन्त्र चलायमान गराउँछ। विश्व राजनीतिलाई नजिकबाट बुझ्ने क्षमता राख्छ र अग्रगामी सोचसाथ अघि बढिरहेको छ।

केही महिनाअघि मात्र काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा हाम्रा नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन बोलाएको समारोहमा भनेको एउटा भनाइले मेरो मन छोएको थियो। उहाँले भन्नुभएको थियो- ‘तपाईंहरू नेपाल आउँदा सुसंस्कार र सभ्य आचरण प्रदर्शन गर्नुस्, नेपाली समाजले तपाईंहरूबाट त्यत्ति मात्र आशा गरेको छ।’

मलाई यस्तो लाग्यो, प्रधानमन्त्रीले हामीलाई त्यति मात्र भन्न बोलाउनुभएको थियो। त्यसपछि मेरो मानसपटलमा २२ वर्षको विदेश बसाइ, भोगाइ, सामाजिक सञ्जालमा देखिने नेपाल र १६ वर्षको गैरआवासीय नेपाली संघसँगका अनुभवका धेरै पक्ष घुम्न थाले र अहिले पनि मलाई यस्तो लाग्दै छ- कहीं न कहीं हाम्रो दोहोरो भूमिकामा द्विविधा छ, कमीकमजोरी छन्।

बुझ्न त्यति गाह्रो छैन, प्रधानमन्त्रीको कटाक्ष ‘गैआने’ हरूको विश्व सम्मेलन र सेरोफेरोसँग सम्बन्धित थियो। समग्रमा स्वभाविक हो- ८२ देशलाई प्रतिनिधित्व गर्ने संगठनको ‘फेस भ्यालु’ नै हाम्रो मापन हुने केन्द्रबिन्दु हो।

एनआरएनए र यसका परिदृश्य
संस्थालाई संस्थागत गर्न, त्यसप्रति मानिसको आकर्षण बढाउन र नीतिगत रूपमै ८२ देश र नेपालका ७७ जिल्लाको आस्थाको केन्द्र बन्न सजिलो थिएन र छैन। उद्देश्य पूर्तिकै लागि एनआरएनएका सदस्य कतिपय अवस्थामा निर्वाचन प्रयोजनका लागि बने र बनाइए, यसमा दुईमत छैन। यो खारिने विधि हो र थियो। तर, अब जुनसुकै प्रयोजनले किन नहोस्, आफैं बनेर अथवा बनाइएर भएका सदस्यले आफ्नो भूमिका र जिम्मेवारी झनै टड्कारो रूपमा बुझ्ने र लिने बेला आएको छ। कुनै पनि संगठनको शक्ति र मेरुदण्ड भनेकै त्यसका सदस्य हुन्। एनआरएनएका सदस्य करिब १ लाख जना छन् भने ८० लाख मानिस यसमा प्रत्यक्ष सरोकार राख्छन्।

यसरी हेर्दा यस्तो विशाल संस्थामा कमीकमजोरी हुनु स्वाभाविक पनि होला। तर यसो भन्दाभन्दै अहिले हामीलाई सम्पूर्ण सदस्यको सक्रियताको खाँचो, निर्वाचनमा भन्दा झनै बढी आवश्यक छ। संस्थागत सुधार र विकासका लागि १६ वर्षको अनुभवको सबैभन्दा महत्वपूर्ण भूमिका र आवश्यकता छ।

अहिले हामी यस्तो दोबाटोमा छौं कि एजेन्डा धेरै छन्, प्रत्येक देशमा आआफ्ना शैली र स्वभावका समस्या छन्। सामाजिक सञ्जाललगायत एकाध धारणा यसरी आइरहेछन् कि एनआरएनको महत्व र आवश्यकतै छैन। संवादहरू अन्तहीन पूर्वाग्रहमा केन्द्रित देखिन्छन्। तर हामी निर्विकल्प हिसाबले अघि बढ्नुपर्ने अवस्थामा छौं। हामीसँग केन्द्र, क्षेत्र र राष्ट्रिय संयोजन समिति (एनसीसी) का यस्ता परिपक्व संरचना छन् कि संगठन पूर्ण छ। सम्मानित छ र निर्विकल्प पनि।

डेढ दशक अगाडि सुरु यो अभियान, यसका उद्देश्यको जगमा अडेको हो, अन्यथा यो संस्था एक्लो भइसक्थ्यो। यो वास्तविकता हो।

KrishnaPandey3

चुकेका कुरा 
एनआरएनएको समग्र अभियान हेर्दा यो यस्तो समयमा सुरुआत भयो, जुन समयमा हामी नेपाललाई लगभग घृणा गर्ने अवस्थामा थियौं। माओवादी द्वन्द्वसँगै सारा चिज भताभुंग अवस्थामा थिए। सुविधा सम्पन्न ठाउँमा बसिरहेका हामी, त्यहाँ र यहाँको फरक देखिरहेका थियौं। यसले हाम्रो मनमा एक प्रकारको हीनता उत्पन्न भइसकेको थियो। त्यस्तो अवस्थामा एनआरएनए स्थापना भएको थियो।

त्यसपछि एनआरएनले उत्पादन गरेको ऊर्जा, सिकाएको राष्ट्रियता हाम्रो अगाडि छ। २ वर्षको अवधि अर्थात् एक कार्यकालभित्रमा ६ वटा क्षेत्रमा हामी बैठक गर्छौं। त्यसपछि विश्व सम्मेलन काठमाडौंमा गर्छौं। एनसीसीका अधिवेशन हुन्छन्। एउटा मान्छेले २ वर्षको बीचमा विदेशमा र नेपालमा दौडिएर जे देख्न सक्छ, पत्रिका पढेर त्यो देखिन्न। जुन नेटवर्क उसले बनाउन सक्छ, सिक्न सक्छ, त्यो सामान्य अवस्थामा बनाउनै सक्दैन, सिक्नै सक्दैन।

विश्व सम्मेलनका बेला त सरकारका सम्पूर्ण निकायका प्रतिनिधिसँग भेट्ने, अन्तरक्रिया गर्ने मौका पाउँछौं। नेपालमा विकास निर्माणका काम कहाँ, के कति हुँदै छ भन्ने कुरा बाहिर पत्रिका वा टीभीमा भन्दा नजिकबाट नीति निर्माण तहमै देख्न, सुन्न पाउँछौं। त्यसले राष्ट्रप्रति मान्छेको दृष्टिकोणै परिवर्तन गरिदिन्छ।

यसरी बुझेको मान्छेले फर्किएर आफ्नो त्यहाँको समुदायमा पनि बुझाउँछ। गएको १५ वर्षयता हेर्यौं भने एनआरएनए नभएको भए यति धेरै लगानी नेपालमा भित्रिने थिएन। देशबाहिर गएका नेपाली यसरी सीप, जाँगर र पुँजीसहित फिर्ता आउने थिएनन्। यस हिसाबले नेपालप्रतिको धारणा सुधार्न एनआरएनए अभियानले ठूलो भूमिका निर्वाह गरेको छ।

एनआरएनएले केही गरेन भन्ने भन्दा पनि सबैका लागि हुने गरी गरेका कामलाई केलाउँदा राम्रो हुन्छ। यही अभियानले गर्दा नेपाल आउने बाटो खुला भएको छ। आफ्नो पुँजी र सीप निर्धक्कसँग लगानी गर्ने अवसर बनेको छ। यसबाट यति ठूलठूला प्लेटफर्म बनेका छन् कि ससाना कुरामा अल्झिरहनु हुँदैन भन्ने मलाई लाग्छ।

यही अभियानबाटै हामीले विदेशी नागरिकता लिएको अवस्थामा एनआरएनलाई परिचयपत्रमार्फत सुरक्षित गर्नुपर्छ भन्यौं, २०६४ साल अर्थात् १२ वर्ष पहिला एनआरएनए एक्टसहित परिचयपत्र बन्यो र हजारौं (पीएनओ) एनआरएन आज एउटा तहको ससम्मान छाती फुलाएर हिँड्न सक्ने नेपाली परिचयपत्रवाहक हुनुहुन्छ। कल्पना गरौं त बिनापरिचयपत्रको हाम्रो आधिकारिकता! बिनापरिचयपत्रको हाम्रो नेपालित्व! हामी बर्माका नेपाली हुने चरणमा थिएनौं त?

हामीले अब नागरिकता दिनुपर्छ भन्यौं। सरकारले एउटा तहको नागरिकता दिने भयो। कल्पना गरौं त, हामीले नागरिकता पाउँदा हाम्रो आउने पिँढीले ‘इन्जोय’ गर्न पाउने प्रिभिलेज र आधिकारिकता! मलाई लाग्छ- हामी त कन्फ्युजन नै कन्फ्युजनमा रुमलिने पिँढी हौं। तर यसले नयाँ पिँढीलाई ठूलो मार्गप्रशस्त गरेको छ। नेपालसँग यिनलाई जोडेको छ। याद रहोस्, निकै कम देशमा डायस्पोराहरूले यति धेरै काम गरेका होलान्। हामीले नेपालभित्र यति धेरै ‘एड्भोकेसी’ ग-यौं कि एनआरएनए सञ्जाल एउटा गर्व गर्नलायक ‘ब्रान्ड’ नै बन्यो, त्यो सब आवश्यक थिएन त?

हामीले गर्वसाथ भन्नुपर्छ र महसुस गर्नुपर्छ- हामीले पनि देशलाई बदलामा केही दिएका छौं।

८२ देशमा गठन भएको एनसीसीका सदस्य नेपाल चिनाउन र नेपालीलाई एकीकृत गर्न रातदिन खटेका छन्। वर्षौं आफू बसेको देशको अनुभव साटासाट गर्ने कुरामा होस् वा स्थानीय सरकारसँग आफ्नो समुदायका लागि वकालत गर्ने कुरामा होस्, उनीहरू लागिपरेका हुन्छन्। १५ वर्षसम्म हाम्रा साथीहरूले नेपाल आउने-जाने, विश्व घुम्ने-चिन्ने र नेपाललाई चिनाउने हिसाबमा जति योगदान गर्नुभएको छ, त्यति राज्यले आउने १०० वर्षमा पनि गर्न सक्दैन।

अहिले विश्वका ठूलठूला सबै देशमा ‘नेपाल फेस्टिभल’ हुने गरेका छन्, जहाँ लाखौं मानिस भ्रमण गर्छन्। नेपालमा नाकाबन्दी हुँदा हामीले सबै देशमा रहेका भारतीय राजदूतावासमा ज्ञापनपत्र दियौं। यो भनेको राज्यले खर्च गरेर पनि गर्न नसक्ने कुरा हो। हामी तीज, दसैं, तिहारजस्ता चाडबाड यति उत्साहसाथ मनाउँछौं कि नेपालमै चाहिँ त्यति महत्वसाथ नमनाएजस्तो महसुस हुन्छ। कतिपय देशमा नेपाली स्कुल खुलेका छन्। विश्वका धेरै स्कुलमा नेपाली पढाइ हुन्छ।

नेपालका उद्योगी व्यवसायीको पुँजीको तुलनामा हामीसँग भएको पुँजी सानो होला, तर तुलनात्मक रूपमा एनआरएनको पहिलो पुस्ता हामी, जुन प्रेरणासाथ आएर लगानी गरेका छौं, त्यसलाई म सानो परिमाण ठान्दिनँ।

नकारात्मक पक्ष
यो अभियान आफैंमा १६ वर्ष पुरानो भयो। यस अभियानका विविध पक्षलाई नजिकबाट नियाल्दा केही नकारात्मक पक्ष पनि देखिनु स्वाभाविक हो। पहिलो पुस्तामै कमीकमजोरी धेरै देखिने हुन्। तर सुधार गर्नुपर्ने, सुधारिनुपर्ने थुप्रै कुरा छन्। हाम्रो विश्व सम्मेलन, यसका प्रक्रिया, संगठनात्मक ढाँचा र चुनावी तामझाम हेर्ने हो भने हामी एउटा साँच्चै लोकतान्त्रिक राज्यसत्ता र स्वचालित संसदीय अवधारणामा छौं। हामी सुधारका जस्तासुकै चुनौती पनि सामना गर्न सक्ने क्षमता राख्छौं।

समय-समयमा देखिने कमीकमजोरीले जनमानसमा एनआरएनएप्रति नकारात्मक सन्देश गएको छ। नेपाल र यो अभियानको विरोध गर्नु ठूलो योग्यता र पुरुषार्थ हो भन्ने मान्यता स्थापितजस्तै भइसकेको छ। दसौं वर्षदेखि नेपाल नगएका, नेपाललाई नजिकबाट नचिनेका ‘पण्डित’ हरूले सामाजिक सञ्जालमा तथानाम लेख्ने र आलोचना गर्ने गरेका छन्। यो आप्रवासी समुदायको विशेषता पनि हुने गर्दोरहेछ।

अमेरिकामा बस्नेभन्दा बाहिर बस्ने अमेरिकीले राष्ट्रपति डोनाल्ड ट्रम्पका सम्बन्धमा बढी नकारात्मक कुरा गरेका भेटिन्छन्। विकासोन्मुख देशको कुरा गर्दा झन् नेता देखे पिटिदिने, कालो झन्डा देखाउनेसम्म हुने गर्छन्। यी कुरा सामान्य होइनन, अति गम्भीर हुन्, सुधार हुनु जरुरी छ। यही अभियानमार्फत नै हामीले हाम्रा मिसन, देश र जनताप्रति सद्भाव र भाइचाराको अभियान सुरुआत गर्नुपर्छ। २००३ सालमा संस्था स्थापना गर्दा नै ‘बाई नेपाली फर नेपाली’ (नेपालीद्वारा नेपालीका लागि) भन्ने नारा त्यत्तिकै सुरु गरेका होइनौं।

आगामी मार्गचित्र
नेतृत्वका हिसाबले पुस्ता परिवर्तन भएको छ। समयसँगै अब पुराना विधान, ढाँचाले काम नगर्न सक्छन्, परिवर्तन गर्नुपर्ने हुन सक्छ। मैले माथि भनिसकें– खर्बौंको हाम्रो पत्यक्ष लगानी, ८२ देशका हाम्रा नेटवर्क, नेपालका ७७ जिल्लामा स्थापित हाम्रो सद्भावना, हाम्रो चुस्त व्यवस्थापन, अनुभवी नेतृत्व पंक्ति हाम्रा गहना हुन्। हाम्रो सफलता र मार्गचित्र यिनै कुरामा केन्द्रित हुनुपर्छ।

समग्र नेटवर्क, विधान, संस्थाले अख्तियार गर्ने ससानादेखि ठूलठूला सवाल, हामी र हाम्रा घरपरिवारसँग प्रत्यक्ष सरोकार राख्ने विषय हुन्। आआफ्ना ठाउँबाट चियो गर्ने र चासो राख्ने काम हाम्रा डिउटीसरहका काम हुन्। फोस्रा आलोचनाले मात्र हामीलाई कहीं पुर्याउँदैन।

(फिस्टेल ट्राभल हङकङका डाइरेक्टर पाण्डे एनआरएनए हङकङका संस्थापक अध्यक्ष हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .