ब्लग


कहाँ छन् कमरेड ‘साइँला’?

कहाँ छन् कमरेड ‘साइँला’?

अवतार राई
भदौ १२

एमाले र माओवादी केन्द्रले प्रदेश र संघमा वाम गठबन्धन बनाएर निर्वाचनमा जाने सहमति गरे। उनीहरूले निर्वाचनमा सफलता मात्र हात पारेनन्, पार्टी नै एकता गरे। साविकका पार्टी भंग गर्दै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को घोषणा भयोे। तत्कालीन माओवादी केन्द्रका स्थायी कमिटी सदस्य साइँला एकताको विरोधमा उत्रिए। उनी पार्टी पुनर्गठन गर्दै संयोजक भएर बसे। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले एकताअघिकै अवस्थामा पुर्या‍इदिएपछि दुई पार्टी (एमाले र माओवादी केन्द्र) साविककै हैसियतमा फर्किए। तर संयोजक साइँला अस्तित्वमा फर्किएको पार्टीको हैसियतमा छैनन्। सहरमा उनको चर्चा सुनिन छाडेको छ। यतिबेला गुमनाम छन्– गोपाल किराँती कमरेड साइँला। 

जातीय मुक्तिको आन्दोलन
४० को दशक मध्यतिर अझ भनौं, पञ्चायती व्यवस्था समाप्तिको सँघारतिर जातीय मुक्तिको राजनीतिमा होमिएका साइँला राष्ट्रिय जनमुक्ति पार्टीमा सहभागी थिए। तर त्यसमा लामो समय टिक्न सकेनन्। उनले रोजे– पूर्वको खम्बुवान भूमि। उनी खम्बुवान राज्यको आवाज उठाउँदै ०५४ मा भूमिगत भए। त्यसअघि नै ०५२ मा माओवादीले भूमिगत गतिविधि सुरु गरिसकेका थिए। 

साइँलाले सुुरु गरेको खम्बुवान आन्दोलन पूर्वमा झाँगियो। मोर्चा बलियो बन्दै गयो। अन्ततः राजतन्त्र अन्त्य र जनगणतन्त्र स्थापनाका लागि युद्धरत माओवादीसँग उनले एकता गरे। साझा दुश्मन पहिचान गर्दै साझा प्रहार गर्ने भन्दै माओवादीमा विलय भए। आफैंले थालेको खम्बुवान आन्दोलन भंग गरिदिए। 

भूमिगत पार्टीमा पोलिटब्युरो, स्थायी कमिटी सदस्यको जिम्मेवारी लिए। सात दलसँगको सहकार्यबाट शान्तिपूर्ण राजनीतिमा आएसँगै उनी निर्वाचित सांसदसमेत बने। ०६४ सालको निर्वाचनमा आफ्नै जन्मभूमि सोलुखुम्बुबाट नेपाली कांग्रेसका लोकप्रिय नेता बलबहादुर केसीलाई हराउँदै संविधान सभा सदस्य बन्ने मौका पाए।

नेपाल सरकारको संस्कृति मन्त्रीको हैसियतमा दुईपटक जिम्मेवारी लिने अवसर उनले पाएका थिए। पहिलो संविधान सभाबाट संविधान बन्न सकेन। दोस्रो संविधान सभाको निर्वाचनमा पार्टीले खटाएको निर्वाचन क्षेत्रमा नेकपा एमालेका नेता केपी शर्मा ओलीसँग चुनावी मैदानमा उत्रिए। तर शर्मनाक हार बेहोरे। 

निर्वाचनमा हार बेहोर्नु र पार्टीको साख, गरिमा, ओजसमेत घट्दै गएपछि उनमा नैराश्य उत्पन्न हुन थाल्यो। त्यसपछि उनका दिन पूर्व भोजपुर र खोटाङको सिमाना चखेवामा भैंसी पालन गर्दै बित्न थाले। चिराचिरा भएर फुटेको पार्टीमा फेरि आशाको दियो बल्यो।

विभाजित पार्टी एकै शिरामा उभिने गरी १० घटक माओवादी संगठनको एकता भयो र बन्यो– नेकपा माओवादी केन्द्र। पार्टीले नयाँ जीवन लिने भएपछि साइँला गोठका भैंसी बेचेर फेरि राजनीतिको मूलधारमा फर्किए। काठमाडौंको केन्द्रीय राजनीतिको निर्णायक तहमा उभिन थाले। आफ्ना अडान र माओवादी आन्दोलनको बहसमा जोडिन थाले। 

तर त्यसपछिका पार्टी गतिविधिले समेत उनमा असन्तुष्टि उब्जाउन थाले। स्थानीय तह र प्रदेश संघको निर्वाचनमा समेत उनले आफ्नो भूमिका गौण बनाए। उनको भूमिकाप्रति पार्टीभित्र चर्चा-परिचर्चा हुन थाले। कारबाही नै गर्नुपर्ने आवाजसमेत बलियो बन्दै गयो। पार्टी नै एक भई माओवादी केन्द्र भंग गर्ने निर्णय प्रचण्डले लिएसँगै पुरानै धार जोगाउने भन्दै बसे। नेकपा माओवादी केन्द्रको संयोजक भएर गतिविधि गर्न थाले। 

पार्टीभित्रै विभाजन
संयोजकको जिम्मेवारी सम्हालेसँगै उनले देशव्यापी जागरण अभियान सञ्चालन गरे। पूर्वदेखि पश्चिमसम्म देश दौडाहमा होमिए। माओवादी पुनर्गठनको सन्देश दिँदै मुलुकको रुपान्तरणका लागि गोलबन्द हुन सबैलाई आग्रह गरे। मिचिएका भूमि फिर्ता हुनुपर्ने, पूर्व टिस्टादेखि पश्चिम काँगडासम्मको भूभागबारे बहस छेड्दै हिँडे। 

समयक्रमसँगै पुनर्गठित पार्टीभित्र असन्तुष्टिको बीउ उम्रिन थाल्यो। पार्टीमा उनलाई कारबाही गर्नुपर्ने आवाज उठ्न थाल्यो। पार्टी विभाजन भयो। विभाजित पार्टीको एक समूहका संयोजक साइँला त्यसपछिका दिनमा सार्वजनिक समारोहमा खासै देखिएका छैनन्। उनको चर्चा परिचर्चा कहीँ कतै हुने गरेको छैन। उनी यसरी पनि गुमनाम छन्। 

प्रचण्डको प्रशंसादेखि गालीसम्म 
पार्टीभित्रको अन्तरसंघर्षमा साइँला जहिल्यै अध्यक्ष प्रचण्डको लाइनमा दृढताका साथ उभिन्थे। प्रचण्डसँग विमति नभएका हैनन्, तर पनि आफ्ना असहमति अध्यक्षसामु प्रस्टसँग राख्ने र कार्यान्वयनका लागि निरन्तर खबरदारी गरिरहने शैलीको कहिलेकाहीँ सार्वजनिक कार्यक्रममा प्रचण्ड स्वयंले प्रशंसा गर्ने गर्दथे। 

अध्यक्ष प्रचण्डलाई उनी गणतन्त्रका पिताको संज्ञा दिन्थे। अनेक आलेख, पुस्तकमार्फत मात्र हैन, सार्वजनिक कार्यक्रममा समेत प्रचण्डका सम्मानमा शब्द खर्चिन्थे। प्रचण्डलाई महान् जनयुद्धको सर्वाेच्च सेनापति एवं गणतन्त्र नेपालको प्रमुख कार्यकारी प्रमुख हुनुको हैसियतमा सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रूपमा अर्थात् जनसमुदायमा आधारित नेताहरूको नेताका रूपमा अर्थ्याउँथे।​

समयक्रममा प्रचण्डबारे साइँलाले विमतिको ओइरो लगाउन थाले। शान्ति–सम्झौतायता पार्टीमा मार्क्सवादी वैचारिक स्कुलिङ र कार्यकर्ताको संस्थागत व्यवस्थापन योजना नल्याउनु, रक्त–सम्बन्धलाई प्राथमिकता दिनु र पार्टी हैसियत दुरुपयोग गरेर निजी सम्पती थुपार्ने प्रवृत्तिलाई खुलेआम छुट दिनु एवं नेताहरू अभिजात वर्गमा पलायन भएको आरोप साइँलाले प्रचण्डसामु लगाए। 

पुनर्गठित पार्टीको संयोजक भएपछि त उनले राजनीतिमा प्रचण्ड प्रवृत्ति घातक हुने भन्दै यस्तो प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने सार्वजनिक भाषण नै गरे। एकता भई बनेको पार्टी नेकपालाई प्रचण्ड एन्ड कम्पनीको संज्ञा दिने उनले यसको औचित्य नभएको समेत वक्तव्य दिइराखे। 

थन्किएको स्वप्निल टावर
०६६ सालमा भोजपुर खोटाङको सिमाना ट्याम्केमा एक विशाल किराँत गणतान्त्रिक टावर निर्माणको सपना बोकेर उनले कामसमेत प्रारम्भ गरे। किराँती समुदायमा प्रचलनमा रहने वावुक (चिण्डो) आकारमा निर्माण हुने भनिएको टावरमा किराँत सभ्यता झल्काउने उनको सपना थियो। सामाजिक, सांस्कृतिक, धार्मिक प्याकेजका रूपमा त्यो टावर ३३ औँ तलाको बनाउने परिकल्पना थियो। 

सरकारलाई क्रमागत बजेट विनियोजन गर्न आग्रह गर्ने र अपीलमार्फत देश–विदेशबाट सहयोग जुटाई योजना सम्पन्न गराउने ध्येय उनको थियो। तत्कालीन संकलित रकमबाट झण्डै करोडभन्दा माथिको काम भयो। बेसक्याम्पका लागि एउटा भवन बन्यो। टावर निर्माण थलो ट्याम्के चुचुरोमा माटो परीक्षण गरियो। जग खनियो। अस्थायी सडक बनाइयो।

उनले टावर निर्माण सम्बन्धमा पार्टीका शीर्ष नेताहरूलाई विश्वस्त बनाएका थिए। टावर बनेपछि सांस्कृतिक–धार्मिक विरासत स्थापना मात्र होइन, त्यो स्थान पर्यटकीय गन्तव्यको बलियो आधारसमेत बन्ने भएकाले त्यस क्षेत्रको आर्थिक जीवनमा सकारात्मक प्रभाव पर्ने देखेर नेताहरू पनि योजनाप्रति आकर्षित थिए। तर पार्टी विभाजन भयो। उनी मूल प्रवाहको राजनीतिबाट किनारा लागे। योसँगै उनको एउटा सपनासमेत थन्कियो। किराँत गणतान्त्रिक टावर निर्माणको महत्वाकांक्षी योजना भग्नावशेष भयो। 

साइँलाको सपना 
जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनविरुद्ध र हरेक नागरिकले राज्यबाट समान अधिकार पाउनुपर्ने सवाल उनी खरो रूपमा उठाउँथे। जातीय मुक्तिको आन्दोलनमा खम्बुवान, किराँत वर्कर्स पार्टी लगायतबाट संघर्ष गरे। संघीयतामार्फत यी सबै चिजको समाधान देखेका उनले संघीयताको वकालत गरिरहे। धर्म निरपेक्षता, समानुपातिक समावेशिता र मूलतः मुलुकलाई गणतन्त्रात्मक बनाउन लडे। 

आन्दोलनको सामूहिक बलबाट यी सारा सपना संविधानमा लिपिबद्ध भए। कतिपय सवाल छुटे पनि मूल मर्म स्थापना भयो। तर फितलो कार्यान्वयनका कारण उनले गर्ने बहस, बाँडेका सपनामा अहिले खास मानिसहरूको वितृष्णा बढ्न थालेको देखिन्छ।

संविधानको मूल मर्मप्रति मानिसहरूको रोष झन्झन् बढिरहेको छ। मुद्दा केन्द्रित बहस, वैचारिक, सैद्धान्तिक अवस्था लर्खराउन थालेको छ। मुद्दाका हिमायती दरो–खरो प्रभाव राख्ने साइँला यतिबेला बेखबर छन्। मूल राजनीतिक मुद्दा र कोर्सबाट किरानाकृत भएका छन्। 

साइँलाको आवश्यकता
संघीयता मुलुकमा कार्यान्वयन चरणमा छ। कतिपयले उनलाई किराँत राज्य अर्थात् हालको प्रदेश नम्बर १ को मुख्यमन्त्रीका रूपमा अघि सारेका थिए। तर सोही निर्वाचनका लागि प्रदेश सभामा उनले इच्छा जाहेर गरेनन् वा पार्टीको बाँडफाँटमा परेनन्।

पार्टीमा उनलाई उपराष्ट्रपति बनाउनुपर्ने चर्चा पनि उठ्यो। नन्दकिशोर पुन उपराष्ट्रपति पदमा आसीन भए। उनलाई पार्टीभित्र सांगठनिक जिम्मेवारी दिइयो। साइँलाको दूरदर्शिता, अठोट र दृढ संकल्पको चर्चा भइरहन्छ। वर्तमान व्यवस्थाको सबलता तथा असल कार्यान्वयनका लागि दरिलो खबरदारी, सशक्त स्वरको आवश्यकता बोध हुँदा उनको स्मरण समकालीन निकट नेताहरूले गर्छन्। विगतको उनको सशक्त प्रतिरोधी छवि र क्रान्तिकारी आचरणको प्रसंग पार्टीभित्र बेलाबेला उठ्ने गर्छन्। 

तर यही बेला उनी सहरको कुनै कुनामा सैद्धान्तिक अध्ययनमा घोत्लिइरहेका होलान्, किताब लेखिरहेका होलान् वा गाउँतिर भैंसी चराउँदै होलान्? गुमनाम छन्। अर्थात् गोपाल किराँती (साइँला) यो राजनीतिक उथलपुथलका बेला चुपचाप छन्।

भदौ १२, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .