बागमती


बाबुआमाको कुटपिटबाट घाइते भरतको मृत्यु, हत्याको आरोपबाट बच्न आफ्नै छोरो नचिनेको बयान

बाबुआमाको कुटपिटबाट घाइते भरतको मृत्यु, हत्याको आरोपबाट बच्न आफ्नै छोरो नचिनेको बयान

घाइते भ्लोन दम्पती


सुनिता विष्ट
फागुन १६, २०८१ शुक्रबार १५:२०, हेटौँडा

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी अदुवाबारीमा बाबु-आमाको कुटपिटबाट घाइते भएका भरतकुमार भ्लोनको मृत्यु भएको छ। भरतकुमारको भरतपुरको सरकारी अस्पतालमा दिउँसो १ः४५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णहरि शर्मा पोखरेलले नेपालखबरलाई बताए। 

बाबुआमाको कुटपिटबाट उनको टाउको फुटेको र मस्तिस्कमा रगत जमेको थियो। 

उनीहरुको पहिल्यैदेखि सम्पत्तिको विषयमा झगडा रहेको र बिहीबार बेलुका पनि सोही विषयमा झगडा हुँदा कुटाकुट भएको थियो। 

भरतकुमारको कुटपिटबाट बाबु ६४ वर्षीय मीनबहादुर भ्लोन र आमा ६३ वर्षीया देवीमाया भ्लोन पनि घाइते भएका छन्। उनीहरुलाई छोरीले थप उपचारको लागि काठमाडौँतर्फ लिएर गएकी डीआईजी शर्माले भने। 

बेलुका कुटपिटका क्रममा हो हल्ला हुँदा छिमेकीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ती गम्भीर घाइते व्यक्ति बारे सोध्दा बाबु आमाले नै नचिनेको बताएका थिए। 

उनीहरुले कुटपिटबाट गम्भीर घाइते भएको आफ्नै छोरालाई पनि नचिन्ने बताएका थिए। प्रहरीले सुरुमा तीनै जनालाई हेटौँडा अस्पताल लगिएको थियो। राति २ बजे थप उपचारका लागि भरतपुर पठाइएको थियो।

यसअघि पनि बाबु आमा र छोराको बिचमा पटक पटक झगडा भएको खुलेको छ।

आफूहरुले घरमा चोर्न आएको व्यक्ति भन्ठानेर कुटपिट गरेको र आफूहरुको आँखामा खुर्सानीको धुलो छर्किएर कुटपिट गरेपछि प्रतिकार गरेको प्रहरीलाई बताएका थिए। 

पछि भरतकुमारका भाइले कुटपिटबाट घाइते व्यक्ति आफ्नो दाइ रहेको र पहिल्यैदेखि घर झगडा रहेको प्रहरीलाई बताएका थिए।

बाबुआमाले भान्सामा रहेकोे लोहोरो, दाउरा र भाँडाले छोरालाई प्रहार गरेका थिए। 

उनीहरुले यसअघि पनि आफ्नो घरबाट चोरी भएको बताएका छन्। 

शुक्रबार बिहान मीनबहादुरको घरमाथिको बारीमा भरतकुमार भ्लोनका नागरिकता, पासपोर्टसहितको झोला पनि फेला परेको थियो। 

त्यसअघिसम्म भने उनलाई कसैले पनि नचिनेको बताएका थिए। 

भरत चार÷पाँच वर्षदेखि काठमाडौँतिरै बस्ने गरेको परिवारले जानकारी दिएका छन्। 

काठमाडौँ बस्दा पनि बाबुआमालाई फोन गरेर धम्क्याउने, घर जाँदा झगडा गर्ने गरेको बताएका छन्।

डीआईजी शर्माले घटना बारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले थप अनुसन्धान गरिरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad