बागमती


‘गाजर गाउँ’ बन्दै जुरिखेत, गाजर खेती बन्यो स्थानीयको भरपर्दो आयस्रोत (तस्बिरहरू)

‘गाजर गाउँ’ बन्दै जुरिखेत, गाजर खेती बन्यो स्थानीयको भरपर्दो आयस्रोत  (तस्बिरहरू)

सुनिता विष्ट
कात्तिक २६, २०८२ बुधबार ११:४७, हेटौँडा

मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतका सिंहबहादुर रानामगर दुई दशकअघि विदेश गए। तर मलेसियाको रोजगारीले सन्तोषजनक हुन सकेन।

त्यसपछि उनी गाउँ फर्किए र बारीका पाटामा गाजर रोपे। चिसो हावापानी, कालो खुकुलो बलौटे माटो र चौबिसै घण्टा धाराको पानीले गाजर खेती मौलायो। 

तीन/चारवटा गाजर नै १ किलोको हुन थाल्यो। उनले गाजर खेती गर्न लागेको देखेपछि छरछिमेकीले पनि खेतबारीमा मकै, कोदो र फापर लगाउन छाडे। अर्थात् उनीहरूले पनि गाजर खेतीतर्फ आकर्षित भए। 

हेटौँडा-भीमफेदी सडक हुँदै काठमाडौँ आउजाउ गर्नेहरूका लागि जुरिखेतका गाजर कोसेली हुन थाल्यो। 

सुरुसुरुमा सिंहबहादुरले गाजर सडकमै बसेर बेचे।

यसैबीच उनलाई विदेशमा गाजरको जुस खाएको याद आयो। त्यस्तै स्वादको जुस बनाएर बेच्न सकियो भने आम्दानी बढाउन सकिएला भन्ने उनलाई लाग्यो। 

त्यसपछि उनले जुरिखेतमा गाजरको जुस पसल खोले। 

त्यतिबेला भीमफेदीको उकालो लागेपछि चिसापानीगढी नपुगुन्जेलका लागि भेटिने एउटै पसल थियो उनको।

पहेँलो टलक्क परेको ताजा गाजर, गाजरको जुससहित खाजासमेत पाइने भएपछि यो सडक भएर यात्रा गर्नेहरू उनको पसलमा रोकिन थाले। 

त्यसयता उक्त सडक भएर यात्रा गर्ने यात्रुहरूलाई भीमफेदीको जुरिखेत भन्नेबित्तिकै मिठो गाजरको याद आउने गरेको छ। 

पछिल्लो समय जुरिखेतका अधिकांश घरपरिवारको आयस्रोत नै गाजर बनिरहेको छ।

सोही स्थानका कृष्ण थापामगर जेसीभी अपरेटर हुन्। तर उनको हात आजकल मेसिनको स्टेरिङमा भन्दा कुटोकोदालोमा व्यस्त रहने गरेको छ। 

भदौ अन्तिम साता ३ रोपनी जग्गामा लगाएका गाजर उखेल्ने बेला हुनै लागेको छ। बारीका पाटाभरि लहलह भएका गाजर मंसिर पहिलो सातादेखि उखेलेर सडकमा बेच्न राखिने उनले बताए। 

‘गाजर रोप्दा धेरै फाइदा छ। एक त परिवार सबै मिलेर राम्रो आम्दानी गर्न सकिने, अर्कातिर फलाएर कहाँ बेच्नु भन्ने चिन्ता लिनै पर्दैन’, कृष्णले ३ रोपनीमा लगाइएको गाजरबारी देखाउँदै उनले भने, ‘यहाँबाट ३ लाख रुपैँया त मज्जाले उठ्छ। बीउ महँगो परे पनि उन्नत जातको किनेर लगाएका थियौँ। तीनवटाले १ केजी हुन्छ। उखेलेर सडकमा राखेपछि नबिक्ने भन्ने कहिल्यै छैन।’

उनका अनुसार वर्षमा तीनपटकसम्म गाजर उत्पादन गर्न सकिन्छ। उनको परिवारले ७ रोपनी जग्गामा गाजर खेती गरिरहेको छ।यसैबाट सजिलै घरखर्च चलिरहेको उनी सुनाउँछन्। 

सोही स्थानकी ५५ वर्षीया राधिका मगरको परिवार पनि गाजर खेतीमै रमाइरहेको छ। उनको बारीमा गाजर गोडमेलका लागि छिमेकीहरूले सहयोग गरिरहेका छन्। यसैगरी गाजर रोप्ने, गोडमेल गर्ने, उखेल्नेदेखि बेच्नसम्मका काम हुने मगरले बताइन्।

‘बारीमा गाजर रोप्छु, बेच्ने बेला भएपछि आफ्नै घुम्ती पसल छ त्यहीँ बेच्छु, उनले नेपालखबरसँग भनिन्, ‘पहिला मकै, कोदो रोप्दा तीन महिना पनि खान पुग्दैनथ्यो। अहिले यही पाटोमा तीनपटक गाजर रोप्छौँ। गाजरबारीमै रायोको साग र सेतो मुला पनि रोप्छौँ। त्यसको उत्पादन पनि राम्रो छ। एकदमै सजिलो भएको छ।’

थोरै जमिनमा खेती गर्दा पनि मनग्य आम्दानी हुने र बजारको समस्या पनि नभएका भएका आफूहरू गाजर खेतीमा आकर्षित भएको स्थानीय बताउँछन्। 

यहाँ उत्पादन भएको गाजर बिक्री गर्न किसानलाई कुनै चिन्ता हुँदैन। यसको मुख्य कारण हो- भीमफेदी हुँदै काठमाडौँ आवतजावत गर्ने यात्रुहरू। यहाँका किसानले पालैपालो सडक छेउमै पसल राखी आफ्नो उत्पादन उपभोक्तालाई बिक्री गर्ने गरेका छन्।

बिचौलियाको झन्झट नहुने र प्रत्यक्ष आम्दानी हुने भएकाले स्थानीयलाई गाजर खेती मन परेको हो। 

जुरिखेत अहिले गाजर उत्पादनका लागि ‘पकेट क्षेत्र’का रूपमा परिचित छ। यहाँको गाजर मात्र होइन, यसबाट बनेका परिकार र विशेषगरी जुसका कारण यो ठाउँ प्रख्यात बन्दै गएको छ।

गाजर खेतीलाई मुख्य आयस्रोत बनाएका यहाँका किसान उन्नत जातका बीउ, मल र औषधिको अभाव हुने गरेको गुनासो गर्छन्। 

भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ भने गाजर उत्पादन क्षेत्रका रूपमा विकास हुँदै गएको जुरिखेतका किसानका समस्या समाधान गर्न आफूहरू सहयोग गर्न तयार रहेको बताउँछन्। 

‘हालसम्म गाजर खेती गर्ने किसानका लागि सहयोग नगरिएको स्वीकार गर्दै उनले नेपालखबरसँग भने, ‘प्रत्येक महिना गाउँपालिकाको कृषि शाखाको बैठक बस्छ। अब बस्ने बैठकमा गाजर खेती प्रवर्धनका विषयमा छलफल गरेर सहयोग गर्नेछौँ।’ 

पहाडी ढिस्कोमा फैलिएको हरियालीले जुरिखेत ‘गाजर गाउँ’का रूपमा चिनिन थालेको छ।

यहाँका ४० भन्दा बढी घरपरिवारको मुख्य रोजगारी र आम्दानीको भरपर्दो स्रोत नै गाजर बनेको छ।

जेठ र असारमा यहाँका गाजर काठमाडौँ, हेटौँडालगायतका स्थानमा बिक्रीका लागि पठाउने गरिएको छ भने अन्य समयमा हेटौँडा–भीमफेदी–काठमाडौँ रुटमा चल्ने सवारीसाधनका यात्रुले गाजर किन्ने गरेका छन्।

गाजरका बिरुवा गोडमेलमा व्यस्त जुरिखेतका किसान, हेर्नुहोस् तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad