बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिन आग्रह गरेका छन्।
मकवानपुर उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले हेटौँडामा सडक विस्तारका लागि संरचना भत्काउँदा व्यापारी पीडित भएको बताए। उनीहरूलाई बैंकको ब्याज मिनाहा गर्न सङ्घीय सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो।
व्यापारीले प्रदेश सरकारलाई बुझाउँदै आएको करमा सहजीकरण गर्न सरकार तयार रहेको उनले बताए। मुख्यमन्त्री बानियाँले पीडित व्यवसायीलाई सहयोग गर्न प्रदेश सरकारको तर्फबाट प्रतिबद्धता जनाए।
व्यापारमा इमानदारिता, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी आवश्यक रहेको उनको भनाइ थियो। व्यापारमा बेइमानी भए राज्यले अङ्कुश लगाउन सक्ने अवस्था आउन उनले बताए।
हेटौँडा बजारमा कम क्षति हुने गरी मुख्य सडक विस्तार गर्नुपर्नेमा उनको जोड थियो। लच्का पुलदेखि राप्ती पुलसम्म बाइपास बनाउन सङ्घीय सरकारले निर्णय गरे प्रदेश सरकारले आवश्यक बजेट छुट्याउन तयार रहेको उनले बताए।
Shares

प्रतिक्रिया