बागमती


प्रदेश सभाबाट राजीनामा दिएका दुई जनाले बाजी मारे, बाँकी न ‘तल’ रहे न ‘माथि’ गए

प्रदेश सभाबाट राजीनामा दिएका दुई जनाले बाजी मारे, बाँकी न ‘तल’ रहे न ‘माथि’ गए

सुनिता विष्ट
फागुन २५, २०८२ सोमबार १८:३५, हेटौँडा

प्रतिनिधि सभा निर्वाचनमा भाग लिन बागमती प्रदेश सभामा रहेका ६ सांसदहरूले राजीनामा दिए। जसमा पाँचजनाले मात्रै टिकट पाए।

दोलखाबाट प्रतिनिधि सभा निर्वाचनमा भाग लिन प्रदेश सांसदबाट राजीनामा दिएका कांग्रेसका कुन्दनराज काफ्लेले टिकट नै पाएनन्। उनी टिकट लिने समयमै फेल भए। यता, प्रदेश सांसदको पद पनि गयो। 

काफ्ले बाहेक नेकपा एमालेका अमन मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र वसन्तप्रसाद मानन्धर र राप्रपाका सुनिल केसीले भने प्रतिनिधि सभा निर्वाचनको टिकट पाए। 

सुनिल केसीले रास्वपा प्रवेश गरेर काठमाडौँ–२ को टिकट लिएका हुन्। प्रदेशमा ५ वर्षे कार्यकालको २३ महिना अवधि बाँकी हुँदै राजीनामा दिएर प्रतिनिधि सभाको चुनाव लड्न गएका ५ मध्ये दुईले ‘गोल्डेन गेट’ पार गरेका छन् भने तीनजना न प्रदेशमा रहे, न त प्रतिनिधि सभा सांसद बन्न पाए। 

प्रदेश छोडेर काठमाडौँ–२ मा रास्वपाबाट उम्मेदवार बनेका सुनिल केसी भारी मतान्तर सहित विजयी भएर प्रतिनिधि सभाको यात्रा तय गरेका छन्। उनले ३४ हजार २३८ मत प्राप्त गरे। कांग्रेसका कबिर शर्मालाई २५ हजार हजार ३६४ मतान्तरले पराजित गरेका हुन्।

शर्माले ८ हजार ८७४ मत प्राप्त गरेका छन्। केसी २०७९ को निर्वाचनमा काठमाडौँ १ (२) मा राप्रपाबाट विजयी भएर बागमती प्रदेश सभा सदस्य बनेका थिए। उनलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नै टिकट दिएका थिए। 

यता, सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल विजयी भएर प्रतिनिधि सभाको यात्रा सुरक्षित बनाएका छन्। सिन्धुपाल्चोक १ (२) बाट बागमती प्रदेशमा दुईपटक (२०७४ र २०७९) मा निर्वाचित भएका उनले प्रदेशको सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय समेत सम्हालेका थिए।

चर्चित नेता भएकै कारण नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले टिकट दिएका थिए। प्रदेशभर रास्वपामय नतिजा आउँदा नेकपाका दुलालले सिन्धुपालचोक–२ मा विजय हासिल गरेर प्रदेशमा निल हुनबाट जोगाएका छन्। 

उनले नेपाली कांग्रेसका वंशलाल तामाङलाई २ हजार ५५३ मतान्तरले पराजित गरेर विजयी भएका हुन्। दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दा तामाङले १९ हजार १४६ मत प्राप्त गरे। 

यसरी प्रदेशबाट राजीनामा दिएर प्रतिनिधि सभामा होमिएका मध्ये दुईजना निर्वाचित हुँदा प्रकाश श्रेष्ठ, अमन मास्के र वसन्त प्रसाद मानन्धरलाई भने रास्वपाका उम्मेदवारले हराएका छन्। 

काठमाडौँ–६ मा एमालेको उम्मेदवार बनेका मास्के तेस्रो हुँदा रास्वपाका शिशिर खनाल विजयी भएका छन्। खनाल २७ हजार ९१३ मत सहित विजयी भएका हुन्। कांग्रेसका कृष्ण बानियाँले ६ हजार ६६७ मत प्राप्त गरेर दोस्रो हुँदा मास्केले ४ हजार ५१८ मत सहित तेस्रो स्थानमै खुम्चिए। 

यता, प्रकाश श्रेष्ठ र वसन्त मानन्धर भने एउटै क्षेत्रमा उम्मेदवार बनेका थिए। २०७९ को निर्वाचनमा श्रेष्ठ काठमाडौँ २ (७) र मानन्धर १ (७) बाट बागमती प्रदेशमा निर्वाचित भएका थिए। उनीहरू प्रदेश सांसदबाट राजीनामा दिएर एउटै क्षेत्रमा प्रतिस्पर्धी बनेका थिए। तर यहाँ पनि रास्वपाका गणेश पराजुली भारी मतान्तरसहित विजयी हुँदा मानन्धर तेस्रो र श्रेष्ठ चौथो बने।

पराजुलीले २७ हजार ८०५ मत प्राप्त गर्दा कांग्रेसका प्रमोद हरी गुरागाईंले ३ हजार ९८२ मत प्राप्त गरे। तेस्रो भएका मानन्धरले ३ हजार ६६७ मत प्राप्त गर्दा चौथो भएका श्रेष्ठले ३ हजार ५४४ मत प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad