बागमती


१०४ वर्षीया कालिमायाको हातबाट आशिर्वाद लिएर चुनावी अभियानमा निस्किए बर्तौला

१०४ वर्षीया कालिमायाको हातबाट आशिर्वाद लिएर चुनावी अभियानमा निस्किए बर्तौला

नेपालखबर
माघ १२, २०८२ सोमबार १४:४६, हेटौँडा

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–२ मा उम्मेदवारी दिएका महेश बर्तौलाले १०४ वर्षीया कालिमाया मोक्तानको हातबाट आशिर्वाद लिएर चुनावी अभियान सुरु गरेका छन्। 

नेकपा एमालेका उम्मेदवार बर्तौलाले सोमबार बिहान हेटौँडा उपमहानगरपालिका–३ बसामीस्थित जम्बु चौतारीमा बस्दै आएकी कालिमायाको हातबाट आशिर्वाद ग्रहण गरेर चुनावी अभियान सुरु गरेका हुन्। 

राक्सिराङ गाउँपालिका स्थायी घर भएकी कालिमाया र उनका परिवार हेटौँडा–३ मा बस्दै आएका छन्। १०४ वर्षकी कालिमायाले बर्तौलालाई टीका, माला र खादा लगाउँदै जीतको शुभकामना दिइन्। आफ्नै हातले दही खुवाउँदै उनले जितेर सांसद र मन्त्री बन्नु भन्दै आशिर्वाद दिइन्। 

जिउँदो भगवानको रुपमा रहेको जेष्ठ नागरिक आमाको हातबाट आशिर्वाद ग्रहण गरेर जम्बु चौतारीबाट पार्टीको औपचारिक चुनावी कार्यक्रमको अभियान सुरु गरिएको बर्तौलाले बताए। 

उनले २०७९ को निर्वाचनमा विजयी गराएर पठाएपछि निर्वाचन क्षेत्र र सिंगो मकवानपुरको लागि विभिन्न विकासका योजनाहरू ल्याउन सफल भएको बताए। सांसद निर्वाचित भएर काम गरिरहँदा ३२ महिनामै संसद विघटन भएका कारण बाँकी योजनाहरू पूरा हुन नसकेको बताए। ती योजनाहरू पूरा गर्नका लागि दोस्रो पटक अवसर दिन बर्तौलाले आग्रह गरे। 

एमालेकी केन्द्रीय सदस्य भारती पाठकले बर्तौलाले गत निर्वाचनमा निर्वाचित भएर गएपछि गरेका कामहरू, सदनमा उठाएका आवाजलाई आधार मानेर मतदान गर्नुपर्ने बताइन्। मकवानपुरका समस्यालाई संघीय संसदमा उठाएर केन्द्रीय स्तरमै ध्यानाकर्षण गराउन सक्ने सक्षम उम्मेदवार एमालेले अघि बढाएका कारण यो पटक मकवानपुर–२ मा बर्तौला बाहेक अरुलाई मत दिन नहुने उनको भनाई थियो।

कार्यक्रमा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले देश जलाउने विरुद्धको देश बनाउनेहरूलाई मतदान गर्नुपर्ने बताए। उनले नयाँ दल भनेर मतदातामा भ्रम फैलाए पनि विकासका कामहरू सबै पूराना दलले गरेको दाबी गरे।

औपचारिक उद्घाटन पश्चात् अब चुनावी भेटघाटलाई तीव्रता दिइने बर्तौलाले बताए। निर्वाचन कार्यालयको निर्देशन अनुसार फागुन ४ अघि कुनै सभा, समारोह, आमसभा जस्ता कार्यक्रम भने नगर्ने उनको भनाइ छ। 

बर्तौला २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट पाँच दलीय गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार मतान्तरले पराजित गर्दै विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad