नेकपा एमालेले आउने फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकले मकवानपुर-१ मा रामेश्वर राना र २ मा महेशकुमार बर्तौला उठाउने निर्णय गरेको हो।
बर्तौला यअसघि २०७९ मा भएको निर्वाचनमा पनि मकवानपुर-२ बाटै निर्वाचित सांसद हुन्।
मकवानपुर-१ मा भने गत चुनावमा एमालेले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको थियो। तर उनी हारे।
मकवानपुर १ मा गुमेको साख फिर्ता ल्याउन एमालेले यसपटक आफ्नै पार्टीका रानालाई अवसर दिएको हो।
महेश बर्तौला
पहिलोपटक २०७९ मै प्रतिनिधि सभा चुनाव लडेका बर्तौलाले पहिलो यात्रामै सानदार जित हासिल गरेका थिए।
उनले पाँचदलीय गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार मतान्तरले हराएका थिए।
त्यही लय कायम राख्न एमालेले यस क्षेत्रबाट संविधान सभा सदस्य सुवासचन्द्र ठकुरीको नाम पनि सिफारिस भएकामा बर्तौलालाई नै छानेको हो।
रामेश्वर राना
यसअघि लगातार जितिरहेको मकवानपुर-१ मा एमालेले पहिलोपटक २०७९ को निर्वाचनमा फरक दल तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उठाएको थियो।
तर त्यहाँ राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह विजयी हुँदा थापा तेस्रो स्थानमा देखिए।
गुमेको साख फिर्ता ल्याउने उद्देश्यका साथ यसपटक एमालेले केन्द्रीय सदस्य रामेश्वर रानालाई टिकट दिएको हो।
मकवानपुरमा एमालेको विगत
दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा एमालेले २०७४ सालमा दुवै क्षेत्रमा जितेको थियो।
त्यसबेला एमालेबाट क्षेत्र नम्बर १ मा कृष्णप्रसाद दाहाल र २ मा विरोध खतिवडा विजयी भएका थिए।
दाहाल तत्कालीन राप्रपाका अध्यक्ष कमल थापालाई हराउँदै सांसद बनेका थिए भने खतिवडा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई हराएर प्रतिनिधि सभामा पुगेकी थिइन्।
तर २०७९ को निर्वाचनमा विरोध खतिवडा एमालेबाट फुटेर बनेको तत्कालीन नेकपा एकीकृत समाजवादीमा लागिसकेको थिए।
उनी पाँचदलीय गठबन्धनको साझा उम्मेदवार बने। तर उनी एमालेकै उम्मेदवार अनि आफ्नै चेला महेश बर्तौलासँग हारे।
Shares

प्रतिक्रिया