प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएको छ। आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि यतिबेला राजनीतिक दलका नेताहरु शक्ति केन्द्र धाइरहेका छन्।
दुईवटा क्षेत्र रहेको मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारमा आफ्नो नाम सिफारिसमा परेदेखि नै बर्तौला मतदातामाझ पुग्न थालेका हुन्।
विघटित प्रतिनिधि सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका बर्तौलाको नाम मकवानपुर-२ बाट पहिलो नम्बरमा सिफारिसमा परेको छ। एमाले मकवानपुर जिल्ला कमिटीले दोस्रो नम्बरमा भने संविधान सभा सदस्य सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको छ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रका लागि बर्तौला र ठकुरीसहित नेताहरू बुद्धरत्न मानन्धरको समेत नाम सिफारिस गरेर केन्द्र पठाइएको थियो। तर उतिबेला एमाले छोडेर तत्कालीन नेकपा एकीकृत समाजवादीमा गएका मकवानपुरका नेता विरोध खतिवडालाई विलय गराउने एमाले अध्यक्ष केपी शर्मा ओलीको तार्गेट पूरा गर्न उनै ओलीले बर्तौलालाई टिकट थमाए।
बर्तौलाको शालिन भाषण र मधुरो बोलीले मकवानपुर-२ का मतदाताको मन जित्यो। ५ दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडालाई ४ हजार बढी मतान्तरले हराउँदै बर्तौला विजयी भए। अध्यक्ष ओलीको तार्गेट पूरा गरेकै कारण संसदीय यात्रा सुरुवात देखि ओलीको विश्वासपात्रको रुपमा परिचित छन्।
सोही विश्वासको आधारमा बर्तौला गाउँघर डुल्न थालेका हुन्। संविधान सभा सदस्य ठुकरी भने काठमाडौँ केन्द्रीत हुँदा बर्तौला मतदाता केन्द्रीत भएको तस्बिर सामाजिक सञ्जालमा दैनिकजसो पोस्ट गरिरहेका छन्।
पदमा नभएपछि बढी फुर्सदिलो भएको बताउँदै उनले भने, ‘अहिले पनि भीमफेदीमै छु। ठूला कार्यक्रम केही छैनन्। यसो हुँदा जनताको दुख, अप्ठेरोमा उपस्थिती जनाइरहेको छु।’
टिकट तँपाईले नै पाउने पक्का भैसकेको हो भन्ने नेपालखबरको प्रश्नमा बर्तौलाले भने, ‘टिकटको विषयमा तनाव छैन। हामी दुवैजनाको नाम सहमतिमै सिफारिस गरेर पठाइएको हो। ठूलो प्रतिस्पर्धा केही छैन। सुवास दाइले पनि आकंक्षा जनाउनुभएको अवस्थामा नाम सिफारिस गरौँ भनेर मैले नै प्रस्ताव गरेको हो। उहाँबाट गाह्रो हुन्छ भन्ने मलाई लाग्दैन।’
यता, बर्तौला सँगै दोस्रो नम्बरमा सिफारिसमा परेका ठकुरी पनि टिकट आफ्नै पोल्टामा पर्नेमा दुइमत नरहेको बताउँछन्। ‘अघिल्लो पटक पनि आंकक्षा देखाएको थिएँ,’ ठकुरीले भने, ‘उम्मेदवार बन्न सकिएन। यो पटक पनि नाम सिफारिसमा परेको छ। पर्टीले सम्भावना देखेर नै मलाई सिफारिस गरेर पठाएको हो। टिकट नपाउँला जस्तो लागेको छैन। टिकट मैले पाउने कि बर्तौला जी ले भन्नेमा दुवैजनाको उत्तिकै सम्भावना छ।’
ठकुरी पनि एमाले मकवानपुरको राजनीतिमा हेभीवेट नेताको रुपमा परिचित छन्। २०७० सालको संविधान सभा निर्वाचनमा ठकुरीले तत्कालीन माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई १ हजार बढी मतान्तरले हराएर विजयी भएका थिए।
२०७४ को प्रतिनिधि सभा निर्वाचनका लागि पनि ठकुरीको नाम जिल्ला कमिटीले सिफारिस गरेको थियो। तर तत्कालिन अवस्थामा विरोध खतिवडालाई नै उम्मेदवार बनाउन पार्टीभित्र माधवकुमार नेपालले भूमिका खेले। फलस्वरुप खतिवडा नै एमालेको उम्मेदवार बनेर विजयी पनि भए।
२०७९ को निर्वाचनका लागि ठकुरीले पुनः उम्मेदवार बन्न सोही क्षेत्रबाट उम्मेदवार सिफारिस भए। तर एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाको नारा चलाएपछि ठकुरीको नाम केन्द्रमै काटियो। महेश बर्तौलाले टिकट पाएर जिते।
यससरी २०७० पछिका निर्वाचनहरुमा पटक/पटक पाखा लगाइएका ठकुरी फागुन २१ को निर्वाचनको उम्मेदवार बन्नेमा ढुक्क देखिएका हुन्। मकवानपुरको विकासमा आफ्नो ठूलो योगदान रहेको बताए।
मकवानपुरका मतदाताले आफूलाई बुझेका कारण पार्टीको शीर्ष तहले टिकट दिने र मतदाताले जिताउनेमा विश्वस्त रहेको ठकुरीको दाबी छ। उनी पनि एमाले अध्यक्ष ओली निकटका नेता हुन्।
Shares

प्रतिक्रिया