बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। लामो समयदेखि अस्पतालमा उपचारत आलेमगरको स्वास्थ्य अवस्था थप जटिल बनेपछि थप उपचारको लागि भारत लैजाने तयारी भैरहेको बताइएको छ।
विगत लामो समयदेखि पेटसम्बन्धी समस्या रहेको उनलाई पछि अल्सर र हाल कलेजो सम्बन्धी समस्या भइ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उनको पारिवारीक स्रोतले जनाएको छ।
तत्कालीन मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री रहेकी उनको हाल आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ। थप उपचारका लागि छिमेकी मुलुक भारत लैजाने तयारी भैरहेको हो।
उपचारमा संलग्न चिकित्सकहरुले सांसद आलेमगरको थप उपचारका लागि भारत लैजान सुझाव दिएको उनको भाइ राम आलेमगरले जनाकारी दिए।
उनका अनुसार आर्थिक अभावका कारण उनको उपचारमा समेत समस्या भइरहेको र सहयोग उठाउन थालिएको छ। उनको उपचारमा सहयोग गर्न निरन्तर खटिइरहेका प्रकाश खड्काले सामाजिक सञ्जालमा सांद आलेमगरको फोटो र बैक क्युआर सेयर गर्दै थप उपचारका लागि सहयोग गर्न अनुरोध छन्।
आलेमगर २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) काठमाडौँ क्षेत्र नम्बर १० (ख) बाट प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएकी हुन्।
हाल नवगठित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा समेत प्रस्तावित भएकी छिन्।
Shares

प्रतिक्रिया