बागमती प्रदेशका पूर्वराज्यमन्त्री रजनी जोन्छेको निधन भएको छ।
प्रदेश सरकारका पूर्वउद्योग राज्यमन्त्री जोन्छेको मंगलबार (आज) बिहान निधन भएको हो।
उनी ७७ वर्षकी थिइन्।
भक्तपुर घर भएकी उनको भक्तपुरकै मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारका एक सदस्यले जानकारी दिए।
२०६२/६३ को लोकतान्त्रिक आन्दोलनपछि सक्रिय राजनीतिमा प्रवेश गरेकी उनी २०७४ सालमा कांग्रेसका तर्फबाट भक्तपुरबाट समानुपातिक सांसद बनेकी थिइन्।
पार्टी सभापति देउवानिकट जोन्छे तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारमा राज्यमन्त्री बनेकी थिइन्।
नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहेकी उनी सहिद राधेश्याम जोन्छेकी श्रीमती हुन्।
राजनीतिसँगै उनले राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवा, महिला सशक्तीकरण र बालशिक्षा क्षेत्रमा काम गरेकी थिइन्।
जोन्छेका तीन छोरा छन्।
Shares

प्रतिक्रिया