बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा बुद्द लामा नियुक्त भएका छन्।
नयाँ सरकार गठन भएर मन्त्रिपरिषद्ले पूर्णता पाएपछि बिहीबार बसेको पहिलो बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। बुद्ध नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति समेत हुन्।
यस्तै, बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङलाई दिइएको छ। यसअघि खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ प्रवक्ताको जिम्मेवारी थिए।
प्रवक्ता तामाङले ६ जना सचिवको पदस्थापन गर्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार इश्वरचन्द्र मरहठ्ठा भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव, इन्द्रदेव भट्ट खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको सचिव, वीरेन्द्रदेव भारती युवा तथा खेलकुद विकास मन्त्रालय, बलराम ढकाल श्रम रोजगार तथा यातायात मन्त्रालयको सचिव, झलकराम अधिकारी आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव र पूर्णबहादुर दर्जी सामाजिक विकास मन्त्रालयको सचिवमा पदस्थापन भएको निर्णय गरिएको हो।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका र अस्ट्रेलियाको मेरिब्रेक सिटी काउन्सिलबीच भगिनी सम्बन्ध विस्तार गर्न परामर्श सम्बन्धमा निर्णय भएको प्रवक्ता तामाङले जानकारी दिए।
बागमती प्रदेशमा कार्यरत कर्मचारीहरुको महंगी भत्तामा बृद्धि गरिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। विनियोजन विधेयकमै उल्लेख भएर आएअनुसार प्रदेशमा कार्यरत कर्मचारीको महंगी भत्ता ३ हजार रुपैयाँबाट बढाएर ५ हजार रुपैयाँ पुर्याउने निर्णय गरिएको प्रवक्ता तामाङले बताए।
Shares

प्रतिक्रिया