बागमती प्रदेश लम्पी स्किन रोग विरुद्धको सप्ताहव्यापी खोप अभियानमा ९६ हजार गाईभैँसीमा खोप लगाइएको छ।
प्रदेशको १३ जिल्लामा यही भदौ १ गतेबाट सुरु भएको खोप अभियानमा ९६ हजार ३ सय ४७ गाईभैँसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयले १ लाख २० हजार पशुवस्तुमा खोप लगाउने लक्ष्य सहित सप्ताहव्यापी अभियान सुरु गरेकोमा अभियान अवधिभर लक्ष्यको ८०.२९ प्रतिशत मात्रै खोप लगाइएको हो। जसमा सबैभन्दा धेरै खोप मकवानपुरमा लगाइएको मन्त्रालयको तथ्यांक छ।
प्रदेशका १३ जिल्लामध्ये १० स्थानीय तह रहेको मकवानपुरमा सप्ताहव्यापी खोप अभियानभर २४ हजार ६ सय ९५ डोज खोप लगाएको तथ्यांक छ।
मन्त्रालयले मकवानपुरको लागि २५ हजार डोज खोप उपलब्ध गराएको थियो। बाँकी ३ सय ५ डोज खोप पनि आवश्यकताको आधारमा लगाइने पशु सेवा कार्यालय, मकवानपुरका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिए।
उनका अनुसार अभियानको पहिलो दिनबाटै खोप लगाउनका लागि सबै स्थानीय तहका वडाहरुमा भ्याक्सिनेटर खटाइएको थियो। सोही उपलब्धि अनुरुप मन्त्रालयले दिएको खोप शतप्रतिशत लगाउन सफल भएको ठाकुरले बताए।
त्यसोत, १३ जिल्लामध्ये सबैभन्दा कम खोप ललितपुरमा लगाइएको छ। काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरको लागि पशु सेवा कार्यालय, ललितपुरलाई उपलब्ध गराइएको १० हजार डोज खोपमध्ये ललितपुरमा ३ हजार ६ सय ९ डोज मात्रै खोप लगाइएको छ।
यस्तै, काठमाडौँमा ४ हजार ३ सय ५० डोज र भक्तपुरमा १ हजार ५ सय ४३ डोज खोप लगाइएको मन्त्रालयको तथ्यांक छ।
यस्तै, सिन्धुलीमा १२ हजार डोज खोप उपलब्ध गराएकोमा १० हजार ३ सय २८ डोज खोप लगाइएको तथ्यांक छ भने रामेछापमा ४ हजार ३ सय ३७, धादिङमा ६ हजार ५१, काभ्रेमा ७ हजार ६ सय ९८, नुवाकोटमा ७ हजार ७ सय २४ र रसुवामा ३ हजार ६ सय ३४ डोप लम्पी स्किन विरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांक छ।
यता, दोलखामा ९ हजार ९ सय ८२, सिन्धुपाल्चोकमा ६ हजार २ सय ८४ र चितवनमा ६ हजार १५ डोज खोप लगाइएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ।
खोप वितरणमा सबैभन्दा बढी खोप पाएको पशु सेवा कार्यालय चितवनमा सप्ताहव्यापी अभियानभर जम्मा ६ हजार डोज मात्रै खोप लगाइएको पाइएको छ। चितवन बागमती प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा धेरै पशुपालन हुने जिल्ला हो।
मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत एवंम् पशुपन्छी विकास महाशाखा प्रमुख डा रामप्रकाश प्रधानका अनुसार चितवनमा गाईको संख्या ९२ हजार २ सय ५६ छ भने भैँसीको संख्या ७२ हजार २ सय छ।
दुध उत्पादनको क्षेत्रमा चितवन प्रदेशकै पहिलो जिल्ला हो। यहाँ मन्त्रालयका अनुसार चितवनमा वार्षीक ९५ हजार १ सय ४८ मेक्ट्रिक टन दुध उत्पान हुने गरेको छ।
यसरी दुध उत्पादन देखि गाईभैँसीको संख्या समेत सबैभन्दा धेरै रहेको र मन्त्रालयले सबैभन्दा धेरै ३० हजार डोज खोप उपलब्ध गराएको अवस्थामा ७ स्थानीय तह रहेको चितवनमा अभियानभर ६ हजार डोज मात्रै खोप लगाउनाले मन्त्रालयको लक्ष्य अनुसारको प्रगति भेट्न नसकिएको कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले बताए।
उनका अनुसार चितवनमा उपलब्ध गराएको खोपमध्ये २५ हजार बढी डोज खोप लगाउन बाँकी रहेको कारण प्रगति अंक भेट्न नसकिएको मन्त्री पौडेलले बताए।
‘अन्य जिल्लाहरुमा लगाइएको खोपको प्रगति राम्रो छ, तर चितवनमा खोप अभियान प्रभावकारी बन्न सकेन भन्ने गुनासो आएपछि म आफै अनुगमनका लागि चितवन पुगेँ, उनले भने, ‘त्यहाँ रहेका ठूला/ठूला फार्महरुले आफै किनेर पनि खोप लगाइसकेका रहेछन्। धेरैजसो सहकारीहरुले नै पनि गाईभैँसीमा खोप लगाइदिएका रहेछन् । स्थानीय तहले पनि लम्पी स्किन विरुद्धको खोप खरिद गरेर लगाइदिएको रहेछ। जसले गर्दा यो अभियानका लागि पठाइएको खोपको २५ प्रतिशत पनि लगाउन नपाएको भन्ने बुझियो।’
मन्त्रालयका अनुसार ७२ हजार ९ सय १७ गाई/गोरुलाई र २३ हजार ४३० भैँसी/पाडापाडीलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको हो। भदौ १ गतेदेखि ७ गते शनिबारसम्म लम्पी स्किन रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिएको हो। यो अभियानमा बचेका खोप निरन्तर लगाइने बताइएको छ।
बागमतीका १३ जिल्लामा ४ लाख ८१ हजार ७ सय ७१ मेक्ट्रिक टन दुध उत्पादन हुँदै आएको छ।
के हो लम्पी स्किन रोग?
गाई तथा भैंसीमा देखिने संक्रामक लम्पी स्किन रोग पछिल्लो समय नेपालका विभिन्न जिल्लामा तीव्र रूपमा फैलिएको छ।
छालामा गाँठा पार्ने विशेष लक्षणका कारण चिनिने यो रोग पशु चिकित्सकका अनुसार रोग मुख्यतः मच्छर, जुइँ, झिंगा जस्ता किराहरु मार्फत एक पशुबाट अर्कोमा फैलिन्छ।
संक्रमित पशुमा शरीरभरि गोलो–गोलो गाँठा देखिनु, ज्वरो आउनु, दूध उत्पादन अचानक घट्नु, नाक र आँखाबाट पानी आउनु तथा खाना खान छाड्ने लक्षण देखिन्छ।
गर्भवती गाई–भैंसीमा गर्भपतन समेत हुने जोखिम उच्च रहेको छ। साथै संक्रमित पशुलाई छुट्टै राख्न, घाउ सफा गर्न र मच्छर–फट्याङ्ग्रा नियन्त्रणमा ध्यान दिन किसानलाई आग्रह गरिएको छ।
पशु स्वास्थ्य विज्ञहरुका अनुसार उचित समयमा खोप लगाउने र सरसफाइमा ध्यान दिने हो भने रोगलाई नियन्त्रण गर्न सकिने पशु चिकित्सकहरु बताउँछन्।
Shares

प्रतिक्रिया