नेपाली कांग्रेस बागमती संसदीय दलको नेताको चयनको प्रक्रिया बुधबार (भोलि) हुने भएको छ। आज हेटौंडामा बसेको नेपाली कांग्रेस बागमती प्रदेश समितिको बैठकले प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहनेगरी निर्वाचन समिति गठन गरेको थियो। सोही समितिले निर्वाचनको तालिका सार्वजनिक गरेको हो।
समितिले सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सम्पूर्ण प्रक्रिया बुधबार नै सम्पन्न गरिनेछ।
उनका अनुसार बुधबार बिहान ८ बजे निर्वाचनमा सहभागी हुने मतदाताहरूको नामावली प्रकाशन गरिनेछ बताइएको छ। मतदाता नामावली उपर दाबी विरोध सच्याउने समय ८ः३० देखि ९ बजेसम्मका लागि तोकिएको छ भने दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली ९ः३० मा प्रकाशन गन् संयोजक श्रेष्ठले बताएका छन्।
उम्मेदवारहरूको लागि दरखास्त बिहान १० बजेदेखि ११ बजेसम्म, उम्मेदवारको प्रथम नामावली प्रकाशन ११ः३० मा गर्ने बताइएको छ। यस्तै, उम्मेदवारको दरखास्त विरुद्ध दाबी विरोध ११ः३० देखि १२ बजेसम्मका लागि समय तोकिएको छ।
उम्मेदवारको नामावली प्रकाशन १२ बजे, उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा १ घण्टाको समय छुट्याइएको छ। १२ देखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने समय छुट्याइएको छ भने दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समिति संयोजक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दलको नेताको लागि मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्ममा हुने र मतदान प्रक्रिया सकिए लगत्तै मतगणनाको प्रक्रिया सुरु गरिने श्रेष्ठले बताए।
मतदान प्रदेश सभा भवन परिसरमा रहेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा सम्पन्न हुनेछ। मतदान सकिएपछि मतगणना तुरुन्तै सुरु गरिने बताइएको छ। समितिले निर्वाचन प्रक्रिया निष्पक्ष, स्वच्छ र समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्।
Shares

प्रतिक्रिया