मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट ल्याएको छ। मंगलबार (आज) गाउँपालिकाको सभाहलमा भएको १६औं गाउँसभामा कुल ५३ करोडको बजेट ल्याएको हो।
जसमा चालूतर्फ ३२ करोड ८२ लाख ३ हजार १ सय रुपैयाँ अर्थात् कुल बजेटको ६०.९ प्रतिशत र पुँजीगततर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३९.१ प्रतिशत बजेट ल्याएको हो।
१० वटा स्थानीय तह रहेको मकवानपुरको सबैभन्दा विकट कैलाश गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा ५ करोड बजेट बढाएर ल्याएको हो। चालू आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख रुपैयाँ बजेट रहेको थियो। आगामी आर्थिक वर्षका लागि पुँजीगत बजेट ६ करोड भन्दा बढी बढेको छ भने चालू खर्चतर्फ पनि १ करोड बढी बजेट बढाएर ल्याएको हो।
जसमा आर्थिक विकासतर्फ २ करोड ७७ लाख ६४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ चालू र पुँजीगत दुवै गरी २३ करोड ४९ लाख ६४ हजार, पूर्वाधार विकास तर्फ पुँजीगत खर्च १६ करोड ४४ लाख बजेट विनियोजन भएको छ। यस्तै, वातावरण तथा विपद्ततर्फ ४३ लाख पुँजीगत बजेट, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ चालू र पुँजीगत दुवै गरी ९२ लाख ९२ हजार १ सय रुपैयाँ र गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ९ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताइएको छ।
गाउँपालिकाकाले आफ्नो पालिकामा बसोबास गर्ने सीमान्तकृत, अपाङ्गता भएका तथा सहिद परिवारका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउनका लागि बजेट विनियोजन गरेको छ। प्रयेक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने संवैधानिक हकको सुनिश्चितता गर्दै विद्यालयबाट वञ्चित बालबालिको शिक्षाको लागि बजेट विनियोजन गरिएको कैलाश गाउँपालिकाकाले जनाएको छ।
यस्तै, गाउँपालिकाभित्रका सहकारी संस्थालाई नेपाल सरकारको प्रणालीमा आबद्ध गरी संगठनात्मक विकास गर्न सहकारी क्षेत्रमा बजेट विनियोजन गरेको छ भने विपद् व्यवस्थापनको क्षेत्रमा कुल बजेटको ४३ लाख रुपैयाँ छ्ट्याएको बताइएको छ।
बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियानको रुपमा विगतका आर्थिक वर्षदेखि सुरुवात गरेको चेली प्रोत्साहन कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिनका लागि बजेट विनियोजन गरेको छ भने चेपाङ समुदायको सांस्कृतिक, सामाजिक र ऐतिहासिक विशेषतालाई सम्मान गर्दै चेपाङ संरक्षित क्षेत्रको रुपमा विकास गरिने यस गाउँपालिकाले नीति लिएको छ।
हिंसामुक्त गाउँपालिका हाम्रो पहिचान अभियान सञ्चालन गरी सबै प्रकारका हिंसाविरुद्ध शून्य सहनशीलता नीति लिइने बताइएको छ भने अतिविपन्न, सीमान्तकृत र अल्पसंख्यक महिलाहरुलाई विशेष प्राथमिकता दिँदै ग्रामीण महिलाहरुको सीप, क्षमता र दक्षता विकास गर्न ग्रामीण महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
Shares

प्रतिक्रिया