बागमती


मौसम विभागले भन्यो: सिन्धुपाल्चोक क्षेत्रमा मनसुन कमजोर नै छ तर बाढीबाट सतर्क रहन जरुरी छ

मौसम विभागले भन्यो: सिन्धुपाल्चोक क्षेत्रमा मनसुन कमजोर नै छ तर बाढीबाट सतर्क रहन जरुरी छ

फाइल तस्बिर: सिन्धुपाल्चोक क्षेत्र


नेपालखबर
असार ४, २०८२ बुधबार १८:५९, काठमाडौँ

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले सिमाना जोडिएको चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सूचना प्राप्त भएकाले भोटेकोसी र सुनकोसी नदी आसपास बसोबास गर्ने बासिन्दालाई सतर्क रहन सुझाव दिएपछि जल तथा मौसम विज्ञान विभागले त्यहाँको मौसम विश्लेषण गरेको छ।

विभागका अनुसार अहिलेसम्मको अध्ययनले सिन्धुपाल्चोक र यसको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर छ। त्यसैले त्यस क्षेत्रमा हल्कादेखि मध्यमसम्म मात्र वर्षा हुने सम्भावना छ।

तथापि मनसुनको प्रभाव रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको विभागको भनाइ छ। 

‘भूउपग्रह तथा मौसम प्रारूपहरूबाट प्राप्त तथ्यांक तथा सूचनाको हालको विश्लेषणका आधारमा सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेकाकोले हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको सबैमा जानकारी गराइन्छ’, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि मनसुनको प्रभाव रहिरहेको हालको अवस्थामा मौसम तथा बाढीलाई यस विभागले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा मौसम तथा बाढीको सूचना अद्यावधिक गर्दै जानेछ। तसर्थ सबैलाई अद्यावधिक सूचनाको जानकारी लिई सतर्कता अपनाउनसमेत यस विभाग हार्दिक अपिल गर्दछ।’

यसअघि सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सूचना जारी गरी भनेका थिए, ‘असार ३ गतेदेखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोसी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएको छ। भोटेकोसी र सुनकोसी नदी आसपास (भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोसी/सुनकोसी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने भएकाले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ।’

यसपछि मौसम विभागले जारी गरेको सूचना हेर्नुहोस्-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad