बागमती


धापाखेलमा २२-२३ लाख सहयोग गर्दा अख्तियारमा बयान दिँदै छु: चिरिबाबु महर्जन

धापाखेलमा २२-२३ लाख सहयोग गर्दा अख्तियारमा बयान दिँदै छु: चिरिबाबु महर्जन

नेपालखबर
जेठ ११, २०८२ आइतबार १०:५२, काठमाडौँ

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अफ्ठ्यारो रहेको बताएका छन्।

आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन्।

उनले कुनै पनि काम गर्दा ऐन, कानुनमा ह्रस्वदीर्घ मिलेन भने रातो घरमा उभिनुपर्ने अवस्था रहेको बताए।

उनले २०७८ असार पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुने गरी बाढी गएको र त्यहाँको अवस्थालाई हेरेर तत्कालै २२-२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियारमा बयानका लागि धाइरहेको गुनासो गरे।

राष्ट्रिय विपद् आइपर्दा पनि छिटोभन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने विडम्बना रहेको भन्दै उनले दुखेसो पोखे।

राम्रा काम गर्नेहरूमाथि नियमनकारी निकायले छड्के नजरले हेर्न नहुने उनको धारणा थियो।

‘यो मुलुकमा काम गर्न साह्रै अफ्ठ्यारो, साह्रै गाह्रो छ,’ प्रमुख महर्जनले भने, ‘कुनै पनि काम गर्दा ऐन-कानुनमा ह्रस्वदीर्घ मिलेन भने रातो घरमा उभिन जानुपर्छ। यहाँको खतरापूर्ण कुरा यो छ। मैले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुने गरी बाढी, पहिरो आयो। यसको मैले निरीक्षण गरेँ। निरीक्षणका क्रममा त्यहाँका मानिसहरूमा एक किसिमको रोइकराइ भयो, देखेँ। त्यसपछि म पनि धेरै दुःखी भएर फर्किएँ। महानगरको मेयरसम्म भएको अधिकारबमोजिम मैले उहाँहरूलाई तत्कालै २२-२३ लाख रुपैयाँ सहयोग गरेँ। तर त्यो सहयोग गरेको कुरामा मलाई अहिले पनि अख्तियारमा बयान दिनुपर्छ। अझै टुंगिसकेको छैन। यी र यस्तै कुराले नि यस्तो किसिमको राष्ट्रिय विपद् आइपर्दा पनि हामीले छिटोभन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने, कस्तो विडम्बना यो? यसलाई कसरी समाधान गर्ने? त्यसमा सोच्नुपर्छ।’

प्रमुख महर्जनले आफूले बोलेकामध्ये ढुंगेधारामा पानी ल्याउन नसक्नुबाहेक अरू काम पूरा गरेको दाबी पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad