बागमती


राजनीतिले जनताको सामाजिक र आर्थिक रुपान्तरण गर्न सकेन : पूर्वराष्ट्रपति भण्डारी

राजनीतिले जनताको सामाजिक र आर्थिक रुपान्तरण गर्न सकेन : पूर्वराष्ट्रपति भण्डारी

नेपालखबर
बैशाख २०, २०८२ शनिबार १७:१३, हेटौंडा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिले जनताको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न नसकिएको बताएकी छिन्। जनताको जीवनमा सकारात्मक आभास हुनेगरी सामाजिक, आर्थिक रुपान्तरण गर्न अझै बाँकी रहेको उनको भनाइ छ।

शनिबार मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो साधारणससभा तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिले जनताको जीवनमा सकारात्मक नतिजा ल्याउनुपर्छ भन्ने मदनभण्डारीको मुल भनाइलाई आत्मासाथ गर्दै अघि बढ्नुपर्ने बताइन्। 

‘राजनीतिले समाजमा र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ भन्ने जननेता मदन भण्डारीको विचार थियो,’ उनले भनिन्, ‘त्यसैले राजनीतिले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ भन्ने जननेता मदन भण्डारीको विचारलाई पछ्याउँदै हामीले समाजको आर्थिक सामाजिक व्यवस्थाको सकारात्मक रुपान्तरणलाई मुल लक्ष्य बनाएर अघि बढ्नु पर्छ भन्ने कुरा राख्न चाहन्छु।’

राजनीतिक प्रभाव र लोकप्रियताको केन्द्रमा मदन भण्डारीको विचारको स्पष्टता र त्यसको व्यवहारिक कार्यान्वयन रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन्। लोकतन्त्र स्थापना र सुदृढीकरणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने मदन भण्डारीले बसालेको जगमा टेकेर नेपालले संविधान र लोकतन्त्र स्थापना जस्ता महत्वपूर्ण कार्य सम्पन्न गरेको उनको भनाइ छ।

‘मौलिक अभ्यास र अनुभव समेतका आधारमा मदन भण्डारीले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभयो,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘जनताको बहुदलीय जनवाद नेपाली समाजको विशिष्टतामा आधारित मौलिक राजनीतिक सिद्धान्त हो। नेपाली जनताको सक्रिय सहभागिता बहुदलीय प्रतिस्पर्धा खुला लोकतान्त्रिक प्रणालीलाई स्वीकार गर्दै समाजवादको दिशातर्फ जाने बाटो देखाएको छ। यस मार्गदर्शनलाई पछ्याउनु आम कम्युनिष्टको कर्तव्य हो।’

भण्डारीका विचार सिद्धान्त र योगदानको अध्ययन अनुसन्धान विश्लेषण र प्रवद्धन गर्ने उद्देश्यले मदन भण्डारी फाउन्डेसनको स्थापना भएको उनले बताइन्। फाउन्डेसनको मकवानपुर शाखाले पनि यही उद्देश्य अनुरुप नै आफ्ना क्रियाकलापहरु सञ्चालन गरिरहेको होला भन्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा श्री चन्द्रशर्मा स्मृति पुरस्कार-२०८२ बाट हेटौंडा निवासी सेल्टरदाता शुभद्रा रेग्मीलाई पुरस्कृत गरिएको थियो। नगद १५ हजार रुपैयाँसहित पुरस्कृत भएकी रेग्मीले उक्त रकम मामाघर नेपाल नाम संस्थालाई हस्तान्तरण गरिन्। अनाथ बालबालिकाहरुले आश्रय लिदैँ आएको संस्थालाई आफूले पाएको पुरस्कार स्वरुपको रकम प्रदान गर्न पाउँदा खुसी लागेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad