मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पताल परिसरको बोर्ड तोडफोड भएको छ। आइतबार बिहान अस्पतालको साइनबोर्डमा तोडफोड तथा केरमेट गर्दै अर्को बोर्ड टाँसिएको हो।
हेटौँडा अस्पताल बचाउ अभियानका सदस्यहरू आएर एक्कासी अस्पतालको बोर्ड केरमेट गरेका हुन्।
यता, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भर्त्सना गरेको छ।
प्रतिष्ठानका निमित्त उपकुलपति डा दिनेश कुमार लम्साल र रजिष्ट्रार भीमसागर गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालको साइनबोर्डमा गरिएको तोडफोड, केरमेट तथा अनधिकृत रूपमा अर्को बोर्ड टाँस्ने कार्य कानुनविपरीत भएको उल्लेख गरिएको छ।
२०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पताल सञ्चालनमा छ। प्रतिष्ठानले स्वास्थ्य विज्ञानको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्ने तथा सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य लिएको छ।
प्रतिष्ठानका अनुसार हाल १ सय भन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट दैनिक १५ सय भन्दा बढी बिरामीलाई सेवा दिइँदै आएको अवस्थामा भएको यस प्रकारको गतिविधिले अस्पताललाई पुनः रेफर सेन्टरको रुपमा फर्काउने उद्देश्य राख्ने स्वार्थ समूहलाई मात्र लाभ पुग्ने देखिन्छ।
विज्ञप्ति मार्फत प्रतिष्ठानले घटनाका दोषीहरूलाई तुरुन्त छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, अस्पतालको सेवा प्रवाहमा अवरोध नआओस् भनेर सबै राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, बिरामी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको संयमता र सहयोगको अपेक्षा गरिएको उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया