गर्मीयाम सुरु भएसँगै पछिल्लो समय जताततै वन डढेलोको प्रकोप बढिरहेको छ। बागमती प्रदेशका चितवन, धादिङ, सिन्धुली, मकवानपुर लगायत प्रायः जिल्लामा वन डढेलो लाग्दा वायु प्रदूषण बढेको छ।
वनमा लागेको डढेलोका कारण जंगली जनावर त प्रभावित छन् नै, डढेलोको कारण आम मानिसमा स्वास्थ्य समस्या बढ्दै गएको छ।
यतिबेला मकवानपुरका धेरेजसो सामुदायिक वनहरूमा डढेलो लागिरहेको छ। केही दिनयता बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा आसपासका क्षेत्र बाक्लो तुवाँलोले ढाकेको छ। जसको धुवाँ वायुमण्डलमा मिसिँदा श्वास फेर्न समस्या हुने, आँखा पोल्ने, रुघाखोकीजस्ता स्वास्थ्य समस्या बढ्दै गएको पाइन्छ।
पछिल्लो समय वायु प्रदूषणकै कारण अस्पतालहरूमा बिरामीको चाप बढेको छ। दमका रोगी, मुटुरोगी तथा अन्यलाई समेत घाँटी दुख्ने, श्वास फेर्न असहज हुने र रुघाखोकी लाग्ने समस्या लिएर बिरामीहरू आउने गरेको हेटौँडा अस्पतालका डा उदित आचार्य बताउँछन्। उनका अनुसार एक सातादेखि रुघाखोकी लाग्ने, छाती दुख्ने, दम बढ्ने तथा आँखा पोल्ने समस्या लिएर बिरामीहरू अस्पताल आउने क्रम बढेको छ।
‘अन्य समयको तुलनामा केही दिनयता वायु प्रदूषणका कारण संक्रमण भएका बिरामीहरूको संख्या बढेको हामीले पाएका छौँ,’ उनले भने, ‘धेरैजसोमा श्वासप्रश्वासको समस्या देखिएको छ। घाँटीमा इन्फेक्सन, रुघा लाग्ने बिरामीहरू धेरै छन्।’

प्रदूषणका कारण आँखा पोलेर मानिसलाई बाहिर निस्कन कठिन भइरहेको छ। श्वास तान्न सकस भइरहेको छ। जथाभावी लगाइएको डढेलोका कारण निस्किएको तुवाँलोले वायु प्रदूषण निकै बढेपछि आँखासम्बन्धी समस्या पनि उत्तिकै बढेको छ। बालबालिकादेखि वृद्धवृद्धासम्मको आँखामा समस्या देखिएको हो। वायु प्रदूषणका कारण अन्य समयमा भन्दा केही दिनयता आँखाका बिरामी बढेको हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठ बताउँछन्।
उनका अनुसार, केही दिनदेखि बिरामीको संख्या २५ देखि ३० प्रतिशतसम्म वृद्धि भएको छ।
‘यसभन्दा अघि दिनमा २ सय देखि ३ सयको हाराहारीमा आँखाको चेकअप गर्न बिरामीहरू आउनुहुन्थ्यो भने अहिले दिनहुँ झण्डै ४ सय जना बिरामीहरू आइरहनुभएको छ,’ श्रेष्ठले भने, ‘बिरामीहरूमध्ये धेरैजसोको आँखा पोल्ने, रातो हुने, चिलाउने, आँखा सुन्निने जस्ता समस्याहरू देखिएका छन्।’ यस अस्पतालमा मकवानपुर लगाएत छिमेकी जिल्लाहरूबाट समेत आँखाको उपचार गर्न आउने गरेका छन् । वायु प्रदूषणकै कारण आँखामा इन्फेक्सन भएको चिकित्सकहरू बताउँछन्।
त्यसोत, वन जंगलमा लागेको डढेलोले सबैतिर क्षतिमात्रै निम्त्याउँछ। जंगली जनावरको बासस्थान देखि किराफट्याङ्ग्रा सम्मको नास हुने हुँदा वन डढेलोले जैविक विविधतामा समेत प्रभाव पार्ने जानकारहरू बताउँछन्।
प्रदेशका प्रायः सबै जिल्लाका सामुदायिक वनहरूमा डढेलो लाग्दा प्रदेशको वन तथा वातावरण मन्त्रालयले वन डढेलो नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि विभिन्न कामहरू गरिरहेको बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केदार बडालले बताए।
‘हामीले वन डढेलो नियन्त्रणका लागि सबै जिल्लाका डिभिजन वन कार्यालयमा डढेलो नियन्त्रणका सामग्रीहरू पठाएका छौँ’ उनले भने, ‘डिभिजन वन कार्यालय मार्फत सामुदायिक वनहरूलाई परिचालित गरेर अग्निरेखा निर्माण गर्ने र डढेलो लागिहालेमा सामुदायिक वन उपभोक्ता समितिलाई परिचालन गरेर निभाउने कार्यहरू भैरहेका छन्। जिल्ला स्थित सुरक्षा संयन्त्रसँग पनि समन्वय गरिरहेका छौँ।’
सचिव बडालका अनुसार प्रदेश सरकारसँग प्रदूषणको लेबल नाप्ने कुनै यन्त्र छैन। जसकारण प्रदूषणको लेबलको नतिजाको लागि केन्द्रकै भर पर्नुपरेको उनले बताए। ‘चालु आर्थिक वर्षमा प्रदूषणको लेबल नाप्ने यन्त्र खरिद गर्ने भन्ने तयारी त थियो। तर आर्थिक अभावका कारण काम हुन पाएको छैन। तथापी हामी छिट्टै यसको व्यवस्थापन गर्छौ,’ उनले भने।

मकवानपुरका मात्रै यो वर्ष ६० हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय मकवानपुरको तथ्यांक छ। चालु आर्थिक वर्षमा जिल्लामा वन डढेलो नियन्त्रणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। बजेटले भ्याएसम्म डढेलो नियन्त्रणका उपायहरू अपनाइएको बताइएको छ। तर भूगोलका कारण पनि डढेलो लागिसकेपछि नियन्त्रणमा ल्याउन भने कठिन हुने गरेको कार्यालयका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रवंशी बताउँछन्।
उनका अनुसार मकवानपुरको १० स्थानीय तहको १३० स्थानमा डढेलो लागेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका सबैभन्दा धेरै ४३ स्थानमा वन डढेलो लागेको डिभिजन वन कार्यालय, मकवानपुरको तथ्यांक छ। हेटौँडाको विभिन्न सामुदायिक वनहरूमा ६ सय १४ हेक्टर वनमा डढेलो लागेको छ।
थाहा नगरपालिकामा ९ स्थानमा डढेलो लाग्दा १ सय ४ हेक्टर वनमा डढेलो लागेको तथ्यांक छ भने इन्द्रसरोवर गाउँपालिकामा १६ स्थानमा ४ सय हेक्टर क्षेत्रफलमा डढेलो डिभिजन वन कार्यालय मकवानपुरको तथ्यांक छ।
यस्तै, कैलाश गाउँपालिकाको १० स्थानमा वन डढेलो लाग्दा २ सय ९५ हेक्टर, राक्सिराङ गाउँपालिकाको ३ स्थानमा डढेलो लाग्दा १ सय ५० हेक्टर, भीमफेदी गाउँपालिकाको १२ स्थानमा डढेलो लाग्दा ३ सय ४८ हेक्टर, मनहरी गाउँपालिकाको ५ स्थानमा डढेलो लाग्दा १ सय ७७ हेक्टर, मकवानपुरगढी गाउँपालिकाको ८ स्थान स्थानमा डढेलो लाग्दा २ सय २६ हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको तथ्यांक छ।
यस्तै, बकैया गाउँपालिकामा २१ स्थानमा ६० हेक्टर वनमा डढेलो लागेको छ भने बागमती गाउँपालिकामा २४ स्थानमा डढेलो लाग्दा १ सय २१ हेक्टर वनमा डढेलो लागेको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ।
पछिल्लो समय वनमा लागेको डढेलोको धुवाँसँगै सवारी साधनबाट निस्कने धुवाँ, खुल्ला रुपमा फोहोर विसर्जन तथा बाल्ने प्रक्रियाले पनि वायु प्रदूषण बढाएको वातावरणविद्हरूको भनाइ छ।
हामीले फेर्ने श्वासमै प्रदूषित हावा प्रवाह हुँदा रोग बढ्ने समस्या हुने हुँदा वन डढेलो नियन्त्रणका लागि सबै एकजुट हुन आवश्यक रहेको वातावरणविद्हरू बताउँछन्।
Shares

प्रतिक्रिया