बागमती


बागमती सरकारले किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराउने

बागमती सरकारले किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराउने

नेपालखबर
फागुन २८, २०८१ बुधबार १९:३०, काठमाडौँ

बागमती प्रदेश सरकारले किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको छ। चालु आर्थिक वर्षमा रु एक अर्ब र आगामी आर्थिक वर्षमा रु १६ अर्ब ऋण लगानी गर्ने तयारी रहेको बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारले आधुनिक कृषि र व्यावसायिक पशुपालनका लागि ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको हो। मन्त्री श्रेष्ठले प्रदेशमा तीन लाख ३१ हजार किसान रहेको र उनीहरूलाई पर्याप्त मात्रामा अनुदान उपलब्ध गराउन नसकेकाले ब्याज अनुदानमा ऋण उपलब्ध गराउने तयारी गरिरहेको बताए।

उनले किसानलाई ऋण उपलब्ध गराउँदा स्थानीय तहसँग समन्वय गरिने बताए। उनका अनुसार किसान परिचयपत्र, वर्गीकरण र उत्पादनको आधारमा प्रदेश सरकारले नीति बनाएर विभिन्न प्रोत्साहन कार्यक्रमका साथै प्रदेशमा ‘स्मार्ट फार्म’ निर्माण गरिनेछ। उनले भने, ‘श्रम र उत्पादनलाई जोडेर कोष स्थापना गरी योगदानका आधारमा किसानलाई पेन्सनको व्यवस्था हुनुपर्छ, यसको तयारी हामी गर्दैछौँं।’

माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाका कार्यालय प्रमुख डा जनार्दन खड्काले माटो परीक्षणका क्रममा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, वर्षाको पानी, माटो चट्टान बन्ने प्रक्रिया र मानवीय क्रियाकलापका कारण माटोमा अम्लीयपन बढ्दै गएको जानकारी दिए।

काठमाडौँ उपत्यकासहित व्यावसायिक तरकारीखेती हुने जिल्ला काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको मात्रा बढी पाइएको उनले बताए। प्रदेशमा तीन लाख २८ हजार दुई सय ९७ हेक्टर अर्थात् १६ दशमलव १७ प्रतिशत जमिन खेतीयोग्य छ। जसमध्ये दुई लाख ८९ हजार ६६२ हेक्टरमा खेती गरिएको छ।

राष्ट्रिय कृषिगणना २०७८ को तथ्याङ्क अनुसार प्रदेशका अधिकांश किसानले माटो परीक्षण नगराएको देखिन्छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad