बागमती


छोराको हत्या आरोप लागेका भ्लोन दम्पती मकवानपुर प्रहरी हिरासतमा

छोराको हत्या आरोप लागेका भ्लोन दम्पती मकवानपुर प्रहरी हिरासतमा

नेपालखबर
फागुन २१, २०८१ बुधबार १७:२, हेटौँडा

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षका मीनबहादुर भ्लोन उनका पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई आफ्नै छोराको हत्या आरोपमा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरी निगरानीमा रहेका उनीहरूलाई बुधबार (आज) जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा ल्याइएको हो। मकवानपुर प्रहरीको हिरासतमा राखेर भ्लोन दम्पतीमाथि अनुसन्धान थालिने मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

उनीहरूमाथि आफ्नै ३१ वर्षीय छोरा भरतकुमार भ्लोनलाई कुटपिट गरि हत्या गरेको आरोप लागेको छ। पारिवारिक बिवादमा कुटाकुट हुँदा तीनैजना घाइते भएका थिए। जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो। उनको उपचारको क्रममा शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको हो। यता, हत्या आरोप खेपेका भ्लोन दम्पती भने हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचार गराउनका लागि भक्तपुर लगिएको थियो।

भक्तपुर प्रहरीको निगरानीमा रहेर उपचार गराएका उनीहरूलाई आज मकवानपुर प्रहरीमा ल्याइएको हो। ‘कुटपिटकै कारण मृत्यु भएको भन्ने आरोप छ। छानबिन गरेर ज्यान सम्बन्धी कसुरमा मुद्दा चल्छ,’ डीएसपी अर्यालले भने, ‘पहिला हामी उहाँहरूको स्वाथ्य स्थिती हेर्छौं। त्यसपछि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढ्छ।’

कुटपिटमा मीनबहादुर र देवीकुमारी पनि घाइते भएका थिए। भरतकुमार र बाबु–आमाबीच सम्पती भागवण्डाको विषयमा प्रायः घरझगडा पर्दै आएको थियो। उक्त दिन पनि सोही विषयमा विवाद हुँदा कुटाकुट भएको थियो। मीनबहादुर र देवीकुमारीले छोरा भरतकुमारलाई थाममा बाँधेर कुटपिट गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

झगडा भएको थाहा पाएपछि छिमेकीहरूले इलाका प्रहरी कार्यालय, सिस्नेरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा भरतकुमार अचेत अवस्थामा थिए भने भ्लोन दम्पती पनि घाइते अवस्थामा भेटिएपछि प्रहरीकै गाडीमा राखेर उनीहरू तीनैजनालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको थियो।

कुटपिटबाट आफ्नै जेठो छोरा गम्भीर घाइते भएपछि कारबाहीबाट जोगिन भ्लोन दम्पतीले आँखामा धुलो खुर्सानी छरेका कारण मान्छे चिन्न नसकेको बहाना बनाएका थिए। 

गत शुक्रबार साँझ भ्लोन दम्पती र छोरा भरतकुमारबीच झगडा भएको थियो। 

घर झगडा हुँदा बाबु–आमाले कुटपिट गर्दा भरतकुमारको टाउको फुटेको र मस्तिष्कमा रगत जमेको भरतको शनिबार मृत्यु भएको थियो। उनको शव माइलो भाइ नवराज भ्लोनले बुझेर दाहसंस्कार गरिसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad